बिहान सबेरै उठ्छन्, नुहाई–धुवाई गर्छन् र आफ्नो दैनिकीमा लाग्छन् डम्बर मल्ल । उनको दैनिकी नै गण्डकी प्रदेशकै ऐतिहासिक शक्तिपीठ बागलुङकालिका मन्दिरको गेटनजिकै बित्ने गर्छ । उनले दैनिक गर्ने कर्मले यहाँको परम्परालाई धानेको छ भने उनकै जीवनशैली र दैनिकीमा नयाँ आयाम थपिएको छ ।
मन्दिरको मुख्य गेटको दायाँपट्टि टिनले छाएको सानो छाप्रोमा आगोको रापसँग आफ्नो जीवनशैली चलाएका छन् बागलुङ नगरपालिका– १, भगवती रोडका डम्बर मल्लले।
बडादसैँको नवरात्र सुरु भएपछि मल्ल बिहानैदेखि अगेनामा रोट पकाउन व्यस्त हुन्छन् । मन्दिरमा परम्परागत रूपमा चढाउने गरिएको रोटबारे धेरैलाई त थाहा छ, तर थाहा नभएकालाई उनले यसको महिमा सुनाउँछन् । आफूले बनाएका रोट पूजा तथा प्रसादको रूपमा बिक्री गर्नु उनको दैनिकी बनेको छ ।
रोट बनाउने व्यवसायले फेरिएको जीवनशैली
कालिका मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थी उनले बनाएका रोट चढाउने गर्छन् । विगतमा विभिन्न पेसा–व्यवसाय गर्दै आएका मल्ल जब मन्दिर गेटमा रोट बनाउने काम गर्न थाले अहिले उनको जीवनशैलीमा नै परिवर्तन आएको छ । यहाँ रोट बनाउने उनि एक्लो व्यवसायीसमेत हुन् । ‘कहिले फूल–प्रसादको व्यापार गरेँ, कहिले गाडी एम्बुलेन्स चलाएँ । धेरै काम गरियो, तर यहाँ रोट बनाएर बिक्री गर्न थालेपछि यसैले धानिएको छु,’ डम्बरले भने, ‘२०७६ सालदेखि मन्दिर गेटमा कालिका मातालाई चढाउने रोट बनाउन थालेको हुँ, यसपछि मेरो दैनिकी जीवनशैली र बोलिचालीमा ठुलो परिवर्तन आएको छ कालिका माताको आशीर्वाद प्राप्त भएको छ ।’ उनले अहिले यसमै सन्तुष्टि पाएको बताए ।
नैवेदका सामग्री मिसाएर पकाइने रोट कालिकालाई चढाउन उत्तम
तत्कालीन कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष राजु खकाड्को प्रेरणा र उनको सुझावले आफूले रोट बनाउन लागेको मल्ल बताउँछन । उनले रोट बनाउनका निम्ति पाल्पा भैरवस्थान मन्दिर पुगेर सिकेका थिए । ‘त्यो वेला मलाई रोट कसरी बनाउने भन्नबारे केही पनि थाहा थिएन । संयोगवश परिवारसहित घुम्न पाल्पा भैरवस्थान पुग्यौँ । त्यहाँ तीन दिन बस्दा मैले रोट बनाउनेबारे थाहा पाएँ र यहाँ आएर त्यही कामले मेरो जीवन गुजारा चलेको छ यसैले परिवार धानेको छु,’ मल्लले भने ।
कालिका भगवतीलाई प्रसादस्वरूप नैवेदका सामग्री मिसाएर पकाइने रोट चढाउने प्रचलन पुरानो हो । बलि चढाउन नसक्ने र नरिवल फूलप्रसादको चलन सुरु नहुँदासम्म भक्तजनले घरमै रोट बनाएर चढाउने गर्थे । घरमै बनाउने चलन हराउँदै गएपछि मल्लले मन्दिर गेटमै भक्तजनलाई सजिलै उपलब्ध गराउन थालेका हुन् । भक्तजन कालिकामा चढाउन र प्रसादका लागि रोट किनेर लैजाने गरेको मल्लले बताए ।
