वीरगन्जमा गत मंगलबार राति दुई समूहबिचमा भएको हानाहानबाट युवकलाई हत्या गर्ने ‘खुनी दरिन्दे समूह (ग्याङ)’ का पाँचजना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा ‘खुनी दरिन्दे समूह (ग्याङ)’ का वीरगन्ज महानगरपालिका–२४ रामगढवाका १९ वर्षीय गौतम पटेल,२० वर्षीय सुभांकर चौरसिया, २२ वर्षीय अमिरी पटेल भन्ने करणप्रसाद पटेल, २४ वर्षीय चन्दन चौरसिया र १९ वर्षीय अमन पटवा रहेका छन्।
पर्साका प्रहरी उपरीक्षक सुदीपराज पाठकका अनुसार ‘खुनी दरिन्दे समूह’को नामबाट ह्वाटसअप ग्रुप बनाएका युवाहरूले २० वर्षीय गोल्डेन भन्ने शिवमकुमार साह कानुको हत्या गरेको अनुसन्धानबाट खुलेको छ ।
मंगलबार राति ११ः३० बजेतिर वीरगन्ज महानगरपालिका–१०, गीतामन्दिर रोडमा युवाहरूको दुई समूहबिच कुटपिट हुँदा बाराको परवानीपुर गाउँपालिका–९ स्थायी घर भई हाल वीरगन्ज–१० मा बस्दै आएका २० वर्षीय गोल्डेन भन्ने शिवमकुमार साह कानुको मृत्यु भएको थियो।
प्रहरी उपरीक्षक पाठकले ‘खुनी दरिन्दे समूह’ को नामबाट ह्वाट्स एप ग्रुप बनाएका युवाहरूको समूहले मृतक गोल्डेनको समूहसँग यसअघि पहिले पनि भएको झगडाको रिसइबी साध्न गत मंगलबार राति कुटपिट गरेर हत्या गरेको जानकारी दिए।
दसैँको मेला घुम्न आएका वेला गोल्डेनलाई ‘खुनी दरिन्दे समूह’ ले हात, मुक्का र बाँसको भाटासमेतले प्रहार गरेको र त्यसपछि गोल्डेनलाई उपचारका लागि नारायणी अस्पतालमा पुर्याएलगत्तै चिकित्सकले मृत घोषित गरेको पाठकले बताए।
मंगलबार राति घटना भएको खबर पाएलगत्तै प्रहरी टोली घटनाको अनुसन्धानमा खटेर घटना भएको २४ घण्टाभित्रै मुख्य आरोपितसहित ५ जनालाई पक्राउ गर्न सफल भएको प्रहरी उपरीक्षक पाठकले दाबी गरे। उक्त घटनामा संलग्न अरू केही व्यक्तिहरूको पनि पहिचान खुलिसकेको भन्दै प्रहरी उपरीक्षक पाठकले उनीहरूको खोजी कार्य जारी रहेको बताए।