गौरीटार रंगशाला : १६ वर्षपछि निर्माणमा तीव्रता, क्रिकेटमैदान र पौडीपोखरीले बदलिँदै मुहार

आइतबार, १२ असोज, २०८२
डिजिटल संस्करण

१६ वर्ष लामो प्रतीक्षापछि गौरीटार अन्तर्राष्ट्रिय रंगशाला पुनः गतिमा आएको छ । वर्षौँदेखि बजेट अभाव, बेवास्ता र स्वामित्व विवादमा फसेको यो रंगशालाले हाल क्रिकेटमैदान र अन्तर्राष्ट्रियस्तरको पौडीपोखरी निर्माणसँगै नयाँ रूप लिन थालेको छ ।

०६६ जेठ २८ गते तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले भव्य समारोहबिच शिलान्यास गरेकाे यो आयोजनालाई पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य थियो । तर, दुई अर्ब ५० करोड रुपैयाँ लागतको अनुमान भएको रंगशाला सुरुका आठ वर्षमा मात्र पाँच करोड पाउँदै सुस्त गतिमा अघि बढ्यो । संघीयता लागू भएपछि स्वामित्व विवादले झन् चार वर्ष अलपत्र रह्यो ।

०७६ सालमा बागमती प्रदेश सरकारले स्वामित्व लिएपछि रंगशालाले पुनर्जीवन पाएको हो । यसलाई ‘गौरवको आयोजना’ का रूपमा अघि बढाउँदै प्रदेशले चरणबद्ध रूपमा निर्माण कार्यलाई गति दिएको छ ।

प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव दीपक लामाका अनुसार हाल फुटबल रंगशालाको प्यारापिट निर्माण लगभग सम्पन्न भइसकेको छ भने क्रिकेटमैदान र पौडीपोखरी पनि तयार भइसकेका छन् ।

३२ करोड ५३ लाखको डिपिआरसहितको पौडीपोखरी ६ करोड एक लाख ७५ हजार लागतमा बनेको छ । चार सय दर्शकक्षमताको भिआइपी ब्लक, ५० मिटर लामो प्रतिस्पर्धा पोखरी र २५ मिटरको तालिम पोखरी तयार भएको छ । त्यस्तै, ७१ करोड १९ लाखको डिपिआरसहित क्रिकेटमैदान निर्माण पनि सम्पन्न भएको छ । 
नाै करोड ४२ लाख लागतमा बनेको मैदानमा ६ सय दर्शकक्षमताको प्यारापिट, पाँचवटा पिच, १४० मिटर व्यासको खेलमैदान, भूमिगत ड्रेनेज, खेलाडी चेन्जिङ रुम, मिडिया कक्ष, स्कोरबोर्ड र पार्किङ सुविधा रहेका छन् ।

कुल दुई अर्ब ४२ करोड ६४ लाख लागतको विस्तृत परियोजना प्रतिवेदनअनुसार गौरीटार रंगशालामा फुटबल, क्रिकेट र पौडीसँगै तेक्वान्दो, कराँते, बक्सिङ, बास्केटबल, लनटेनिसलगायत खेलका लागि छुट्टाछुट्टै संरचना, प्रशासनिक भवन र खेलाडी छात्रावास निर्माण गर्ने योजना छ ।

लामो समयको अनिश्चितता र अलपत्र अवस्थापछि निरन्तर लगानी र अनुगमनले रंगशाला निर्माणले लय समातेको प्रदेश सरकारले दाबी गरेको छ । यस आयोजनाले मकवानपुर मात्र नभई समग्र बागमती प्रदेशकै खेलकुद पूर्वाधारमा नयाँ अध्याय सुरु गर्ने विश्वास लिइएको छ ।

सुझावित समाचार