पाँचथर दुर्घटना अपडेट : ६ जनाको मृत्यु

शनिबार, १८ असोज, २०८२
डिजिटल संस्करण

पाँचथरको कुम्मायक गाउँपालिका वडा नम्बर २ र ३ को सिमानामा पर्ने कात्तिके डाँडामा भएको दुर्घटनामा ६ जनाको मृत्यु भएको छ। उद्धारमा खटिएका शसस्त्र प्रहरी नायब उपरीक्षक चिरञ्जीवी प्रसाईंका अनुसार तीनजना महिला र तीनजना पुरुष गरी ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा ५ जना घाइतेलाई धरान पठाइएको छ भने १ जनालाई फिदिममै उपचारका लागि राखिएको छ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली पनि घटनास्थल पुगेको छ । गाडी भिरमा अड्किएको छ । पानी परेको कारण उद्धारमा समस्या भएको छ ।  गाडी दुर्घटना भएको सूचना पाएपछि उद्धारका लागि स्थानीय प्रहरी टोली परिचालन गरिएको पाँचथरका डिएसपी अनिश कर्णले बताए। उनका अनुसार  गाडीमा कति सवार थिए भन्नेबारे यकिन भएको छैन।   

गाडी सडकबाट करिब ४ सय मिटर तल खसेकाे छ। शवहरू यत्रतत्र छरिएको उनको भनाइ छ । ताप्लेजुङबाट धरानका लागि छुटेको मे १ ज ३०५५ नम्बरको बोलेरो दुर्घटनामा परेको हो । 

सडक डिभिजन कार्यालय इलामले वर्षाको पूर्वानुमान भएकाले मेची राजमार्ग र तमोर कोरिडोरमा साँझ ७ बजेदेखि बिहान ६ बजेसम्म यातायात सञ्चालनमा रोकसमेत लगाएको छ।

सुझावित समाचार