नेकपा एमालेनिकट अनेरास्ववियुका महासचिव दीपक धामीले राष्ट्रका सम्पदा जलाउनेलाई कारबाही नभए आफूहरू सडकमा आउने चेतावनी दिएका छन् । उनले दलमा विचार र आस्था राखेकै कारण अपराधी करार गर्नु गलत भएकोसमेत बताए ।बुधबार संवाद डबलीले आयोजना गरेको कार्यक्रमा बोल्दै धामीले जेन–जी आन्दोलनप्रति आफूहरूको पनि ऐक्यबद्धता रहेको बताउँदै त्यसमा घुसपैठ भएर गरिएको हत्या, आगजनी र लुटपाट गर्ने र त्यसका लागि उक्साउनेलाई कारबाहीका लागि आफूहरूले प्रहरीमा जाहेरी दिएको बताए ।
‘जेन–जीहरूका मागमा हाम्रो पनि ऐक्यबद्धता थियो, ती माग पूरा गराउन हाम्रोतर्फबाट के गर्नुपर्छ तयार थियौँ र छौँ, तर घुसपैठ गरेर राष्ट्रका सम्पदा, निजी सम्पत्तिमा आगजनी, लुटपाट र व्यक्तिहत्यामा लाग्ने र त्यसमा उक्साउनेलाई कानुनको दायरामा ल्याउनुपर्छ भन्ने हाम्रो माग हो । त्यही मागसहित हामीले हिजो काठमाडौं प्रहरी परिसरमा जाहेरी दिएका छौँ,’ धामीले भने ।
भ्रष्टाचार र अपराधमा दोषीलाई बचाउनुहुँदैन भन्नेमा आफूहरू पनि लागिरहेको बताउँदै धामीले सामाजिक सञ्जलबाट दोषी करार गरेर बदनाम गर्ने कार्यप्रति आफ्नो संगठनकाे आपत्ति रहेको बताए । उनले संविधान र कानुनभन्दा कोही व्यक्ति माथि नभएकाले दोषीलाई कानुनी प्रक्रियामा लग्नुपर्नेमा जोड दिए ।