जेन–जी आन्दोलनका क्रममा बागमती प्रदेशको सहकारी तथा गरिबी निवारण मन्त्रालयमा तोडफोड र आगजनी हुँदा महत्त्वपूर्ण अभिलेखहरू नष्ट भएपछि मन्त्रालयले प्रदेशभरका सहकारी संघसंस्थाहरुलाई वार्षिक विवरण बुझाउन निर्देशन दिएको छ । मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै मातहतका सबै सहकारी संस्थालाई आफ्नो वार्षिक विवरण र प्रमाणित अभिलेखहरू अद्यावधिक गरी तत्काल मन्त्रालयमा पेस गर्न आग्रह गरेको हो ।
मन्त्रालयका सहकारी महाशाखाका रजिस्ट्रार प्रदीपराज पौडेलका अनुसार गत असोज २३ र २४ गते देशव्यापी रूपमा चलेको जेन–जी आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले हेटौँडा– ११, थानाभञ्ज्याङस्थित मन्त्रालयको कार्यालयमा तोडफोड र आगजनी गरेका थिए । सो क्रममा मन्त्रालयको भौतिक संरचना मात्र होइन, सहकारीसम्बन्धी फाइल, विवरण र दस्ताबेजहरू पनि पूर्ण रूपमा जलेर नष्ट भएका छन् । ‘अभिलेखहरू नष्ट भएपछि मन्त्रालयको प्रशासनिक र नियमनकारी कार्यमा गम्भीर चुनौती थपिएको छ। त्यसैले सबै सहकारीका अद्यावधिक विवरण पुनः संकलन गर्नुपर्ने अवस्था आएको हो,’ रजिस्ट्रार पौडेलले भने ।
मन्त्रालयले जारी गरेको सूचनाअनुसार सहकारीहरूले आर्थिक वर्ष ०८१/८२ को साधारणसभाको उपस्थिति र निर्णयको प्रतिलिपि, पछिल्ला दुई कार्यकालका सञ्चालक समिति सदस्यहरूको फोटो र हस्ताक्षरसहितको तीनपुस्ते विवरण, नागरिकताको प्रतिलिपि, संस्थाको स्वीकृत विनियम र दर्ता प्रमाणपत्र, आर्थिक वर्ष ०७९/८० र ०८०/८१ का लेखापरीक्षण प्रतिवेदन, कर चुक्ता प्रमाणपत्र र कोपोमिस प्रणालीमा विवरण अद्यावधिक गरेको प्रमाणपत्र पेस गर्नुपर्नेछ ।
मन्त्रालयका अनुसार हाल सेवा अस्थायी रूपमा हेटौँडा– २ स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय परिसरबाट सञ्चालन गरिएको छ। सहकारी संस्थाहरूलाई त्यही स्थानमा सम्पूर्ण कागजातहरू बुझाउन अनुरोध गरिएको छ । जेन–जी आन्दोलनले निम्त्याएको तोडफोड र आगजनीका कारण मन्त्रालयको कामकाजमा व्यापक असर परेपछि अभिलेख पुनः संकलन गर्ने प्रक्रिया सुरु गरिएको मन्त्रालयले जनाएको छ । सहकारी नियमन, लेखा परीक्षण र पारदर्शी कार्य प्रणालीमा निरन्तरता दिन अभिलेख अद्यावधिक आवश्यक रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।