ताप्लेजुङको दुर्गम ग्रामीण भेगका १२ जना विद्यार्थीले उच्च शिक्षा अध्ययनका लागि ‘जर्ज बैण्ड मेमोरियल उच्च शिक्षा छात्रवृत्ति’ प्राप्त गरेका छन् ।
ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र (रिड नेपाल)ले फक्ताङलुङ र सिरिजङ्घा गाउँपालिकाका विभिन्न माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई उक्त छात्रवृत्ति प्रदान गरेको हो ।
शैक्षिक सत्र ०८२ का लागि पहिलो वर्ष कुल पाँच लाख ८८ हजार बराबरको छात्रवृत्ति वितरण गरिएको रिड नेपालले जनाएको छ । छात्रवृत्तिमा प्राविधिक, विज्ञान, शिक्षा तथा मानविकी र व्यवस्थापन संकायका विद्यार्थीहरू समावेश गरिएको रिड नेपालका जिल्ला प्रमुख राजेन्द्र पन्तले जानकारी दिए ।
जर्ज बैण्ड मेमोरियल छात्रवृत्ति कार्यक्रम सन् १९५५ मा कञ्चनजंघा हिमाल आरोहण गर्ने पहिलो व्यक्ति जर्ज बैण्डको सम्झनामा सुरु गरिएको हो । यस कार्यक्रमलाई यो वर्ष फक्ताङलुङ गाउँपालिकाको वडा नम्बर १, २ र ३ मा समेत विस्तार गरिएको छ । रिड नेपालका जिल्ला प्रमुख पन्तले हालसम्म १०६ विद्यार्थी उक्त छात्रवृत्ति कार्यक्रमबाट लाभान्वित भइसकेको बताए ।
सन् २०१० देखि सुरु गरिएको यस छात्रवृत्ति कार्यक्रमअन्तर्गत रिड नेपालले करिब ८८ लाख रुपैयाँ बराबरको सहयोग स्थानीय विद्यार्थीहरूलाई प्रदान गरिसकेको छ ।
छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरूसँग लेखित सम्झौता समेत गरिएको छ, जसअनुसार उनीहरूले अध्ययनपश्चात कम्तीमा दुई महिना आफ्नै समुदायमा वा विद्यालयमा स्वयंसेवाका रूपमा काम गर्नुपर्ने छ । साथै, विद्यार्थीको शैक्षिक प्रगतिअनुसार थप सहयोगको व्यवस्था पनि गरिएको छ ।
रिड नेपालले हिमालयन ट्रस्ट युकेको आर्थिक सहयोगमा शिक्षा विकास तथा समन्वय इकाइ ताप्लेजुङ र स्थानीय सरकारसँग सहकार्य गरी शिक्षक तालिम, शैक्षिक सामाग्री सहयोग, विज्ञान प्रयोगशाला, पुस्तकालय, खानेपानी, शौचालय र विद्यालय भवन निर्माणजस्ता कार्यक्रम सञ्चालन गरिरहेको छ । गत वर्षभन्दा यसवर्ष छात्रवृत्ति कोटा दोब्बर वृद्धि भई ७ बाट १२ पु¥याइएको छ ।