महोत्तरीको खयरमारामा शुक्रबार बिहान भएको बस दुर्घटनाका ६ घाइतेलाई उपचारका लागि काठमाडौं लगिएको छ। सुरक्षा निकायले गम्भीर घाइतेको उद्धार गरी सशस्त्र प्रहरीको छिन्नमस्ता बाहिनीमा लगी त्यहाँबाट सैनिक हेलिकोप्टरमा काठमाडौं लगिएको हो। काठमाडौंमा ट्रमा सेन्टरमा उनीहरूको थप उपचार अघि बढाइएको छ।
घाइतेको उद्धारमा सशस्त्र प्रहरी बलले मास क्याजल्टी भेहिकल प्रयोग गरेको थियो। विपतकाे समयमा उद्धारका लागि यस्तो एम्बुलेन्स प्रयोग गरिन्छ। जुन एम्बुलेन्समा एकैपटक धेरै घाइतेलाई राख्न सकिन्छ। दुर्घटनास्थलदेखि बाहिनीसम्म र विमानस्थलबाट ट्रमा सेन्टरसम्म लैजान पनि सोही प्रकारको उपत्यका गणको एम्बुलेन्स प्रयोग गरेको थियो।
महोत्तरीको बर्दिबास नगरपालिका- १० की ४४ वर्षीया निर्मला तामाङ, ४२ वर्षका दिर्जमान गोले, १६ वर्षकी अस्मिता गोले, २० वर्षकी सुनीता बिक, २३ वर्षकी विनाकुमारी बिसुंखे र सर्लाही ईश्वरपुर नगरपालिका- १२ का १३ वर्षीय प्रभाकर खड्कालाई हेलिकोप्टरमार्फत काठमाडौं लगिएको हो।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र सेना मिलेर घाइतेको उद्धार गरेका हु्न। छिन्नमस्ता बाहिनीका डिआइजी कृष्ण ढकाल आफैं घटनास्थल पुगेर उद्धारमा खटिएका थिए। त्यस्तै, सशस्त्र प्रहरीको ९ नम्बर गण र ३८९ नम्बरको रिजर्भ गणका प्रहरी पनि उद्धारमा खटिएका थिए।
सर्लाहीको ईश्वरपुर नगरपालिका १३ घारीबथानबाट यात्रु लिएर बर्दिवास हुँदै काठमाडौं जान लागेको ना ६ ख १४६४ नम्बरको बस शुक्रबार बिहान सवा ७ मा दुर्घटनामा परेको थियो । तिव्र गतिका कारण बस दुर्घटनामा परेको आकलन गरिएको छ ।
दुर्घटनामा बसका यात्रु १२ वर्षिय प्रमिश खड्का र पैदलयात्रु चोलाही चौधरीको मृत्यु भएको छ ।