रोट बनाउन भ्याइनभ्याई छ
एउटा रोट बनाउन एक माना चामलको पिठो, ल्वाङ, नरिवल, चिनी, अन्य नैवेदका सामग्री र करिब दुई सयदेखि तीन सय ग्राम स्थानीय घिउ प्रयोग हुने गर्दछ । ‘एउटै रोट पकाउन करिब ३५ देखि ४५ मिनेट लाग्ने गर्दछ । ‘हामीले राम्रो र स्वादिलो बनाउनका निम्ति दाउरा नै प्रयोग गर्ने गर्छौँ,’ मल्लले भने, ‘अहिले चारवटा अगेनामा एकैपटक पकाउँदा सवा एक घण्टामा आठवटासम्म बनाउन भ्याइएको छ, नवदुर्गामा दर्शनार्थीको माग बढ्दो भएका कारण रोट बनाउन भ्याइनभ्याई छ ।’ उनले धोरै बनाउँदा नैदेवका सामग्री र घिउ धेरै खर्च हुने र धेरै बनाउँदा राम्रै फाइदा हुने बताए ।
एउटा रोटको चार सय रुपैयाँ
मल्लले एउटा रोटको चार सय रुपैयाँका दरले दर्शनार्थीलाई दिने गरेको सुनाए । उनी सामान्य दिनमा भन्दा बडादसैँ र चैतेदसैँमा पाँच–छ गुणाले बढीले माग हुँदा व्यापार पनि राम्रै हुने बताउँछन् । ‘अरू दिनभन्दा बडादसैँ र चैत्राष्टमीको समयमा बढी मात्रामा नै बिक्री हुने गर्दछ, नवदुर्गाको समयमा सप्तमीसम्म दैनिक ३० देखि ३५ सम्म बिक्री हुने गरे तापनि फूलपातीको दिन झन्डै ६० जति बिक्री हुने अनुमान गरिएको छ,’ उनले भने । नवरात्रको समयमा देशभरिबाट पूजाआजाका लागि दर्शनार्थी बढेपछि रोटको माग पनि बढ्दै गएको उनले बताए । यही व्यवसायबाट मासिक करिब ५० हजार रुपैयाँ आम्दानी हुने गरेको उनि बताउँछन् ।
सुतक वा जुठो परे चुलो बल्दैन
मन्दिरमा रोट चढाउन विशेष गरी पुराना पुस्ताले नै रोज्ने गरेको मल्ल बताउँछन । ‘पुरानो पुस्ताले मात्र रोटको महत्त्व र महिमा बुझेका छन्, नयाँ पुस्ताले पनि हाम्रो परम्परा र संस्कृति बुझुन् भन्ने उद्देश्यले यो व्यवसाय रोजेको हुँ,’ डम्बरले भने, ‘मैले रोटको महत्त्व बुझेँ, हाम्रा छोराछोरीलाई के हो भन्ने थाहा थिएन । तर, मैले बनाउन थालेपछि उनीहरूले पनि बुझ्न थालेका छन् ।’ मल्लले घरमा सुतक वा जुठो परे चुलो बल्दैन, नुहाएर चोखो नभएसम्म रोट पकाउँदैनन् पनि । आस्था र विश्वाससँग जोडिएको काम भएकाले व्यवसायसँगै धर्म र कर्तव्य निभाउनु उनले आफ्नो कर्तव्य ठानेका छन् ।
परिवारमा श्रीमती र तीन सन्तान रहेका उनका एक छोरा जापान र अर्काे बेलायतमा र छोरी अस्ट्रेलियामा छन् । मन्दिर गेटमा मासिक पाँच हजार रुपैयाँ भाडा तिरेर सानो सटर लिएर व्यवसाय सञ्चालन गरेका मल्लले रोटसँगै परेवाको दाना र अन्य पूजा सामग्री पनि बिक्री गरेका छन् ।