दसैँ मनाउन भारतबाट स्वदेश फर्किरहेका नेपालीले सीमानाकामा सास्ती खेपिरहेका छन् । भारतीय सीमा सुरक्षा अधिकारीले गौरीफन्टा नाकामा चेकजाँचमा कडाइ गरेपछि घर फर्किने नेपाली नाका पार गर्न घण्टौँ लाइनमा बस्न बाध्य छन् । भारतीय भन्सार कर्मचारी र सुरक्षाकर्मीले सामान ल्याएको बहानामा नेपालीसँग पैसासमेत असुलिरहेका छन् ।
गत २३ र २४ भदौमा भएको जेन–जी आन्दोलनका क्रममा नेपालका विभिन्न कारागारबाट ठुलो संख्यामा कैदीबन्दी फरार भएपछि भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले चेकजाँचमा कडाइ गरेको हो । एसएसबीले यो नाका भएर भारत जाने र आउने प्रत्येकको परिचयपत्र हेर्नुका साथै सामान जाँच गर्ने गरेको छ ।
नाकामा लाइन लगाएर चेकजाँच गर्न थालिएपछि नाका पार गर्न तीन घण्टाभन्दा बढी समय लाग्ने गरेको गुनासो घर फर्किरहेका नेपालीले गरेका छन् । भारतको बेंग्लोरबाट घर फर्कन लागेका बझाङको थलारा गाउँपालिका– २, दंगाजीका प्रकाश खातीले नाका पार गर्न निकै सास्ती खेप्नुपरेको गुनासो गरे । श्रीमती र दुई नाबालक छोरीसँगै चार वर्षपछि दसैँ मनाउन घर फर्कन लागेका उनले नाकावारि आइपुग्न तीन घण्टा लाइन लागेको बताए ।
‘बिहान ८ बजे गौरीफन्टा पुगेका थियौँ, लाइन लागेर वारि आउन ११ बज्यो,’ उनले भने, ‘यस्तो चर्को घाममा घण्टौँ लाइन लाग्न निकै सास्ती भयो ।’ एसएसबीले परिचयपत्र मागेको र सामान चेक गरेको उनले बताए । गौरीफन्टा र नेपालतर्फ त्रिनगर नाका जोडिएकाले सामान्यतया वारपार गर्न समय लाग्दैन ।
भारतको दिल्लीबाट फर्किएकी कैलालीको लम्कीचुहा नगरपालिकाकी धिरजा न्यौपानेले नाका पार गर्न दुई वर्षीय छोरा काखी च्यापेर साढे दुई घण्टा लाइन बस्नुपर्यो । मंगलबार बिहान नाकावारि उनी आफ्ना श्रीमान्को पर्खाइमा थिइन् । ‘लाइनमा सँगसँगै थियौँ, उहाँ सामान चेक गराउँदै हुनुहुन्छ,’ उनले भनिन्, ‘नाका पार गर्न धेरै गाह्रो रहेछ ।’ न्यौपानेका अनुसार उनका श्रीमान् दिल्लीको एक होटेलमा काम गर्छन् ।
कारागारबाट भागेका कैदीबन्दी आउन सक्ने भन्दै आन्दोलनपछि केही दिन यो नाकाबाट नेपालीलाई भारत जान रोक लगाइएको थियो । अहिले आवातजावत खुलाइए पनि एसएसबीले चेकजाँचमा कडाइ गरेको छ । रोजगारीको सिलसिलामा भारतमा रहेका नेपाली दसैँ सुरु भएसँगै घर फर्कन थालेका हुन् । नाकामा घर फर्कनेको भिड लागेको छ ।
भारतीय प्रहरी र भन्सार कर्मचारीले सामान चेकजाँचका नाममा पैसा असुलिरहेको गुनासो घर फर्किरहेका नेपालीले गरेका छन् । काम गरेर आउनेले केही न केही सामान ल्याएका हुन्छन् । त्यही सामान ल्याएको बहानामा फर्किएका अधिकांशसँग पैसा असुल्ने गरिएको बताइएको छ ।
बेंग्लोरबाट फर्किएका कैलालीको मसुरियाका प्रकाश विकले सामान ल्याएबापत भारतीय प्रहरीले तीन सय भारु असुलेको बताए । ‘त्यहाँ प्रयोग गरेको टिभी ल्याएको थिएँ । केही लत्ताकपडा र अरू सामान थिए,’ उनले भने, ‘तीन सय रुपैयाँ मागे । पैसा नदिए सामान राखिदेलान् भन्ने लाग्यो ।’
बेंग्लोरबाटै आएका बाजुराको खप्तड छेडेदह गाउँपालिका काँडाका लोकेन्द्र रावतले गौरीफन्टामा भारतीय सुरक्षाकर्मीलाई दुई सय भारु बुझाएको बताए । रावतका अनुसार उनीसँग रहेको दुईवटा सुटकेस हेरेपछि भारतीय सुरक्षाकर्मीले दुई सय मागेका थिए । रोकेर राखिदेलान् भन्ने डरले पैसा दिएर आएको उनले बताए । ‘सुटकेस हेरेर पैसा लाग्छ भन्यो । अर्काको देश, पैसा दिँदैन भनेर विवाद गर्न सकिएन,’ उनले भने, ‘मसँगै लाइनमा रहेका धेरैले पैसा दिए । केही पैसा नदिएर सरासर निस्के पनि ।’
त्रिनगर नाकामा खटिएका एक प्रहरीका अनुसार घर फर्किरहेका धेरैजसो नेपालीसँग भारतीय सुरक्षाकर्मीले पैसा असुलिरहेका छन् । एसएसबीले भने चेकजाँच मात्र गर्ने गरेको उनले बताए । ‘चाडपर्वका वेला सधैँ यस्तै हो, विभिन्न बहानामा पैसा असुल्छन्,’ ती प्रहरीले भने, ‘हामी पारि गएर पैसा नलिनु भन्न पनि सक्दैनौँ ।’ घर फर्कनेलाई वारि रिक्साचालकले पनि चौराहा, बसपार्कसम्म पुर्याएको मनपरी भाडा असुल्ने गरेका छन् ।
चाडबाडका वेला घर फर्कने नेपालीको घुइँचो लाग्न थालेपछि नाकामा सशस्त्र र नेपाल प्रहरीको सहायता कक्ष स्थापना गरिएको छ । पैसा असुलेको गुनासो भने सहायता कक्षमा नआएको सशस्त्र प्रहरी ३४ नम्बर गण धनगढीका सशस्त्र प्रहरी नायब उपरीक्षक जनकराज पन्तले बताए । पैसा असुलेको गुनासो आए भारतीय सुरक्षा अधिकारीहरूसँग समन्वय गरिने उनले बताए । ‘पारि पैसा असुल्ने गरेको गुनासो अहिले आएको छैन । गुनासो आए समन्वय गर्छौँ,’ पन्तले भने ।