लगातारको वर्षा जारी रहँदा बारा, पर्सा र रौतहटका विभिन्न नदीहरूमा पानीको सतह तीव्र गतिमा बढ्दै सतर्कता तह पार गरेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार पर्साको वीरगन्ज, रौतहटको गौर, बाराको निजगढ, कलैया र रौतहटकै महेशपुरस्थित जलमापन केन्द्रहरूमा वर्षाले सतर्कता तह नाघिसकेको पुष्टि भएको छ।
विभागले जारी गरेको पछिल्लो सूचनामा यी जलमापन केन्द्रवरपरका तटीय क्षेत्र र विशेषगरी नारायणी, बागमती, बकैया र लालबकैया नदी किनारका बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन भनिएको छ । विभागका अनुसार लगातारको वर्षा अझै केही घण्टा जारी रहने सम्भावना रहेकाले नदीहरूको पानीको बहाव थप बढ्न सक्ने अनुमान गरिएको छ।
विशेषगरी बाराको निजगढ, कलैया, सर्लाहीको हरिवन, रौतहटको चन्द्रपुरदेखि गौरसम्मका क्षेत्रहरूमा बागमती र लालबकैया नदीले डुबानको जोखिम बढाएको छ। यस्तै, वीरगन्ज र आसपासका तटीय बस्तीहरूमा नारायणी नदीको सतह बढ्दै गएको छ, जसले बस्तीहरूमा बाढी पस्ने खतरा उच्च बनाएको विभागले जनाएको छ।
विभागका जलविज्ञहरूका अनुसार हाल नदीहरूको बहाव सामान्यभन्दा दोब्बर बढी छ, जसले नदीको किनार कटान र स्थानीय सडक अवरुद्ध हुने सम्भावना पनि बढाएको छ। स्थानीय प्रशासन र प्रहरीलाई सतर्क रहन र उद्धार तयारी अवस्थामा रहन आग्रह गरिएको छ।
विभागले स्थानीय बासिन्दालाई अनावश्यक जोखिम नलिन, डुबान हुन सक्ने बस्ती र खेतबारीबाट सुरक्षित स्थानतर्फ सर्न र बालबालिका तथा ज्येष्ठ नागरिकको विशेष हेरचाह गर्न सुझाव दिएको छ।
त्यसैगरी, मौसम विज्ञान विभागले आगामी २४ घण्टासम्म मधेश प्रदेशका अधिकांश जिल्लामा मध्यमदेखि भारी वर्षा हुने सम्भावना रहेको बताएको छ। त्यसैले बाढी, पहिरोको जोखिम अझै कायम रहेको चेतावनी जारी गरिएको छ।
प्रहरी र स्थानीय निकायहरूले समेत नदीकिनारका बासिन्दालाई सतर्क रहन, राति अनावश्यक आवागमन नगर्न र आपतकालीन उद्धार टोलीसँग तत्काल सम्पर्क गर्न आग्रह गरेका छन।
यसैबिच, स्थानीय तहहरूले बाढी प्रभावित क्षेत्र पहिचान गरी विस्थापितका लागि सामुदायिक भवन, विद्यालय र अन्य सुरक्षित स्थानहरू तयारी अवस्थामा राखेका छन् ।