- जबसम्म आन्दोलनमा बलिदान गर्ने युवा र युवा सोचले देश कब्जा गर्दैन र चलाउँदैन, तबसम्म इतिहासको पुनरावृत्ति भइरहने देखिन्छ
नेपालको राजनीतिक परिवर्तनको इतिहास पल्टाउने हो भने यहाँ बारम्बार देखिने एउटा साझा पहिचान हो– युवा पुस्ताको अविरल सहभागिता, निरन्तर त्याग, तपस्या, वीरता र बलिदान । शासनसत्ता, समय र परिस्थिति फरक भए पनि देशको निर्णायक मोडमा युवा कहिल्यै पछाडि परेनन् । उनीहरू कहिले आफ्ना अधिकारका लागि, कहिले समग्र समाजको रुपान्तरणका लागि त कहिले शैक्षिक सुधारका लागि सडकमा उत्रिए । परिणामका हिसाबले उपलब्धि आंशिक भए पनि प्रत्येक आन्दोलनले समयको सोच, सत्ता संरचना र जनभावनामा गहिरो छाप छोड्यो पनि । तर, कुनै पनि परिवर्तनले सर्वसाधारणको जीवनलाई सम्बोधन गर्न सकेन । रूपमा परिवर्तन देखिए पनि सारमा जनजीवनमा ठुलो परिवर्तन दिन नसक्दा निरन्तर सत्ता सरकारविरुद्ध आन्दोलन र विद्रोह हुँदै आए । अर्थात्, हरेक आन्दोलनले व्यवस्थाहरू निरन्तर बदले पनि अवस्थामा भने तात्विक फरक ल्याउन सकेको छैन । सामाजिक परिस्थितिअनुसार नै ढल्कुराम हुँदै आएको छ । जसले आमूल परिवर्तनका लागि पटक–पटक विद्रोह र आन्दोलन जन्माएको छ ।
राणाकालदेखि पञ्चायतसम्मको प्रतिरोध
वि.सं. १९९७ को प्रजातन्त्रको पहिलो बिगुल चार साहसी युवाको बलिदानबाट सुरु भयो । उनीहरूले जीवन आहुति दिएर सुरु गरिएको त्यो विद्रोहले २००७ सालमा राणा शासनलाई ढाल्दै नेपालमा बहुदलीय लोकतन्त्रको ढोका खोल्यो । युवाको रक्त र बलिदानको ऊर्जा त्यतिमै सीमित रहेन । २०१७ मा राजा महेन्द्रले बिपी कोइरालाको जननिर्वाचित सरकार अपदस्थ गरी पञ्चायती निरंकुशता थोपरेपछि फेरि नयाँ पुस्ता उठ्यो र पञ्चायत ढाल्यो । २०३६ सालको विद्यार्थी आन्दोलन यसको प्रतीक हो । शैक्षिक मागका रूपमा सुरु भएको आन्दोलन क्रमश: पञ्चायतविरोधी राजनीतिक हुरीमा परिणत भयो । विश्वविद्यालयका प्राङ्गणबाट सुरु भएको यो आन्दोलनले राजालाई जनमत संग्रह घोषणा गर्न बाध्य पार्यो । परिणामत: बहुदल तत्काल नफर्किए पनि पञ्चायती संरचनाको जरा हल्लाउने बिउ यहीँ रोपियो ।
युवा ऊर्जाको अर्को ठुलो उदाहरण २०४६ को जनआन्दोलन पनि हो । गाउँ–सहरका हजारौँ युवाले संगठनको अगुवाइमा सडक तताए । जेल, लाठी, गोलीको सामना गर्दै उठेको जनशक्ति अन्तत: बहुदलीय प्रजातन्त्र पुनस्र्थापित गर्न सफल भयो । यस चरणमा विद्यार्थी संगठन, कांग्रेस–कम्युनिस्टको युवा मोर्चा र स्वतन्त्र पेसागत समूह सबै एकजुट भए । सत्ता फेरियो, संविधान बन्यो तर जनअपेक्षाअनुसारको संस्थागत सुधार भने अपुरो नै रह्यो ।
०६२/६३ को लोकतान्त्रिक आन्दोलन र मधेश विद्रोह
