आफैँले चलाएको गाडी दुर्घटना हुँदा उदयपुरको लिम्चुङबुङ गाउँपालिकाका उपाध्यक्ष घाइते भएका छन् । शुक्रबार लिम्चुङबुङ गाउँपालिका– ४ को बाँझा गाउँमा दुर्घटना हुँदा पालिका उपाध्यक्ष पुष्पलाल राई घाइते भएको प्रमुख प्रशासकीय अधिकृत सन्देश राईले जानकारी दिए ।
उनका अनुसार बा.१ झ ९२८२ नम्वर गाडी दुर्घटना भएको हो । प्रमुख प्रशासकीय अधिकृत राई भन्छन्, ‘उहाँले अलिअलि कुदाएको देखेको छु । उहाँ (उपाध्यक्ष राई)ले चलाएको गाडी दुर्घटना भएको हो ।’
उपाध्यक्ष राई सवार गाडीमा अन्य दुईजना पनि थिए । तर, दुईजना सकुशल भएको र उपाध्यक्ष मात्र घाइते भएको प्रमुख प्रशासकीय अधिकृत राईको भनाइ छ । उनले भने, ‘घाइते उपाध्यक्ष स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचारपछि आराम गरिरहनुभएको छ ।’
यता दुर्घटनामा घाइते भएका उपाध्यक्ष राईले पालिकामा अध्यक्ष र उपाध्यक्षका लागि दुईवटा गाडी भएको र आफ्नो गाडीचालक नभएको कारण आफैँले चलाउनुपरेको बताए । उनले भने, ‘पालिकाकै काममा गएको थिएँ । मेरो गाडीको चालक छैनन् । म आफैँ चलाउँथेँ। आज एक्कासि ब्रेक फेल भयो । स्टेयरिङ लक भयो । विद्युतको पोलमा ठोकिँदा सामान्य घाइते भएको छु ।’