नेपाल र वेस्ट इन्डिजबिचको सिरिज आजदेखि : यस्ता छन् नेपाली टोलीका क्रिकेटर

शनिबार, ११ असोज, २०८२
डिजिटल संस्करण

नेपालले विश्वचर्चित रंगशाला सारजहाँमा २७ देखि ३० सेप्टेम्बरसम्म टेस्ट राष्ट्र वेस्ट इन्डिजसँग तीनवटा टी–२० आई सिरिज खेल्दै छ । जसअन्तर्गत शनिबार पहिलो खेल राति आठ बजे हुनेछ । यसअघि टेस्ट राष्ट्रविरुद्ध प्रतिस्पर्धा गरे पनि नेपालले पूरै सिरिज खेलेको थिएन । नेपालले अहिलेसम्म १०३ टी–२० आई खेलमा ५७ जित र ४० हार सामना गरेको छ ।

वेस्ट इन्डिजले २२८ टी–२० आईमा भने ९५ जित र ११९ खेलमा हारको नतिजा निकालेको छ । सन् २०१२ र ०१६ को टी–२० आई विश्वकप विजेता वेस्ट इन्डिजको कप्तानी होसेन र नेपालको नेतृत्व रोहितकुमार पौडेलले गरिरहेका छन् । वेस्ट इन्डिज टोलीमा सबैभन्दा सिनियर खेलाडी नै ज्यासन होल्डर हुन् । खराब फर्ममा रहेका वेस्ट इन्डिजविरुद्ध नेपालले ऐतिहासिक प्रदर्शन गर्ने कप्तान पौडेलको भनाइ छ । ऐतिहासिक सिरिजमा भिड्ने नेपाली खेलाडी यस्ता छन् । श्रीलोचन राजोपाध्यायको रिपोर्ट :

रोहितकुमार पौडेल (कप्तान) :  कोडिभको महामारी चलिरहेका वेलामा रोहितले राष्ट्रिय टोलीबाट डेब्यु अवसर पाए । त्यसवेला उनी १६ वर्षका मात्र थिए । एकदिवसीय फम्र्याटमा कम उमेरमा अर्धशतकीय इनिङ्स खेल्ने उनी कान्छा खेलाडी पनि हुन् । यो केवल तेस्रो खेलमै उनले प्राप्त गरेका थिए । एकदिवसीय इतिहासमा उनको नाममा एक रेकर्ड छ । विश्व क्रिकेटमा कम उमेरमा कप्तानी गर्ने उनी दोस्रो युवा खेलाडी हुन् ।

नेपाली टोलीको कप्तानी जिम्मेवारी सम्हाल्दा उनी २० वर्ष ७३ दिनका थिए । सन् २०२३ मा उनले कप्तानी गर्दै नेपाललाई एकदिवसीय विश्वकप ग्लोबल छनोटमा मात्र पुर्याए । यसका साथै नेपालले पहिलोपटक एसिया कपसँगै दोस्रोपटक आइसिसी टी–२० विश्वकपमा स्थान सुरक्षित गर्यो । टी–२० आईमा भन्दा उनी एकदिवसीय खेलमा बढी केन्द्रित छन् ।

नेपालका लागि ५० ओभरको खेलमा एक हजार रन पूरा गर्ने उनी पहिलो ब्याट्सम्यान हुन् । ब्याटिङको अलराउन्डर भूमिका निर्वाह गर्न सक्ने रोहितले ६७ टी–२० आईमा सात अर्धशतकीय इनिङ्सको सहयोगमा एक हजार चार सय ४५ रन जोडेका छन् । सन् २०१९ मा युएईविरुद्ध टी–२० मा डेब्यु गरेका उनले यस फम्र्याटमा नौ विकेट हात पारेका छन् । 

सन्दीप लामिछाने  ः अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली खेलाडीमध्ये ब्रान्ड बनाएका सन्दीप मात्र एक्लो क्रिकेटर हुन् । सन्दीप विश्वका सबैजसो चर्चित टी–२० फ्रेन्चाइज लिगमा आबद्ध भइसकेका छन् । इन्डियन प्रिमियर लिग खेल्ने उनी एक मात्र नेपाली क्रिकेटर हुन् ।

