- गहिरिँदो राजनीतिक संकटबिच म्याक्रोँलाई आफ्नै सहयोगीले समेत साथ छाड्दै जाँदा उनीमाथि राजीनामासम्मको दबाब परिरहेको छ
फ्रान्सका प्रधानमन्त्री सेब्याटियन लेकोर्नुले आफ्नो क्याबिनेट विस्तार गरेको एक दिनपछि सोमबार बिहान राजीनामा दिए । यसअघिका प्रधानमन्त्री फ्रान्स्वा बायरोले राजीनामा दिएपछि लेकोर्नुले सेप्टेम्बर ९ मा प्रधानमन्त्रीको पदभार ग्रहण गरेका थिए । उनको कार्यकाल २७ दिन मात्र रह्यो, जुन सन् १९५८ मा फ्रान्सको वर्तमान संविधान लागू भएपछिको सबैभन्दा छोटो समयावधि हो । त्यस्तै उनी सन् २०२२ पछि तीन वर्षको अवधिमा बनेका फ्रान्सका पाँचौँ प्रधानमन्त्री थिए भने त्यस्तै गत वर्ष जुनमा म्याक्रोँले मध्यावधि चुनाव गरेपछिका तेस्रा प्रधानमन्त्री थिए । लेकोर्नु सन् २०२२ देखि गत महिनासम्म सैन्य बलमन्त्री थिए ।
विभाजित फ्रान्सेली संसद्का विपक्षी दलले राष्ट्रपति इम्यानुएल म्याक्रोँमाथि राजीनामा दिएर तत्काल राष्ट्रपति चुनाव गर्न दबाब बढाएका छन् । यसपटक म्याक्रोँकै शिविरका राजनीतिज्ञ र सहयोगीले समेत राजीनामाको आह्वान गरेका छन् । विश्लेषकहरूले यसपटक म्याक्रोँ साँच्चै अप्ठ्यारोमा रहेको आँैल्याएका छन् । किनकि, लेकोर्नुलाई लामो राजनीतिक संकटबाट बाहिर निकाल्ने म्याक्रोँका ‘अन्तिम विकल्प’का रूपमा हेरिएको थियो । जर्मन काउन्सिल अन फरेन रिलेन्सका फ्रान्स विज्ञ ज्याकब रसले पनि म्याक्रोँका विकल्प समाप्त हुँदै गएको बताए ।
फ्रान्सको गहिरो रूपमा विभाजित वर्तमान संसद्मा सहमतिको सम्भावना निकै कठिन छ । संसद्का ५७७ सिटमध्ये उग्र दक्षिणपन्थी र वामपन्थी दलले कुल ३२० सिट ओगटेका छन् । र, उनीहरूबिच तीव्र घृणा भएकाले मिलेर सरकार बनाउने सम्भावना छैन । सरकार गठनका लागि दक्षिणपन्थी र वामपन्थी समूहको सहयोग गरेका म्याक्रोँ पक्षधर मध्यपन्थी र रुढिवादी समूहसँग जम्मा २१० सिट छ । यस्तोमा कुनै पनि समूहसँग अहिले सरकार बनाउने बहुमत छैन ।
आइतबार आफ्नो क्याबिनेट विस्तार गरेलगत्तै लेकोर्नुको सरकारलाई ५० सिट भएको दक्षिणपन्थी रिपब्लिकन पार्टी (एलआर)ले समर्थन गरेको थियो । लेकोर्नुले रक्षामन्त्रीका रूपमा चुनेका ब्रुनो ले मायरप्रति एलआर असन्तुष्ट थियो । यसअघिको सरकारमा अर्थमन्त्री रहेका मायरका नीतिप्रति एलआरले त्यति वेला विरोध जनाएको थियो । अहिले लेकोर्नुको बहिर्गमनले बजारसमेत प्रभावित बनेको छ । फ्रान्सको बेन्चमार्क स्टक सूचकांक ‘सिएसी ४०’मा प्रमुख फ्रान्सेली कम्पनीको सेयर औसत दुई प्रतिशतसम्मले घटेको देखियो । अहिले विस्तारित क्याबिनेका मन्त्रीहरू अब अर्को सूचना नभएसम्म कार्यवाहकको रूपमा रहनेछन् ।
अहिलेको अस्थिरताको सुरुवात सन् २०२४ मा भएको चुनावपछि भएको थियो । चुनावबाट म्याक्रोँको मध्यमार्गी समूहका अतिरिक्त वामपन्थी र अति–दक्षिणपन्थी समूह सम्मिलित त्रिशंकु संसद् जन्मिएको थियो । म्याक्रोँले आफ्नो समूहको सिट बढाउन समयअघि नै चुनाव घोषणा गरे पनि बहुमत प्राप्त गर्न असफल भए । त्यसपछिको संसद्मा म्याक्रोँ सरकार आफ्ना नीति पारित गर्न कठोर अवरोधको सामना गर्दै आएको छ ।
