नेताका निवासमा भेटिएको स्रोत नखुलेको रकममाथि सम्पत्ति शुद्धीकरणको अनुसन्धान

सोमबार, १३ असोज, २०८२
डिजिटल संस्करण

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालगायतका ठुला राजनीतिक दलका नेताहरूले स्रोत नखुलेको रकम आफ्नो निवास वा अन्यत्र लुकाइराखेको विषयमा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, ०६४ बमोजिम अनुसन्धान भइरहेको अर्थ मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयले आइतबार विज्ञप्तिमार्फत पूर्वप्रधानमन्त्रीहरूको निवासमा भेटिएको नोटलाई इंगित गर्दै अनुसन्धान भइरहेको स्पष्ट पारेको हो ।

मन्त्रालयले विज्ञप्तिमा भनेको छ, ‘प्रचलित कानुनबमोजिम आय–आर्जन भएको र स्रोत खुलेको रकमको जुनसुकै परिमाण आफूसँग वा अन्य स्थानमा सुरक्षित राख्न र उपयोग गर्न कुनै बाधा–व्यवधान नरहेको व्यहोरासमेत जानकारी गराइन्छ । तर, विभिन्न व्यक्तिले स्रोत नखुलेको रकम आफ्नो निवास वा अन्यत्र लुकाइराखेको भन्ने सम्बन्धमा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ बमोजिम अनुसन्धान भइरहेको छ ।’ २३ र २४ भदौको जेन–जी आन्दोलनका क्रममा सिर्जना भएको असामान्य परिस्थितिबाट आगजनी हुँदा विभिन्न स्थानमा नगदसमेत जलेको वा जलेको अवस्थामा भेटिएको भन्ने सूचनामाथि मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

ठुलो परिमाणमा नगद सञ्चय नगर्न आग्रह
सरकारले सेवा वा वस्तुको खरिद–बिक्री वा अन्य कारोबार वित्तीय संस्था वा बैंकिङ उपकरणमार्फत गर्ने गरी विद्युतीय कारोबारलाई प्रोत्साहित गरिरहेको मन्त्रालयले जनाएको छ । विद्युतीय भुक्तानीमार्फत जुनसुकै सीमाको रकम कारोबार गर्न सकिने भएकाले ठुलो परिमाणमा नगद सञ्चय गरेर राख्नुपर्ने आवश्यकता नरहेको अर्थले उल्लेख गरेको छ । आफ्नो जुनसुकै कारोबार सम्भव भएसम्म विद्युतीय भुक्तानीमार्फत गर्न अर्थको अनुरोध छ । 

नगदसम्बन्धी कानुनी व्यवस्था
कानुनअनुसार कुनै व्यक्ति, फर्म, कम्पनी वा संस्थाले एकपटकमा १० लाख रुपैयाँ वा सोभन्दा बढी मूल्यको कुनै सेवा वा वस्तुको खरिद–बिक्री वा अन्य कारोबार गर्दा बैंकिङ उपकरणमार्फत गर्नुपर्ने व्यवस्था छ । तर, करसम्बन्धी प्रचलित कानुनले सीमा तोकेकोमा सोहीबमोजिम हुने भनिएको छ ।

नेपाल आउने नेपाली वा विदेशी नागरिकले अमेरिकी डलर पाँच हजारसम्म भन्सार घोषणाविना नेपालमा भित्र्याउन सक्ने व्यवस्था छ । भारतीय रुपैयाँको हकमा अमेरिकी डलर पाँच हजारबराबर हुन आउने भारतीय रुपैयाँसम्म र नेपाल राष्ट्र बैंकबाट विनिमय दर प्रकाशन नहुने अन्य विदेशी मुद्राको हकमा समेत अमेरिकी डलर पाँच हजारबराबरसम्म भित्र्याउन सक्ने उल्लेख छ । सोभन्दा बढी रकमको हकमा भने भन्सार घोषणा गरी प्रमाणित गराउनुपर्ने व्यवस्था छ ।

त्यस्तै, नेपाली नागरिकले विदेशमा रोजगारी वा विदेशमा व्यवसाय गरी आर्जन गरेको वा विदेश भ्रमणका लागि सटही सुविधाअन्तर्गत प्राप्त गरेको विदेशी मुद्रामध्ये बचत हुन आएको विदेशी मुद्रालगायत अन्य वैध स्रोतबाट प्राप्त विदेशी मुद्रा भविष्यमा उपयोग गर्ने प्रयोजनका लागि अधिकतम अमेरिकी डलर एक हजार पाँच सय वा सोबराबरको परिवत्र्य विदेशी मुद्रासम्म नगदमा राख्न सक्ने व्यवस्था छ ।

उल्लिखित कानुनी व्यवस्थाबाहेक स्रोत नखुलेको नगद कहीँकतै भेटिएको अवस्थामा प्रचलित कानुनबमोजिम अनुसन्धान तथा कारबाही गर्न सबै निकायलाई सक्रिय गराउने अर्थ मन्त्रालयले चेतावनी दिएको छ ।

सुझावित समाचार