दिल्ली क्यापिटल्सले उनलाई औसत २० लाख भारुमा अनुबन्ध गरेको थियो । तीन सिजन उनले आइपिएल खेले । यसका साथै उनीसँग बिगवास, सिपिएल र बिपिएलजस्ता फ्रेन्चाइज लिगको अनुबन्ध छ । विवादमा मुछिँदा सन्दीप नेपाली राष्ट्रिय टोलीमा एक वर्षजति बाहिर रहे । उत्कृष्ट पुनरागमन गरेका उनले नेपाललाई एसिया कप तथा टी–२० विश्वकपमा स्थान बनाउन महत्वपूर्ण योगदान दिए । लेग ब्रेक स्पिनर सन्दीपले ६२ टी–२० आईमा एक सय १७ विकेट लिएका छन् ।

उनले तीनपटक चारभन्दा बढी विकेट हात पारेका छन् । उनले एकपटक पाँच विकेट लिए । सन् २०१८ मा सन्दीपले आइसिसी विश्व ११ बाट प्रतिनिधित्व गर्दै वेस्ट इन्डिजविरुद्ध टी–२० आईमा डेब्यु गरेका थिए । सन्दीपले आइपिएलमा १३, बिगवासमा ४८, सिपिएलमा २७ तथा पिएसएलमा १३ विकेट लिएका छन् । 

दीपेन्द्रसिंह ऐरी : आइसिसी टी–२० अलराउन्डर वरीयतामा दीपेन्द्रसिंह अहिले चौथो स्थानमा छन् । लामो समय उनी दोस्रो स्थानमा रहेका थिए । वेस्ट इन्डिजसँगको सिरिजपछि उनको वरीयतामा सुधार हुने अपेक्षा गरिएको छ । टी–२० फम्र्याटमा दीपेन्द्रसिंह असाध्यै राम्रा खेलाडीमा पर्छन् । १९औँ एसियाडमा मंगोलियाविरुद्ध नौ बलमै अर्धशतकीय इनिङ्स खेलेको विश्वकीर्तिमान उनको नाममा छ । यो रेकर्ड तोड्न असम्भवझैँ छ ।

उनले कतारविरुद्ध ६ बलमै ६ प्रहार गरी अर्को रकेर्ड राखेका छन् । नेपाली खेलाडीमध्ये टी–२० आईमा ६ बलमै ६ प्रहार गर्ने उनी मात्र एक्लो ब्याट्सम्यान हुन् । बलिङ, ब्याटिङ र फिल्डिङमा एकनासको प्रदर्शन गर्न सक्ने दीपेन्द्रसिंह नेपाली टोलीकै भरपर्दा खेलाडी हुन् । मध्यक्रममा पावर हिटिङ ब्याट्सम्यान दीपेन्द्रसिंह टी–२० आईमा एक हजार रन पूरा गर्ने पहिलो नेपाली खेलाडीसमेत हुन् । ८२ टी–२० आईमा उनले एकशतक तथा नौ अर्धशतकको सहयोगमा एक हजार आठ सय २३ रन जोडेका छन् । उनले यसै विधामा ५२ विकेट लिएका छन् । सन् २०१८ मा उनले नेदरल्यान्ड्सविरुद्ध टी–२० आईमा डेब्यु गरेका थिए ।

कुशल भुर्तेल :  एकदिवसीय र टी–२० फम्र्याटमा कुशल नेपालका लागि ओपनिङ गर्छन् । पहिलो बलदेखि नै बाउन्ड्री लगाउने प्रयास गर्ने कुशल आक्रामक रूपमा खेल्न रुचाउँछन् । उत्कृष्ट फर्ममा रहँदा उनले नेपाललाई यी दुवै फम्र्याटमा उत्कृष्ट सुरुवात दिलाउने गर्छन् पनि । पछिल्लो ६–७ वर्षयता उनी नेपालकै प्रमुख ओपनिङ ब्याट्सम्यानका रूपमा रहेका छन् । आवश्यक परेका वेलमा स्पिन बलिङ गर्ने कुशलले टी–२० आईमा ६१ खेलबाट २४ विकेट लिएका छन् । यसैगरी, ब्याटिङमा उनले ६१ खेलमा एकशतक तथा ११ अर्धशतकको सहयोगमा एक हजार पाँच सय ५३ रन जोडेका छन् ।

