काठमाडौं म्याराथनमा पाँच हजार धावक सहभागी हुने

शुक्रबार, १० असोज, २०८२
डिजिटल संस्करण

नेपालकै चर्चित काठमाडौं म्याराथन प्रतियोगितामा पाँच हजार धावक सहभागी हुने भएका छन् । १७औँ संस्करणको दौड आगामी १ नोभेम्बरमा हुने आयोजक एनआरएस स्पोर्टस् फाउन्डेसनका अध्यक्ष नीलेन्द्रराज श्रेष्ठले जानकारी दिएका छन् ।

श्रेष्ठका अनुसार दौड दशरथ रंगशालाबाट सुरु भएर चार सहर परिक्रम हुनेछ । ‘यसपटक १३ विधामा करिब पाँच हजार धावक सहभागी हुने अपेक्षा गरेका छौँ,’ उनले भने, ‘दुई सय विदेशी उल्लेखनीय रूपमा सहभागी हुनेछन् ।’ सिद्धार्थ बैंक मुख्य प्रायोजक रहेको काठमाडौं म्याराथनले खेल पर्यटन प्रवद्र्धन र नेपाली धावकलाई अन्तर्राष्ट्रियस्तरमा अघि बढाउने लक्ष्य राखेको अध्यक्ष श्रेष्ठले बताए । 

काठमाडौं, भक्तपुर, ललितपुर र ठिमी परिक्रमा गरेर सकिनेछ । यसपटक चार वर्षदेखि ७० वर्षमाथिका उमेरसम्मलाई लक्षित दौड आयोजना गरिएको श्रेष्ठले बताए । ‘हामीले सबै उमेर समूह र पेसाकर्मीलाई एउटै मञ्चमा ल्याउने लक्ष्य बनाएका छौँ,’ उनले भने, ‘यो कार्य काठमाडौं म्याराथनमा पूरा हुनेछ । काठमाडौं म्याराथनले स्वास्थ्यप्रति जागरण ल्याउने, खेल पर्यटन प्रवर्धन तथा नेपाली धावकलाई अन्तर्राष्ट्रिय स्तरमा अघि बढाउन महत्वपूर्ण प्लाटपर्म प्रदान गर्दै आइरहेको छ ।’ 

सन् २००७ मा एनआरएन काठमाडौं इन्टरनेसनल म्याराथनको नामबाट दौड सुरु भएको हो । ‘हामीले निरन्तर रूपमा म्याराथन आयोजना गर्दै आइरहेका छौँ । यो आफैँमा एउटा सफलता हो,’ अध्यक्ष श्रेष्ठले भने, ‘पहिलो संस्करणमा महिला र पुरुषका विजेतालाई १०–१० हजार अमेरिकी डलर पुरस्कार दिएको थियो ।’ नेपालकै ठुलो म्याराथन कोभिडको समय मात्र आयोजना भएन । यसबाहेक दौडले निरन्तर पाएको छ । यसैबिच सिद्धार्थ बैंकका सिएमओ सुरेशराज महर्जनले काठमाडौं म्याराथनसँग जोडिन पाउँदा खुसी जनाए । नेपाल पर्यटन बोर्डका निर्देशक सुनील शर्माले खेलकुद र पर्यटन जोडेर अघि बढ्न सके धेरै फाइदा हुने बताए । 

सुझावित समाचार