शनिबारदेखि परेको अविरल वर्षाका कारण पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाखण्डमा दुई ठाउँमा सडक अवरुद्ध भएको छ । निर्माणाधीन सडक अविरल वर्षासँगै आएको बाढीले बगाउँदा सडक अवरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्र खड्काका अनुसार पूर्व–पश्चिम राजमार्गअन्तर्गत मेचीनगर– ६ मा कालीखोला र शिवसताक्षी– १० मा सुकुनाखोलाले सडक बगाएका कारण राजमार्ग अवरुद्ध भएको हो । सडक अवरुद्ध भएपछि वैकल्पिक मार्गको प्रयोग गरेर सडक सञ्चालन गरिएको उनले बताए ।
यस्तै, अविरल वर्षाका कारण झापाका विभिन्न क्षेत्र डुबानमा परेका छन् । कन्काई नदी, मेची नदी, बिरिङ, रतुवालगायत साना–ठुला नदी जलमग्न बनेका छन् । झापाको ठुलो नदी कन्काईले खतराको संकेत पार गरेको छ ।
अविरल वर्षासँगै कन्काई नदीमा आएको बाढी बस्तीमा पस्दा झापा गाउँपालिका– २, सुगाबथानका ५६ घर परिवार विस्थापित भएका छन् । उनीहरुलाई नजिकैको कुवाडी माध्यमिक विद्यालयमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खड्काले जानकारी दिए । यस्तै, शिवसताक्षी नगरपालिका– ४, ५, ६ र ७ का करिब साढे तीन सय घरमा बाढी पसेको छ । त्यहाँ प्रहरी र स्थानीयले पीडितको उद्धार गरिरहेको उनले जानकारी दिए ।
झापा गाउँपालिका– १, ६ र ७ मा पनि बाढी पसेको उनले बताए । बाढीबाट विस्थापितलाई सुरक्षित स्थानमा सारिएको उनले बताए । भद्रपुर नगरपालिका– ५ मा पनि करिब २५ घरमा बाढी पसेको र विस्थापितलाई आफन्तकहाँ राखिएको प्रहरी नायब उपरीक्षक खड्काले जानकारी दिए ।