मिलिनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी) अनुदानअन्तर्गत बन्ने चार सय केभी क्षमताको १८ किमि लामो न्यु बुटवल, नेपाल–भारत सीमापार प्रसारणलाइनको निर्माण अक्टोबर महिनाभित्र सुरु हुने भएको छ । ठेक्का प्राप्त निर्माण कम्पनी ट्रान्सरेल लाइटिङ लिमिटेडले निर्माणपूर्वका काम सम्पन्न गरेपछि यही अक्टोबरमा प्रसारणलाइनको टावरको जग राख्ने अर्थात् ‘ग्राउन्ड ब्रेक थ्रु’ गर्र्ने तयारी गरेको हो ।
उक्त प्रसारणलाइन बनाउन परियोजना कार्यान्वयन गर्ने निकाय मिलिनियम च्यालेन्ज एकाउन्ट (एमसिए) नेपाल र कम्पनीबिच १४ भदौ ०८१ मा एक करोड २३ लाख ६० हजार डलरमा ठेक्का सम्झौता भएको थियो । यही अनुदानअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापश्चिम)मा बन्ने चार सय केभी क्षमताको नयाँ बुटवल सबस्टेसनदेखि नेपाल–भारत सीमासम्म १८ किमि प्रसारणलाइन बनाउनुपर्नेछ । यसमा करिब ५० वटा टावर बन्दै छन् । ठेक्का सम्झौतापछि कम्पनीले परियोजनाको सर्वेक्षणलगायतका निर्माणपूर्वको काम सम्पन्न गरिसककेको छ । त्यसपछि परियोजनाको भौतिक निर्माण सुरु गर्न लागेको एक अधिकारीले बताए । ‘यही अक्टोरबमा परियोजनाको ग्राउन्ड ब्रेक थ्रु गर्दै छौँ । कुन दिन गर्ने भनेर मिति नै निक्र्याेल भने भइसकेको छैन,’ स्रोतले भन्यो, ‘मौसमको अवस्था हेरेर छिट्टै निर्माणकार्य सुरु गर्छाैँ ।’
गत मार्चमै (फागुन–चैत) परियोजनाको निर्माणकार्य सुरु गर्ने योजना थियो । तर, अमेरिकाले गत फ्रेबुअरीदेखि जुलाईसम्म अनुदान स्थगन गर्यो । गत साउन दोस्रो साता मात्रै अमेरिकाले अनुदानलाई निरन्तरता दिने औपचारिक पत्र पठायो । त्यसले गर्दा गत मार्चमा परियोजनाको भौतिक निर्माणकार्य सुरु हुन सकेन । पछि अनुदान निरन्तर भएपछि बर्खाका कारण भौतिक निर्माणकार्य सुरु गर्न मिल्ने थिएन । परियोजनास्थल तराई क्षेत्र हो । यो समयमा तराईमा केही मिटर गहिरो जमिन खन्नासाथ पानी भेटिन्छ । प्रसारणलाइन निर्माणका लागि गहिरो जग खन्नुपर्छ ।स्रोतका अनुसार त्यस क्षेत्रको जग्गा प्राप्ति करिब भइसकेको छ । तसर्थ, निर्माणको काम निर्बाध रूपमा अघि बढिसक्ने बताइएको छ । यो प्रसारणलाइन नेपाल–भारत अन्तरदेशीय (न्यु बुटवल–गोरखपुर) प्रसारणलाइनको नेपाल खण्ड हो । भारत खण्डको निर्माण नेपाल–भारतको संयुक्त लगानीमा यसअघि नै अघि बढाइएको थियो । पहिलो टेन्डर रद्द भएपछि यो खण्डको निर्माण भने अन्योलमा परेको थियो । भारत खण्डको प्रसारणलाइन निर्माण हुने र नेपालको खण्डको निर्माण ढिलाइ हुने भएपछि यस खण्डको निर्माण छुट्टै अघि बढाइएको थियो । यो प्रसारणलाइन बनेपछि नेपाल–भारतबिचको विद्युत् व्यापारमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ ।
ठेक्काको म्याद भने आठ महिना मात्रै बाँकी
१४ भदौ ०८१ मा २१ महिनामा काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो । हालसम्म आउँदा ठेक्को १३ महिना समय व्यतीत भइसकेको छ, अब ठेक्काको म्याद आठ महिना मात्रै बाँकी छ । सोही कारण समयमा परियोजनाको निर्माणकार्य सकिएन भने चुनौतीपूर्ण रहनेछ । यद्यपि, बिचमा अनुदान स्थगन हुँदा यस ठेक्काअन्तर्गतको काम अघि बढ्न सकेन । त्यो अवस्थामा कम्पनीले म्याद थपको अवसर पाउने सम्भावना उच्च रहेको स्रोतको भनाइ छ ।
एमसिसीको ५५ करोड डलर अनुदान र नेपाल सरकारको १९ करोड ७० डलर लगानीमा चार सय केभी क्षमताका तीन सय १५ किमि लामो चार प्रसारणलाइन, चार सय केभी क्षमताका तीन सबस्टेसन, पूर्व–पश्चिम राजमार्गको धानखोला–लमही ४० किमि सडकखण्ड र मुग्लिन–नारायणगढ सडकलाई विशेष रूपमा मर्मत गरिँदै छ । पछिल्लोपटक अमेरिकाले थप गरेको पाँच करोड डलर अनुदान भने नेपालको मन्त्रिपरिषद्बाट अनुमोदन हुन बाँकी छ । हालसम्म प्रसारणलाइन र सबस्टेसन निर्माणको ठेक्का सम्झौता भइसकेको छ । १८ किमि लामो ‘न्यु बुटवल–नेपाल/भारत सीमा’ प्रसारणलाइन बनाउन १४ भदौ ०८१ मा भारतको ट्रान्सरेल लाइटिङ लिमिटेडसँग सम्झौता भएको थियो ।
यस्तै, गत साउन २९ मा मात्रै चार सय केभी क्षमताका ९० किमि लामो नयाँ दमौली–नयाँ बुटवल र ९० किमि लामो रातमाटे–नयाँ बुटवल प्रसारणलाइन बनाउन ठेक्का सम्झौता भइसकेको छ । नयाँ दमौली–नयाँ बुटवल प्रसारणलाइन निर्माणका लागि वाइवा–सलार जेभीसँग सात करोड ७० लाख ३० हजार डलरमा ठेक्का सम्झौता गरिएको छ । यस्तै, ९० किमि लामो चार सय केभी क्षमताको रातमाटे–नयाँ दमौली प्रसारणलाइन बनाउन भारतको एन्जेलिक–स्किपर जेभीसँग सात करोड ७४ लाख ८० हजार डलरमा ठेक्का सम्झौता गरिएको हो । यस्तै, गत असोज दोस्रो साता एक सय १७ किमि लामो लप्सीफेदी–रातमाटे–न्यु हेटौँडा प्रसारणलाइन बनाउन आशिष–बोज्लर संयुक्तसँग सात करोड ६६ लाख ५० हजार अमेरिकी डलरमा ठेक्का सम्झौता गरिएको थियो ।