सिआइबी पुगेर गृहमन्त्री अर्यालले भने– राजनीतिक कनेक्सनका आधारमा रोकिएका अनुसन्धानमा ब्रेकथ्रु हुन्छ (भिडियोसहित)

शुक्रबार, १० असोज, २०८२
डिजिटल संस्करण

गृहमन्त्री ओमप्रकाश अर्यालले राजनीतिक कनेक्सनका आधारमा रोकिएका अनुसन्धानको ब्रेकथ्रु हुने बताएका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) पुगेर शुक्रबार ब्रिफिङ लिँदै राजनीतिक कनेक्सनका आधारमा सुशासनमा भएको अवरोध खुल्ने बताएका हुन् ।  

‘राजनीतिक कनेक्सनका आधारमा सुशासनमा जसरी अवरोध आयो, विगतमा कतिपय अपराध अनुसन्धानमा, कतिपय वित्तीय अपराध अनुसन्धान, भ्रष्टाचारका विषयवस्तुमा जुन खालको अवरोध आइरहेको थियो, त्यो अवरोध हामीले अब फुकाउनुपर्छ भन्ने मेरो अपेक्षा छ, सोहीअनुसार मैले निर्देशन दिएको छु,’ निर्देशनपछि पत्रकारहरूसँग उनले बताए । 

अनुसन्धान गर्ने निकायले आफ्नो व्यावसायिकता प्रदर्शन गरेर कामलाई अगाडि बढाउनुपर्ने  र रोकिएका कुनै विषयवस्तु छन् भन्ने त्यसलाई तुरुन्त अघि बढाउनुपर्ने उनको भनाइ छ । 

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान गरेका एआइजी मनोज केसीलाई सिआइबीमा ल्याएपछि त्यो प्रकरणको  फाइल फेरि खुल्छ ? भन्ने पत्रकारको जिज्ञासामा गृहमन्त्री अर्यालले भने, ‘यहाँ धेरै विषयवस्तुहरू छन्, एउटा विषयमा मात्र मैले निर्देशन दिने र अपेक्षा राख्ने हुँदैन, सुशासनका लागि एउटा विषयलाई मात्र ध्यान दिएर हुँदैन, समग्र विषयमा ध्यान दिनुपर्छ । रोकिएका सबै फाइलको ब्रेकथ्रु हुन्छ। तपाईंले जे देख्नुभएको छ विगतमा पोलिटिकल कनेक्सनको आधारमा जे कुराहरू रोकिएको थियो, अब त्यस्तो हुँदैन, यो सरकारको म्यान्डेट नै सुशासन हो, सुशासन नभएसम्म शान्तिसुरक्षा हुँदैन, शान्तिसुरक्षा भएन भने ६ महिनाभित्र इलेक्सन गर्न सकिँदैन। त्यसकारण सुशासन त हामीले दिनैपर्छ ।’ 

गृहमन्त्री अर्यालले सिआइबीपछि जिल्ला प्रहरी परिसर, काठमाडौं पुगेर ब्रिफिङ लिई निर्देशन दिएका हुन्। 
 

सुझावित समाचार