दुई दशकपछि ०६२/६३ को दोस्रो जनआन्दोलनमा युवा शक्ति अझ व्यापक र विविध रूपमै उत्रियो । माओवादीको सशस्त्र युद्ध र सात दलको राजनीतिक गठबन्धनबिचको सहकार्यसँगै काठमाडौं उपत्यका र देशभर लाखौँ जनसागर उर्लियो । राजतन्त्रको २३८ वर्ष लामो शासन पखाल्ने ऐतिहासिक परिणाम ल्याउन युवाको योगदान निर्णायक रह्यो । यही आन्दोलनले संविधानसभाको मार्ग प्रशस्त गर्यो । यद्यपि, त्यसपछिका वर्षमा दलगत स्वार्थ र नेतृत्वको अकर्मण्यताले युवाको आशा फेरि क्षीण भयो ।
२०६३ पछि मधेशमा सल्किएको असन्तोषको केन्द्रमा पनि युवा पुस्ता नै थिए । पहिलो मधेश आन्दोलनमा ५४ जनाले ज्यान गुमाए । हजारौँ घाइते भए । पहिचान, संघीयता र समानुपातिक प्रतिनिधित्वका मुद्दा लिएर सडकमा उत्रिएका ती युवाले २२ बुँदे सहमतिमार्फत संघीयताको ढोका खोल्न सफल भए । तर, उपलब्धि भने आंशिक नै रह्यो । दोस्रो र तेस्रो मधेश आन्दोलनसम्म जाँदा राजनीतिक दलभित्रको फुट, सत्ता–लोभ र केन्द्रीकृत मानसिकताले प्रारम्भिक सपना धमिल्यायो । प्रदेश सरकार गठन भए पनि अधिकार सीमित बनाइयो । आज संघीयता खर्चिलो भड्किलो भन्ने बहसमा उभिँदा मधेश आन्दोलनको बलिदान स्मरण गर्दा स्पष्ट हुन्छ, युवाको त्यागले संरचना बदले पनि नीति र व्यवहारको स्तरमा समानता अझै दूरको सपना छ ।
जेन–जी आन्दोलन र डिजिटल पुस्ताको विद्रोह
अहिले (२०८२) भएको जेन–जी आन्दोलनले नेपालको आन्दोलन–इतिहासमा नयाँ अध्याय थप्यो । यो कुनै दलको आह्वानबाट होइन, सामाजिक सञ्जालको नि:शब्द तरंगबाट सुरु भयो भने बेथिति र भ्रष्टाचार, कुशासन र अस्थिर सरकार, असमानता र पुरानो राजनीतिक संस्कृतिविरुद्धको यो विद्रोह भर्चुअल प्लेटफर्म डिस्कोर्डदेखि माइतीघरको सडकसम्म फैलियो । यस आन्दोलनले केही अनौठा तथ्य उजागर गर्यो, नेतृत्वविहीन तर संगठित, फेसबुक, ट्विटर, डिस्कोर्डमार्फत साझा एजेन्डा तय भयो । पुस्तागत धारणा पल्टियो, मोबाइलमा मात्र रमाउने, विदेश जाने भनेर आलोचित जेन–जी पुस्ताले राजनीतिक चेतना र देशप्रतिको प्रतिबद्धता देखायो । तिनले व्यवस्थाप्रति सीधा प्रश्न गरे र भने– करको पारदर्शिता, शिक्षाको स्तरोन्नति, रोजगारी सिर्जनाजस्ता व्यावहारिक माग अगाडि ल्याए ।
विद्यालय पोसाकमै गोली लागेका युवाको तस्बिरले आन्दोलनलाई निर्णायक उचाइमा पुर्यायो । सरकारको सामाजिक सञ्जाल प्रतिबन्धको प्रयासले आगोमा घिउ थप्यो । परिणामत: अन्तरिम सरकार गठन भयो । भ्रष्टाचारविरुद्ध छानबिनको दबाब बढ्यो । तर, आन्दोलनकै प्रतिनिधि सरकार/क्याबिनेटमा युवा समावेश नगर्नु, दीर्घकालीन नीति निर्माणमा ढिलाइ हुनु निराशाको कारण बनेको छ । साझा रेखा कोरेको आन्दोलनको उपलब्धि आंशिक, तर युवा चेतनामा यसले फरक खालको गहिरो प्रभाव पारेको छ ।
