उदयपुरमा गएराति खोलाको बाढीमा हायस र कार बग्दा एकजनाको मृत्यु भएको छ भने २७ जनको उद्धार गरिएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी केदारमान दोङका अनुसार मदन भण्डारी लोकमार्गको उदयपुरखण्डमा पर्ने बेलका नगरपालिका– ४, लालबजार खहरेखोलामा रहेको कजवेमा भेलबाढीले हायस गाडी बगाउँदा मोरङ जिल्ला रंगेली नगरपालिका– ९ की वर्ष ३८ वर्षीया मन्जु अधिकारीको मृत्यु भएको हो । मृतक अधिकारीको माइती घर मोरङ भए पनि स्थायी घर सिन्धुपाल्चोक रहेको प्रहरीको भनाइ छ ।
दोङका अनुसार मोरङबाट काठमाडौं हिँडेको बा.४ख १६२८ नम्बरको हायस गाडी बगाउँदा अधिकारी बेपत्ता भएकी थिइन् । उनको शव आज बिहान फेला परेको हो । २१ जनाको उद्धार भएको छ । मोरङको रंगेली नगरपालिका– ९ कै ७७ वर्षकी कुरुकुमारी गौतम घाइते भएकी छिन् । उनको स्थानीय स्वास्थ संस्थामा उपचार जारी छ । मोरङबाट काठमाडौँका लागि हिँडेको सो हायस सिन्धुलीको भिमानबाट फर्किने क्रममा बगेको हो ।
बगेको खबरपछि प्रहरीले एकजनालाई हायसभित्रबाटै सिसा फुटाएर उद्धार गरेको थियो भने तीनजना महिलालाई बगाउँदै गरेको अवस्थामा उद्धार गरेको थियो । अन्य भने आफैँ बाढीबाहिर निस्किसकेको प्रहरीको भनाइ छ ।
बगेको हाइसका चालक काभ्रेकाे बनेपा नगरपालिका– १३ बस्ने वर्ष ४१ को राजु खड्कालाई नियन्त्रणमा लिई इप्रका रामपुरठोक्सिलाको हिरासतमा राखी थप अनुसन्धान सुरु भएको प्रहरीको भनाइ छ ।
यता उदयपुरको बेलटारबाट फत्तेपुरतर्फ जाँदै गरेको प्र ३–०१–०२२ च २३१३ नम्बरको कार चौदण्डीगढी नगरपालिका– ४, मेजरचौतारास्थित सुखासुन्दरी खोलामा रहेको कजवे तर्ने क्रममा अविरल वर्षाको कारण खोलामा आएको बाढीले बगाई सडकभन्दा ५० मिटर पश्चिमतर्फ पुर्याएको थियो ।
दोङका अनुसार उक्त कारका चालक जिल्ला मोरङ कटहरी गाउँपालिका– ९ बस्ने वर्ष ३५ को जीवन कार्कीसहित सवार ६ जनाकाे सकुसल उद्धार गरिएको छ । अत्यधिक वर्षा भएपछि जिल्ला प्रशासन कार्यालय उदयपुरले सिद्धिचरण लोकमार्गअन्तर्गत कटारी–घुर्मी सडकखण्डमा सवारी आवागमनमा रोक लगाएको छ ।
सडकको अवस्था जीर्ण रहेको र वर्षातका कारण ठाउँठाउँमा सडक बिग्रिएकाले असोज १८ गतेदेखि २१ गते बिहान ५ बजेसम्मका लागि सवारी आवागमन बन्द गरिएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले सूचनामार्फत जानकारी दिएका छन् । अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्किन र त्रियुगाखोला, बरुवाखोलाआसपासका नागरिकलाई सतर्कता अपनाउन आग्रह गरिएको छ ।