बाढीपहिरोबाट प्रभावित इलामका सातवटा पालिकालाई संकटग्रस्त घोषणा गर्न कोशी प्रदेश सरकारले संघीय सरकारलाई सिफारिस गरेको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बुधबार बसेको प्रदेश विपत् व्यवस्थापन परिषद्को बैठकले देउमाई, इलाम र सूर्याेदय नगरपालिका तथा माईजोगमाई, सन्दकपुर, माङसेबुङ र फाकफोकथुम गाउँपालिकालाई संकटग्रस्त घोषणाका लागि सिफारिस गरेको हो ।
त्यस्तै, बाढीपहिरोमा आवासविहीन भएकालाई प्रदेश सरकारले स्थायी घर बनाइदिने निर्णय भएको आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले बताए । आंशिक, पूर्ण रूपमा क्षति भएका सबै घर प्रदेश सरकारले बनाउने उनले बताए ।
भण्डारीका अनुसार बाढीपहिरोले इलाम, झापा, पाँचथर, सुनसरी, मोरङ, खोटाङ र उदयपुरमा घर क्षति भएको र तथ्यांक संकलन भइरहेको छ । बैठकले चालू बजेटका खर्च र योजना कटौती गरी पुनर्निर्माणमा खर्च गर्न प्रदेश सरकारलाई सिफारिस पनि गरेको छ ।