सातवटा ‘रोक्न नसकिने खालको’ युद्ध रोकेको ट्रम्पको दाबी

बिहिबार, ९ असोज, २०८२
डिजिटल संस्करण

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्र संघको महासभामा सम्बोधन गर्ने क्रममा सत्ता सम्हालेयता सातवटा युद्ध रोकेको दाबी गरेका छन् । मंगलबारको सम्बोधन दोस्रो कार्यकाल सम्हालेपछि ट्रम्पको पहिलो सम्बोधन हो ।ट्रम्पले संयुक्त राष्ट्र संघमा भेला भएका विश्व नेतालाई सम्बोधन गर्दै पछिल्लो सात महिनाको अवधिमा ‘सात रोक्न नसकिने खाले’ युद्धहरू समाप्त गरेको बताएका थिए ।

‘सात महिनामा मैले सात रोक्न नसकिने खालका युद्ध अन्त्य गरेँ । केही ३१ वर्षदेखि चलिरहेका थिए । अर्को एउटा युद्ध ३६ वर्षदेखि जारी थियो । र, ती युद्ध अनगिन्ती मानिसको हत्यापछि पनि रोकिने अवस्था थिएन, ती थिए, कम्बोडिया–थाइल्यान्ड, कोसोभो–सर्बिया, कंगो–रुवान्डा, पाकिस्तान–भारत, इजरायल–इरान, इजिप्ट–इथियोपिया, आर्मेनिया–अजरबैजान,’ ट्रम्पले भने । 

भारतको पहलगाममा आतंकवादी हमलामा २६ जना सर्वसाधारणको मृत्यु भएपछि इस्लामाबाद र दिल्लीबिच तनाव उत्पन्न भएको थियो । भारतले ‘अप्रेसन सिन्दूर’मार्फत पाकिस्तानभित्र रहेका आतंकवादी आधारमा प्रतिशोधात्मक हमला गरेपछि तनाव निक्कै चुलियो । दुई आणविक अस्त्र भएका देश एक–अर्कामाथि मिसाइल हान्ने अवस्थामा पुगे । चार दिनको द्वन्द्व अचानक युद्धविरामपछि रोकिएको थियो । भारतले युद्धविराममा कुनै तेस्रो पक्षले सहयोग रहेको अस्वीकार गर्दै आएको छ ।

सम्बोधनमा ट्रम्पले संयुक्त राष्ट्र संघले युद्ध रोक्न खासै भूमिका ननिभाएको पनि बताए । ‘संयुक्त राष्ट्र संघको उद्देश्य के हो ? तिनीहरूले गर्ने भनेको कठोर शब्दमा पत्र लेख्नु र पत्रमा लेखिएको कुरा कहिल्यै नपछ्याउनु मात्र देखिन्छ । यस्ता खोक्रा शब्दले युद्ध रोक्दैनन्,’ ट्रम्पले भने । ट्रम्पले आफ्नो नाम केहीले नोबेल शान्ति पुरस्कारका लागि सिफारिस गरेको भए पनि ‘वास्तविक पुरस्कार लाखौँको जीवन बचाउनु’ रहेको बताए । त्यस्तै उनले भारत र चीनलाई रुसी तेल खरिद जारी राखेर युक्रेन युद्धमा रुसलाई सघाएको आरोप लगाए । 

See More On

सुझावित समाचार