झापामा जेन–जीको खबरदारी : अहिले पक्राउ नगर, आयोगको प्रतिवेदन पर्ख !

शनिबार, ११ असोज, २०८२
डिजिटल संस्करण
झापामा जेन–जीको खबरदारी : अहिले पक्राउ नगर, आयोगको प्रतिवेदन पर्ख !

दमकमा शन्तिपूर्ण प्रदर्शन गर्दै जेन–जी । तस्बिर : नयाँ पत्रिका

गत २३ र २४ भदौमा भएको जेन–जी आन्दोलनमा संलग्नलाई प्रहरीले पक्राउ गर्न थालेपछि त्यसको विरोधमा झापाको दमकमा जेन–जी अभियान्ताहरूले सांकेतिक प्रर्दशन गरेका छन् । 

सरकारले जाँचबुझ आयोग बनाइसकेको अवस्थामा प्रहरीले प्रतिशोध साध्न देशका विभिन्न ठाउँमा धरपकड र पक्राउ गर्न थालेको भन्दै उनीहरूले खबरदारी स्वरूप शन्तिपूर्ण प्रदर्शन गरेका हुन् ।

केही जेन–जी अभियन्ताले शुक्रबार र शनिबार दमकमा प्लेकार्ड देखाएर शान्तिपूर्ण प्रदर्शन गरे । सरकारले जाँचबुझ आयोग बनाएको र यसलाई काम गर्न दिनुपर्ने उनीहरूको धारणा छ । 

अहिले नै पक्राउ गर्न थाल्दा प्रहरीले प्रतिशोध साध्द सक्ने जेन–जी अभियन्ता तथा सार्वजनिक नीतिका अध्येता जनक पोखरेलले बताए । ‘देशका विभिन्न ठाउँमा प्रहरीले आन्दोलनकारीलाई जथाभावी पक्राउ र धरकपड गरिरहेका खबर आएका छन् । अन्तरिम सरकारको म्यान्डेटमध्ये आन्दोलनको निष्पक्ष छानबिन गर्ने पनि हो । को गिरोह बनाएर लागेको थियो र को आन्दोलनको रापतापमा लागेको हो छानबिन गर्नुपर्छ,’ उनले भने, ‘पक्राउ नै गर्ने हो भने त २३ भदौको आन्दोलनमा प्रहरीले आन्दोलनकारीमाथि ताकीताकी टाउकोमा गोली हानेको छ । अहिले नै पक्राउ गर्दा रिसबी सादासाद हुने भयो । आयोगलाई छानबिन गर्न देऊ । आयोगको प्रतिवेदन पर्ख भन्ने हाम्रो माग हो ।’

जेन–जी विद्रोहमा सहभागी भएकाहरूलाई प्रहरीले जथाभावी गिरफ्तार र धरपकड नगरी जाँचबुझ आयोगलाई काम गर्न दिनुपर्ने जेनजी अभियन्ता तथा अधिवक्ता यतिष ओझा बताउँछन् । २३ र २४ भदौको घटनाको अनुसन्धान गर्न सरकारले न्यायिक जाँचबुझ आयोग बनाइसकेको अवस्थामा प्रहरी संयन्त्रले सामान्य बाटोबाट निष्पक्ष अनुसन्धान गर्न नसक्ने उनको तर्क छ । ‘२३ भदौमा प्रदर्शनकारीको हत्या गर्ने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक खुलेआम हिँडिरहँदा २४ भदौका घटनाका लागि अरू कसैलाई समात्नु कसरी न्याय हुन्छ ?,’ ओझाले भने, ‘न्यायिक जाँचबुझ आयोगको प्रतिवेदनअनुसार मात्रै थप कारबाही गर्न नेपाल सरकार, गृह प्रशासन र नेपाल प्रहरीलाई खबरदारी गर्ने उद्देश्यले शान्तिपूर्ण प्रदर्शन सुरु गरेका हौँ ।’ 

जेन–जी प्रदर्शनमा भएको आगजनी तथा तोडफोडका घटनामा संलग्न भएको भन्दै झापामा पनि प्रहरीले जाहेरी दर्ता गर्ने र पक्राउ गर्न थालेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार इलाका प्रहरी कार्यालय काँकडभिट्टामा तीनवटा जाहेरी परेका छन् । जिल्ला प्रहरी कार्यालयमा पनि जाहेरी आइरहेको झापा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्र खड्काले जानकारी दिए । यद्यपि, जिल्ला प्रहरी कार्यालयमा परेको जाहेरीमाथि भने प्रमाण बुझ्ने काम भइरहेको उनले बताए ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टाले भने हालसम्म पाँच जनालाई पक्राउ गरिसकेको र केही फरार रहेको उनको भनाइ छ । ‘चोरी गर्ने, आगजनी गर्ने, तोडफोड गर्ने र प्रहरीको हतियार लुटपाटमा संलग्न भएको प्रत्यक्ष प्रमाण भएकाको जाहेरी दर्ता भएको छ । उनीहरूको अदालती प्रक्रियामा जान्छ । अन्यको हकमा जाँचबुझ आयोगले काम गर्छ,’ प्रवक्ता खड्काले भने । 

सुझावित समाचार