एकातर्फ राजनीतिक गतिरोध बढिरहँदा म्याक्रोँले कोभिड–१९ कालको खर्च वृद्धिबाट उत्पन्न बढ्दो घाटालाई कम गर्न खर्च कटौती प्रयास गर्दा समस्या झन् थपिएको छ । ती प्रयासका कारण पछिल्ला मतसर्वेक्षणमा फ्रान्सेली राष्ट्रपतिको लोकप्रियता रेकर्डस्तरमा घटेको छ । घट्दो लोकप्रियताले अप्रिल २०२७ सम्म कार्यकाल रहेका म्याक्रोँमाथि अहिले उच्च दबाब छ । उनी आफ्नै समूहभित्रसमेत एक्लिएको बताइन्छ ।
म्याक्रोँका प्रमुख सहयोगी र सन् २०१७ देखि २०२० सम्म प्रधानमन्त्री रहेका एडुअर्ड फिलिपले एक रेडियो अन्तर्वार्तामा म्याक्रोँले कामचलाउ प्रधानमन्त्री नियुक्त गर्नुपर्ने र त्यसपछि चाँडै राष्ट्रपति चुनावका लागि आह्वान गर्नुपर्ने बताए । मध्यमार्गी ‘होराइजन्स पार्टी’बाट सन् २०२७ को चुनावमा राष्ट्रपति उठ्न लागेका फिलिपले ‘राष्ट्रपति चुनावका लागि अर्को १८ महिना धेरै लामो भएको’ प्रतिक्रिया दिएका थिए । पछिल्लो संकटबाट हालसम्म कुनै सार्वजनिक बयान नदिएका म्याक्राँे सोमबार सुरक्षाकर्मीलाई साथ लिएर सेन नदीको किनारमा एक्लै हिँडिरहेका देखिएको थियो ।
आफ्नै शिविरले राजनीतिक भार सम्झिँदा विपक्षी समूहले म्याक्रोँमाथि दबाब बढाउनु स्वाभाविक हो । आप्रवासीविरोधी र इयूविरोधी राष्ट्रिय र्याली (आरएन) ले सोमबार म्याक्रोँलाई चुनाव गराउन वा राजीनामा दिन आग्रह गरेको छ । अहिले नै चुनाव भएमा आरएनले संसद्मा सिट बढाउने अपेक्षा गरिएको छ । यस्तै आह्वान वामपन्थी समूहबाट आइरहेको छ । उग्र वामपन्थी दल ‘फ्रान्स अनबोड पार्टी’का सदस्यले म्याक्रोँको बहिर्गमनका लागि आग्रह गरेका थिए । आफ्नै सहयोगी दलले समेत साथ छाडेकोजस्तो लागेकाले पछिल्लो समय फ्रान्सेलीहरू नै म्याक्रोँले पद छोड्न सक्ने कुरालाई गम्भीरतापूर्वक लिन थालेको विश्लेषक रसले पनि बताए ।
अब म्याक्रोँसँग तीन विकल्प रहेको रसको ठम्याइ छ । एक– प्रधानमन्त्रीको चयन गर्ने । तर, नयाँ प्रधानमन्त्रीले पनि संसद्मा कुनै नीति पारित गर्न सहमति हासिल गर्न संघर्ष गर्नुपर्ने हुन सक्छ । अर्को विकल्प– राष्ट्रपतिबाट राजीनामा दिने । तेस्रोमा– फेरि संसद्को अर्को चुनाव आह्वान गर्ने विकल्प पनि उनीसामु छ । तथापि, अर्को चुनावबाट पनि कुनै दलले बहुमतको सरकार बन्ने अवस्था सिर्जना नगर्न सक्छ । तीनै विकल्पको आफ्नै चुनौती हुनेछन् । संकट गहिरिँदै जाँदा युरोपेली संघको दोस्रो सबैभन्दा बढी जनसंख्या भएको देशका प्रमुखको रूपमा म्याक्राँेले अन्तर्राष्ट्रिय मोर्चामा अडानलाई समेत प्रभावित बनाउन सक्छन् ?
फ्रिलान्स पत्रकार लावल फ्रान्सेली राजनीति, सामाजिक न्याय, महिला मुद्दा र वातावरणीय विषयमा केन्द्रित भएर लेख्छिन् ।
अलजजिराबाट