नेप्सेसँगै कारोबार रकममा गिरावट

बुधबार, ८ असोज, २०८२
डिजिटल संस्करण

बुधबार नेप्से परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ। मंगलबार ५८ अंकले बढेको नेप्से बुधबार २७.८९ अंकले घटेर दुई हजार ६५४.३५ विन्दुमा कायम भएको हो।

आज ‘क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि १.०७ प्रतिशतले गिरावट भएको छ। ३१७ कम्पनीका ९४ लाख आठ हजार ६६३ कित्ता सेयर चार अर्ब १२ करोड ४८ लाख २१ हजार रुपैयाँबराबरमा कारोबार भएको छ। 

नेप्सेका १३ मध्ये ११ समूहको सूचकमा गिरावट देखिएको छ। होटेल तथा पर्यटन र म्युचल फन्ड एक प्रतिशतभन्दा थोरैले उकालो लाग्दा बाँकी समूह घटेका हुन्। अन्य समूह सर्वाधिक २.१६ प्रतिशतले घट्दा विकास बैंक, वित्त, लगानी, निर्जीवन बिमा र व्यापार समूह एक प्रतिशतभन्दा धेरैले घटेका छन्।

नेप्से घटे पनि आज माथिल्लो मैलुङ खोला जलविद्युत् र सिटी होटेलको सेयरमा सकारात्मक सर्किट लागेको छ। हिमस्टार ऊर्जा कम्पनीका लगानीकर्ताले पनि ९.९९ प्रतिशतको वृद्धि देखेका छन्।

यता, उन्नति सहकार्य लघुवित्त, राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन र बुटवल पावर कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन्। यी कम्पनीको सेयर मूल्य क्रमशः ५.३८, ४.६३ र ४ प्रतिशतले घटेका छन्।

सुझावित समाचार