नेपालको सबै फम्र्याटमा उनले शतक तथा अर्धशतकीय इनिङ्स खेलेका छन् । सन् २०२३ मा जिम्बावेविरुद्धको एकदिवसीय विश्वकप ग्लोबल छनोटमा उनी ९९ रनमा आउट भएका थिए । उनले फिलिपिन्सविरुद्ध ६१ बलमा एक सय चार रनको शतकीय इनिङ्स खेलेका थिए । गत वर्ष टी–२० विश्वकपमा उनले दक्षिण अफ्रिकाविरुद्ध १९ रन खर्चेर चार विकेट लिएका थिए । 

सोमपाल कामी : सोमपाल एक दशकदेखि टोलीमा अनवरत रूपमा छन् । सन् २०१४ मा हङकङविरुद्ध टी–२० आईमा डेब्यु गरेका सोमपाल प्रमुख बलरका रूपमा छन् । नयाँ बलमा विपक्षी ब्याट्सम्यानलाई सहजै झुक्याउँदै विकेट लिने उनको प्रमुख विशेषता हो । नेपालले पछिल्लो समय एसिया कप तथा टी–२० विश्वकप खेल्दा उनको भूमिमा पनि महŒवपूर्ण मानिन्थ्यो । ७८ टी–२० आईमा उनले ७६ विकेट लिएका छन् । उनको उत्कृष्ट प्रदर्शन नै २०/३ रहेको छ । टी–२० आईमा उनको इकोनोमी ७.१६ र २३.२६ को औसतमा उनी बलिङ गर्छन् । ब्याटिङमा उनले ७८ टी–२० आईमा तीन सय ३३ रन जोडेका छन् । यस क्रममा उनले २५ चौका र १६ छक्का प्रहार गरेका छन् । समग्रमा टी–२० सिरिजमा उनले ९१ खेलमा ८९ विकेट हात पारेका छन् । 

करण केसी :  सोमपालसँगै करण ओपनिङ बलिङ गर्छन् । नेपाललाई सुरुवाती सफलता र ब्रेक थ्रु दिलाउनमा करण माहिर छन् । नेपाली टोलीमा उनी टी–२० र एकदिवसीय फम्र्याटमा अलराउन्डर भूमिकामा रहने गर्छन् । पुछारमा रहेर पनि उनको ब्याटिङ लोभलाग्दो छ । कतिपय महत्वपूर्ण खेलमा शीर्ष र मध्यक्रमका ब्याट्सम्यान चुकेको अवस्थामा करणले म्याच विनिङ प्रदर्शन गरेका उदाहरण छन् । सन् २०१५ मा नेदल्यान्ड्सविरुद्ध टी–२० आईमा डेब्यु गरेका करण निरन्तर रूपमा टोलीका प्रमुख खेलाडीका रूपमा रहँदै आएका छन् । टी–२० आईमा उनले ८१ खेलमा एक सय तीन विकेट लिनुका साथै चार सय ६८ रन जोडेका छन् । उनले टी–२० आईमा तीनपटक चार विकेटभन्दा बढी तथा एकपटक पाँच विकेटको प्रदर्शन गरेका छन् । 

ललितनारायण राजवंशी :  दुई महिनाअघि स्कटल्यान्डमा भएको आइसिसी विश्वकप डिभिजन लिग–२ मा ललित चोटग्रस्त भएका थिए । चोटमुक्त हुँदै टोलीमा स्थान बनाएका ललितले अस्ट्रेलियाको भ्रमण गुमाएका थिए । तर, वेस्ट इन्डिजसँगको ऐतिहासिक सिरिजमा उनी उत्कृष्ट पुनरागमन गर्न चाहन्छन् । सन् २०१८ मा नेदरल्यान्ड्सविरुद्ध डेब्यु गरेका ललितले ३१ टी–२० आईमा २९ विकेट लिएका छन् । उनले २४.१३ को औसतमा बलिङ गर्छन् । यस फम्र्याटमा उनको उत्कृष्ट प्रदर्शन ६ रन खर्चेर तीन विकेट लिनु हो । घरेलु फ्रेन्चाइज लिगमा सक्रिय रहेका ललितले टी–२० सिरिजमा ३४ खेलमा ३१ विकेट हात पारका छन् । 