यी सबै आन्दोलनलाई एउटै सूत्रले बाँध्छ, युवाको अग्रपंक्ति । तर, अर्को साझा पक्ष पनि छ, अपूर्ण उपलब्धि । १९९७ र २००७ को विद्रोहले राणा शासन ढाल्यो तर सामन्तवादी संस्कार मेटेन । २०३६ को विद्यार्थी आन्दोलनले पञ्चायत हल्लायो तर बहुदल तत्काल फर्केन । २०४६ को जनआन्दोलनले प्रजातन्त्र ल्यायो तर सुशासनको प्रत्याभूति भएन । २०६२/६३ को जनआन्दोलनले गणतन्त्र दियो तर दलगत भ्रष्टाचार मौलायो । मधेश आन्दोलनले संघीयता ल्यायो तर प्रदेशका अधिकार सीमित रहे । अहिलेको जेन–जी सहरिया युवा विद्रोहले शासनलाई जवाफदेही बनायो तर स्थायी नीति–संरचना अझ अपूरो नै छ । यसरी हेर्दा प्रत्येक लडाइँले संरचनागत ढोका खोलेको छ तर संस्थागत स्थायित्व र समानताको लक्ष्य अधुरो छ ।
अन्त्यमा
अहिलेको ठुलो प्रश्न के हो भने सडकको आवाजलाई कसरी संस्थागत प्रक्रियामा रुपान्तरण गर्ने ? जेन–जीले लोकतान्त्रिक मूल्यलाई अस्वीकार नगरी विद्रोह गरेको तथ्य उत्साहजनक छ । यिनले सेना, राजा वा अधिनायकको नारा उठाएनन् । बरु संविधान र गणतन्त्रलाई नै जोगाउने प्रयत्न गरे । यही चेतनाले भविष्यमा पनि राजनीति शुद्धीकरणतर्फ धकेल्न सक्छ । तर, खतराको पक्ष पनि नदेखिने होइन । नेतृत्वविहीन आन्दोलनमा भिडको मनोविज्ञान सजिलै अराजक बन्छ । सामाजिक सद्भाव खल्बल्याउने सम्भावना उत्तिकै हुन्छ । त्यसैले अबको चरण हो, डिजिटल र सडकको शक्ति निर्वाचन र नीतिगत सुधारमा परिणत गर्नु । ८५ वर्षअघि बलिदान दिएका युवादेखि आजका डिजिटल विद्रोहीसम्मको कथाले एउटै सन्देश दिन्छ, देशको भविष्य युवाको काँधमा छ । तर, इतिहासले सिकाउँछ, केवल विद्रोहले मात्र मुक्ति सम्भव हुँदैन, उपलब्धि टिकाउन संस्थागत सुधार, पारदर्शिता र जिम्मेवारी पनि अनिवार्य छ ।
युवाको ऊर्जा, सिर्जनशीलता र साहसले बारम्बार सत्ता त बदलिदियो । तर, सत्ताको केन्द्रमा बसेर सम्पूर्ण राज्यसत्ता र अवसरमा हालीमुहाली भने भिजनविहीन एवं ऊर्जाहीन वृद्ध पुस्ताले गरिरह्यो । त्यसैले, अब चुनौती छ शासनको संस्कार बदल्न । यदि पुरानै घेरामा युवाले फेरि–फेरि सडकमा आउनुपर्ने हो भने त्यो केवल पुरानो असफलताको पुनरावृत्ति हुनेछ । त्यसैले जेन–जी होस् वा भोलिको अर्को पुस्ता, उनीहरूको विद्रोह केवल सत्ता परिवर्तनमा होइन, सुशासन र समानताको स्थायी संरचना निर्माणमा रुपान्तरण हुनुपर्छ र सत्ताका अवसरमा पनि उनीहरूकै बलियो उपस्थिति देखिनुपर्छ । नेपालको इतिहासको धड्कन यही हो, युवा जाग्दा मात्र देश अगाडि बढ्छ । तर, जागरणलाई परिणाममा बदलेर स्थायित्वमा पुर्याउने जिम्मेवारी पनि त्यही पुस्ताको काँधमै छ । जबसम्म युवा र युवा सोचले देश कब्जा गर्दैन र चलाउँदैन, तबसम्म इतिहासको पुनरावृत्ति भइरहने देखिन्छ । यसर्थ, अब जाग युवा । जेन–जी मात्र होइन्, जेन–एक्स र जेन–वाई पनि जाग ।