विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) दक्षिण–पूर्वी एसियामा मृत्युको प्रमुख कारण मुटुरोग रहेको र यस रोगले प्रतिमिनेट आठजनाको ज्यान लिने गरेको बताएको छ । विश्व मुटु दिवसको पूर्वसन्ध्यामा शनिबार एक प्रतिवेदन सार्वजनिक गर्दै डब्लुएचओले उक्त जानकारी दिएको हो ।
मुटुरोगको बारेमा जागरुकता जगाउन र धेरै जीवन बचाउन प्रारम्भिक पहिचानको महत्वलाई ध्यानमा राखेर हरेक वर्ष सेप्टेम्बर २९ मा विश्व मुटु दिवस मनाइन्छ । यस वर्षको नारा ‘एक धड्कन पनि नछुटाउनुहोस्’ भन्ने छ ।
‘हरेक मिनेटमा दक्षिण–पूर्वी एसिया क्षेत्रमा आठजनाको मुटु रोग (कार्डियोभास्कुलर डिजिज अर्थात् सिभिडीका कारण मृत्यु हुन्छ । सिभिड यस क्षेत्रमा मृत्युको प्रमुख कारण हो, जसमध्ये ७० वर्षमुनिका मानिसमा समयपूर्व मृत्यु हो,’ डब्लुएचओ दक्षिण–पूर्वी एसियाकी प्रमुख डा. क्याथरिना बोहेमले भनिन् । सिभिडका प्रमुख जोखिम कारकहरूमा उच्च रक्तचाप, मधुमेह, सुर्तीजन्य पदार्थको प्रयोग, मदिरा सेवन, नुन र बोसोको मात्रा बढी भएको अस्वस्थकर आहार र शारीरिक निष्क्रियता समावेश छन् ।
‘यस क्षेत्रमा उच्च रक्तचाप र मधुमेह भएका ८५ प्रतिशत मानिसको अवस्था नियन्त्रणमा छैन,’ बोहेमले भनिन्, ‘वृद्ध जनसंख्या र बढ्दो सहरीकरणसँगै, हृदय रोगको जोखिम बढ्दै गएको छ, जसले पहिले नै स्रोत सीमित स्वास्थ्य प्रणालीमा दबाब सिर्जना गरिरहेको छ ।’ विज्ञहरूका अनुसार विगत दुई वर्षमा देशमा नीतिगत कदम र क्लिनिकल हस्तक्षेपले उत्साहजनक प्रगति देखाएको छ ।
‘जुन २०२५ सम्म सार्वजनिक स्वास्थ्य सुविधाले उच्च रक्तचाप र मधुमेह भएका नौ करोडभन्दा बढी मानिसलाई प्रोटोकलमा–आधारित व्यवस्थापन प्रदान गर्दै आएका छन्,’ बोहेमले भनिन् । उनले अपर्याप्त वित्तीय र नियामक उपाय, नीतिहरूको कमजोर कार्यान्वयन र प्रगतिमा बाधा पु¥याउने अस्वस्थ वस्तुहरूमा बजार, प्याकेजिङ र विज्ञापन प्रतिबन्धको कमजोर अनुगमनजस्ता समस्या देखिएको पनि बताइन् ।