कुशल मल्ल : अहिले कुशल खासै फर्ममा छैनन् । तर, महत्वपूर्ण प्रतियोगितामा उनको ब्याटिङ चल्ने गर्छ । ब्याटिङ अलराउन्डर भूमिका निर्वाह गर्ने कुशल लामो स्ट्रोक लगाउन सिपालु छन् । बायाँ हातले बलिङ गर्ने उनले टी–२० आईमा १५ वर्षको उमेरमा डेब्यु गरेका थिए । एकदिवसीय खेलमा उनी सबैभन्दा कम उमेरमा अर्धशतक लगाउने ब्याट्सम्यान हुन् । उनले १५ वर्ष ३४० दिनमा अर्धशतक बनाएका थिए ।

सन् २०२३ मा १९औँ एसियाडमा कुशलले टी–२० आईमा मंगोलियाविरुद्ध ३४ बलमै शतकको विश्व रेकर्ड राखेका थिए । त्यसको एक वर्षपछि नामिबियाका ब्याट्सम्यानले उनको रेकर्ड तोडे । सन् २०१९ मा जिम्बावेविरुद्ध टी–२० आईमा डेब्यु गरेका उनले अन्तिमपटक गत १३ अप्रिलमा कुवेतविरुद्ध खेलेका थिए । कुशलले ५१ टी–२० आईमा एकशतक तथा चार अर्धशतकको सहयोगमा नौ सय २१ रन जोडेका छन् । यस फम्र्याटमा उनले १९ विकेट लिएका छन् । 

आसिफ शेख : नेपाली टोलीमा प्रमुख विकेटकिपर ब्याट्सम्यानमा सेख जमेका छन् । एकदिवसीय र टी–२० आईमा सेख ओपनिङमै क्रिजमा आउँछन् । विकेटपछाडि उनको चलाखीपूर्ण क्रियाकलापले विपक्षी ब्याट्सम्यान सहजै स्टम्पिङ र रनआउट हुन्छन् । टी–२० आईमा उनले सात अर्धशतकको सहयोगमा एक हजार तीन सय ७३ रन जोडेका छन् । सन् २०२१ मा नेदरल्यान्ड्सविरुद्ध टी–२० आईमा डेब्यु गरेका उनले ५२ चौका र ३४ छक्का प्रहार गरेका छन् । यसैगरी, टी–२० सिरिजमा ६७ खेलबाट उनले नौ अर्धशतकको मद्दतमा एक हजार पाँच सय ४७ रन जोडेका छन् । 

सन्दीप जोरा : सन्दीपले यसै सिरिजबाट टी–२० आईमा पुनरागमन गर्दै छन् । सन् २०१९ मा युएईविरुद्ध डेब्यु गरेका जोराले अन्तिमपटक गत वर्ष बंगलादेशविरुद्ध विश्वकपमा प्रतिस्पर्धा गरेका थिए । एक वर्षपछि अवसर पाएका जोराले नेपालबाट ३१ टी–२० आईमा तीन सय ८८ रन जोडेका छन् । उनले तीन अर्धशतक प्रहार गर्ने क्रममा २३ चौका र १५ छक्का प्रहार गरेका छन् । प्रशिक्षक र कप्तानले आवश्यक परेका वेलामा उनलाई पिन्च हिटरका रूपमा क्रिजमा पठाउने गरेका छन् । 

