सप्तरीका १० पालिकाले दसैँमा पनि कर्मचारीलाई तलब दिएका छैनन् । दसैँमा समेत तलब नपाउँदा समस्या भएको कर्मचारीले बताएका छन् । दसैँमा समेत तलब नपाउँदा आफूहरूलाई निकै समस्या भएको राजविराज नगरपालिकाका एक कर्मचारीले बताए । ‘यो वेला तलब नपाउने भएपछि बालबच्चालाई लुगाफाटो गर्न, घरखर्च चलाउन ऋण खोज्दै छु,’ उनले भने ।
बिहीबारसम्म आठ पालिकाले कोष तथा लेखा नियन्त्रक कार्यालयमा रकम निकासाको प्रक्रिया गरेका छन् । स्थानीय सरकार सञ्चालन ऐनको दफा ७३(१)मा पारित बजेटको सात दिनभित्र खर्चको अख्तियारी प्रमुख प्रशासकीय अधिकृतलाई पालिका प्रमुखले दिनुपर्ने प्रावधान छ । तर, चालू आर्थिक वर्षको दुई महिना बितिसक्दा पनि अधिकांश पालिकाले अख्तियारी दिएका छैनन् ।
‘कानुनमा पालिका प्रमुखले अख्तियारी नदिएसम्म तलब दिन सक्ने अवस्था छैन, कानुनअनुसार बजेट पारित भएको सात दिनभित्रै दिनुपर्ने हो, तर हालसम्म पनि दिएको छैन,’ एक पालिकाका प्रमुख प्रशासकीय अधिकृतले भने, ‘यसको कानुनमा वैकल्पिक कुनै उपाय पनि छैन।’
हाल १० स्थानीय तहले आर्थिक कारोबार सुरु नगरेको कोष तथा लेखा नियन्त्रण कार्यालय सप्तरीको तथ्यांक छ । राजविराज, शम्भुनाथ, कञ्चनरूप, खडक नगरपालिका, अग्निसाइर कृष्णासवरण, तिलाठीकोइलाडी, छिन्नमस्ता, तिरुहुत, बलानबिहुल, विष्णुपुर गाउँपालिकाले आर्थिक कारोबार सुरु गरेका छैनन् ।
बिहीबार डाक्नेश्वरी र सुरुंगा नगरपालिकाको निकासाको प्रक्रिया भइरहेकोसहित आठवटा पालिकाले आर्थिक कारोबार सुरु गरेको कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख इन्द्रबहादुर लुंगेलीले बताए । सप्तकोशी, बोदेवरसाइन, हनुमाननगर कंकालिनी नगरपालिका, महादेवा, राजगढ र रुपनी गाउँपालिकाले आर्थिक कारोबार सुरु गरेका छन् । आर्थिक कारोबार सुरु नभएका पालिकामा दसैँमा समेत कर्मचारीलाई तलब दिने अवस्था नरहेपछि उनीहरू निराश भएका छन् ।