प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले कांग्रेस सभापति शेरबहादुर देउवाका सालो तथा व्यवसायी भूषण राणामाथि छानबिन थालेको छ। सिआइबीको टोलीले आइतबार उनको निवासमा गएर खानतलासी लिएको छ।
सिआइबीका अनुसार राणाको घरमा रहेका परिवारका सदस्यसँग सामान्य सोधपुछ गरिएको थियो । उनको घरमा केही बरामद नभएको सिआइबीका अधिकारीले बताएका छन्।
खानतलासीका क्रममा ललितपुर महानगरपालिका– ४ का अध्यक्ष सन्तोष खड्का पनि उपस्थित थिए । ‘सिआइबीको टोली भूषण राणाको घरमा अवैध पैसा छ कि भनेर आएको रहेछ, केही फेला परेन,’ उनले भने।
भूषण भने एक महिनादेखि विदेशमा छन्। शेरबहादुर देउवामाथि हालै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छानबिन थालेकोमा सोही विषयसँग जोडेर भूषणको घरमा पनि सिआइबी पुगेको बताइएको छ।