भारतको बिहारमा पनि ‘रेड अलर्ट’ जारी गरिएको छ । भारत मौसम विज्ञान विभाग (आइएमडी)का अनुसार बिहारका ३८ मध्ये २८ जिल्लामा अचानक बाढीको चेतावनी जारी गरेको छ। बंगालको खाडीमा गहिरो डिप्रेसन र उत्तर प्रदेशमा माथिल्लो वायु चक्रवात परिसंचरणका कारण बिहारमा विगत चार दिनदेखि जारी वर्षाका कारण बाढी आउने खतरा बढेको हो ।
आइएमडीका अनुसार बिहारका पटना, भभुआ, अरवल, भोजपुर, बुक्सर, रोहतास, सारन, सिवान, अररिया, बांका, बेगुसराय, भागलपुर, दरभङ्गा, गया, जमुई, खगडिया, लखीसराय, मधेपुरा, मधुबनी र मुंगेर जिल्लामा आकस्मिक बाढीको चेतावनी जारी गरिएको छ । त्यस्तै, नवादा, पश्चिम चम्पारण, पूर्वी चम्पारण, पूर्णिया, सहरसा, समस्तीपुर, शिवहर, सीतामढी र वैशाली जिल्लामा आकस्मिक बाढीको चेतावनी जारी गरिएको हो।
यीमध्ये पश्चिम चम्पारण, पूर्वी चम्पारण, सीतामढी, शिवहर, मधुबनी र अररियालगायत क्षेत्र बाढीको जोखिममा छन् ।
बिहारको रोहतास जिल्लामा शुक्रबार रातिदेखि शनिबार बिहानसम्म परेको अविरल वर्षाले ससाराम सहर पूर्ण डुबानमा परेको छ । जमुहारस्थित नारायण मेडिकल कलेज र आसपासका बस्तीहरू पानीमुनि डुबेका छन् भने सयौँ सवारीसाधन थुनिएका छन् । घर भत्किएका, विद्यालय र अस्पताल जलमग्न भएका खबरहरू आएका छन् ।
भारतीय प्राविधिक टोलीद्वारा कोशीको पूर्वीतटबन्धको निरीक्षण
कोशी नदीमा पानीको बहाव बढेसँगै भारत, बिहारको सुपौलसहितका जिल्लामा ‘रेड अलर्ट’ जारी गरिएपछि भारतीय जल संसाधन विभागका प्राविधिकसहितको टोलीले पूर्वी तटबन्धको स्थलगत निरीक्षण गरेको छ।
शनिबार भारतीय टोलीले कोशीको पूर्वीतटबन्धको वर्तमान अवस्था र गत वर्ष क्षति पुगेका स्थानमा मर्मतपछि भएको सुधारको स्थितिबारे विस्तृत अनुगमन गरेको हो।
निरीक्षणपछि सुपौलका सदर अनुमण्डल पदाधिकारी (एसडिएम) इन्द्रवीर कुमारले बराह क्षेत्रमा अत्यधिक वर्षाको सम्भावना देखिएको भन्दै मातहतका कर्मचारीलाई ‘अलर्ट मोड’ मा बस्न निर्देशन दिएका छन्। उनले जल संसाधन विभागले जोखिमलाई मध्यनजर गर्दै तटबन्धलाई सुरक्षित राख्नका लागि ठाउँ-ठाउँमा निर्माण सामग्री भण्डारण गरिसकेको जानकारी दिँदै प्राविधिक र कामदारलाई पनि उच्च सतर्कतामा रहन निर्देशन दिएका छन्।