जेन–जी प्रदर्शनका क्रममा भदाै २४ गते तोडफोड र आगजनी भएको गण्डकी प्रदेशका मुख्यमन्त्रीको निवासमा पुनः आगजनी गरेको आरोपमा एकजना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका– ४ घर भई कास्कीको पोखरा महानगरपालिका– ७ राष्ट्र बैंकचोक बस्ने २२ वर्षका संजोक थापा रहेका कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीले जानकारी दिए।
कार्कीका अनुसार २३ र २४ भदाैको प्रदर्शनका क्रममा तोडफोड र आगजनी भएको पोखरा– ६ सहिदचोकस्थित मुख्यमन्त्रीको निवासमा पछि पुनः १२ असोजमा आगजनी भएको थियो।
पुनः आगजनीपछि घटनाको अनुसन्धानका क्रममा जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतको वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले आगजनी गरेको आरोपमा थापालाई पक्राउ गरेको कार्कीले जानकारी दिए। पक्राउ परेका थापालाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान कार्य सुरु गरेको छ।
अनुसन्धानका क्रममा प्रहरीले नियन्त्रणमा रहेका थापाले नेपाल राष्ट्र बैंक पोखरा कार्यालयको परिसरको सडकछेउमा बाहिरपट्टि रहेको एनआइएमबि बैंक लिमिटेडको एटिएम मेसिनको स्क्रिनमा ढुंगाले हानी तोडफोड गरी क्षति पुर्याएको खुल्न आएको एसपी कार्कीले जानकारी दिए।
मुख्यमन्त्रीको निवासमा यसअघि २४ गते प्रदर्शनकारीले तोडफोड र आगजनी गरेकोमा आगो नलागेको एउटा कोठामा १२ असोजमा आगजनी भएको थियो। आगजनीपछि खटाइएको प्राविधिक समितिले दिएको प्रतिवेदनअनुसार सो भवनलाई मर्मतपछि पुनः प्रयोग गर्न मिल्ने भनिएपछि सरसफाइ र मर्मतको काम सुरु हुँदै गर्दा पुनः आगजनी भएको थियो।
सरसफाइ र मर्मतको काम हुँदै गरेको भवनको ताला लगाएको मुख्य गेटको माथिबाट भवनपरिसरमा प्रवेश गरेर आगजनी गरेको देखिएको प्रहरीले जनाएको छ।
आगजनीका कारण भवनमा जल्न बाँकी रहेका कागजपत्र, खाट, कार्पेटलगायतका सामान निवासपरिसरमा रहेको एउटा कोठामा राखिएको थियो। सोही कोठामा १२ असोजमा आगजनीपछि ती सबै जलेको मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको छ।