मोहमद आदिल अन्सारी :  नेपाल क्रिकेट संघले आयोजना गरेको नेपाल टी–२० लिगमा म्याच फिक्सिङ काण्डमा परेपछि अन्सारी दुई वर्ष राष्ट्रिय टोलीबाट बाहिर रहे । प्रतिबन्ध फुकुवा भएपछि अन्सारीले टोलीमा अवसर पाएका हुन् । दायाँहाते मध्यम गतिका बलर अन्सारीले अहिलेसम्म नेपालबाट आठ टी–२० आईमा प्रतिस्पर्धा गरेका छन् । यस क्रममा उनले एक सय १० रन बनाएका छन् । बलिङमा उनले पाँच विकेट हात पारेका छन् । सन् २०२२ मा उनले पपुवा न्युगिनीविरुद्ध डेब्यु गरेका थिए । वेस्ट इन्डिजविरुद्धको सिरिजमा उनी आफूलाई उत्कृष्ट पुनरागमन गर्न चाहन्छन् । 

गुल्सन झा :  नेपाली राष्ट्रिय टोलीमा गुल्सन अलराउन्डर भूमिकामा छन् । बायाँहाते ब्याट्सम्यान गुल्सन दायाँ हातले बलिङ गर्छन् । सन् २०२२ मा उनले फिलिपिन्सविरुद्ध टी–२० आईमा डेब्यु गरेका थिए । उनले अन्तिमपटक कुवेतविरुद्ध गत अप्रिलमा प्रतिस्पर्धा गरेका थिए । अहिलेसम्म उनले ४२ खेलमा ३० इनिङ्समा बलिङ गर्दै नेपालका लागि २३ विकेट लिएका छन् । उनले ब्याटिङका क्रममा ३२ इनिङ्समा एक अर्धशतकको सहयोगमा चार सय ९५ रन जोडेका छन् । एकदिवसीय खेलमा उनले चार अर्धशतकको सहयोगमा सात सय १८ रन बनाएका छन् । 

आरिफ शेख :  शीर्ष अर्डरका ब्याट्सम्यान आरिफले अहिलेसम्म नेपालका लागि ४३ टी–२० आईमा ३४ इनिङ्समा ब्याटिङ अवसर पाएका  छन् । उनले ३४ इनिङ्समा सातपटक नटआउट रहँदै पाँच सय ३८ रन जोडेका छन् । सन् २०१८ मा नेदरल्यान्ड्सविरुद्ध टी–२० आईमा डेब्यु गरेका उनले गत जुनमा स्कटल्यान्डसँगको खेल अन्तिमपटक खेलेका थिए । आरिफले ब्याटिङका क्रममा ५१ चौका र १२ छक्का प्रहार गरेका छन् । टी–२० आईमा उनले नौ इनिङ्समा चार विकेट लिएका छन् । 

नन्दन यादव : सन् २०२५ को अप्रिलमा यादवले टी–२० आईमा डेब्यु गरेका थिए । उनले अन्तिमपटक गत जुनमा नेपालबाट नेदरल्यान्ड्सविरुद्ध प्रतिस्पर्धा गरेका हुन् । दायाँहाते फास्ट बलर यादवले अहिलेसम्म नेपालबाट पाँच खेलमा पाँचै इनिङ्स बलिङ गरी आठ विकेट लिएका छन् । उनले १६.६२ औसतमा बलिङ गरेका छन् । ब्याटिङका क्रममा उनले दुई इनिङ्समा ४९ रन जोडेका छन् । 

साहाव आलम :  आलमले तीन वर्षपछि राष्ट्रिय टोलीमा पुनरागमन गरेका हुन् । सन् २०२१ मा उनले नेदरल्यान्ड्सविरुद्ध डेब्यु गरेका थिए । सन् २०२२ मा केन्यासँगको प्रतिस्पर्धा पछि उनी कहिले पनि टोलीमा परेनन् । नेपालको ‘ए’ टोलीबाट उत्कृष्ट प्रदर्शन गरेपछि आलमले वेस्ट इन्डिजसँगको सिरिजमा मौका पाउन लागेका हुन् । उनले ६ टी–२० आईमा चार विकेट लिएका छन् । उनले एकपटक मात्र टी–२० आईमा ब्याटिङ गरेका छन् । लिस्ट ‘ए’ मा उनले तीन खेलमा ४४ रन बटुलेका छन् । 

सुझावित समाचार