प्रहरीले काठमाडौं उपत्यकाभित्र चाडपर्वलक्षित विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ । दसैँको घटस्थापनादेखि सुरु गरिएको सुरक्षा योजना छठ पर्वसम्म कायम हुनेछ । काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुुसार पर्वलक्षित सुरक्षा योजनाका लागि मात्रै ६ हजार १०६ प्रहरी परिचालित हुनेछन् ।
उनीहरूलाई उपत्यकाभित्र खटाइएका आठ एसपीले नेतृत्व गर्नेछन् । जेन–जी आन्दोलनका क्रममा बिग्रिएको सुरक्षा व्यवस्था मजबुत पार्ने उद्देश्यले उपत्यका प्रहरी कार्यालयले उपत्यकालाई आठ सेक्टरमा विभाजन गरी आठ एसपी परिचालन गरेको हो । पर्वलक्षित सुरक्षा योजनाको फिल्ड कमान्ड उनीहरूले नै गर्नेछन् । सेक्टरवाइज खटिएका एसपी भने सम्बन्धित जिल्ला प्रहरी परिसर प्रमुखको नेतृत्वमातहत रहनेछन् ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी शेखर खनालले उपत्यकाभित्र पर्वलक्षित सुरक्षा योजना कार्यान्वयनमा आएको र जसको फिल्ड नेतृत्व आठ एसपीले गर्ने बताए । उनले भने, ‘काठमाडौं उपत्यकाभित्र पर्वलक्षित सुरक्षा योजना कार्यान्वयनमा आएको छ । यो योजना छठ पर्वसम्म कार्यान्वयनमा रहनेछ । यसका लागि ६ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । उनीहरूको कमान्ड सेक्टरवाइज खटिएका एसपीहरूले गर्नेछन् ।’
उपत्यका प्रहरी कार्यालयले गत २९ भदौमा एसपीहरू पवन भट्टराई, दीपक श्रेष्ठ, कविता कटुवाल, रामेश्वर पौडेल, रुगम कुँवर, डिबी मल्ल, केशव भट्टराई र बालनरसिंह राणालाई खटाएको थियो । उनीहरूको माहतमा उपत्यकाभित्रका सम्बन्धित प्रहरी वृत्त रहनेछन् । वृत्तमातहत सिआरभी (कन्ट्रोल रुम भेहिकल), क्युआरटी (क्विक रेस्पोन्स टिम), पैदल गस्ती, साइकल गस्ती परिचालन हुनेछन् ।
उपत्यकाका सबै नाकामा ‘डग स्निपिङ’मार्फत चेकजाँज सुरु भइसकेको छ । विशेषगरी उपत्यका भित्रिने र बाहिरिने सवारीसाधनको चेकजाँच ‘डक स्निपिङ’मार्फत हुनेछ । ठुला व्यापारिक कम्प्लेक्स, मल, बैंक, सुनचाँदी पसल सुरक्षाका लागि सादा पोसाकका सुरक्षाकर्मी परिचालन गरिएका छन् । प्रहरीका अनुसार आर्थिक कारोबार धेरै हुने संवेदनशील मानिएको क्षेत्र सुरक्षामा ड्रोन पनि परिचालन गरिएको छ ।
कार्यालयका प्रवक्ता एसएसपी खनालले भने, ‘नाकाहरूमा ‘डग स्निपिङ’ टोली खटिएका छन् । यसले नाका सुरक्षालाई बजबुत बनाउनेछ । भित्री सहर सुरक्षाका लागि भने सिआरभी, क्युआरटी, पैदल गस्ती, साइकल गस्ती परिचालन गरिएको छ । सादा पोसाकका सुरक्षाकर्मी पनि परिचालन गरिएका छन् । त्यसबाहेक संवेदनशील मानिएका क्षेत्रमा ड्रोनमार्फत निगरानी गरिरहेका छौँ ।’
पर्वलक्षित आवागमनलाई व्यवस्थित गर्न ट्राफिक प्रहरीले बसपार्क क्षेत्रमा विशेष सहायता कक्ष स्थापना गरेको छ । सहायता कक्षले टिकटमा हुने कालोबजारी, क्षमताभन्दा धेरै यात्रु नियन्त्रण, मापसे परीक्षणलगायत काम गर्नेछ । त्यसबाहेक ट्राफिक प्रहरीले उपत्यकाभित्र विभिन्न ७८ अस्थायी चेकप्वाइन्ट स्थापना गर्नेछ । जहाँबाट यात्रुवाहक बसको निगरानी हुनेछ ।
पर्वमा बढ्दो सुरक्षा चुनौती
सुन्धारास्थित केन्द्रीय कारागारको तथ्यांकअनुसार गत २४ भदौंमा फरारमध्ये करिब एक हजार तीन सय मात्रै कैदीबन्दी कारागार फिर्ता भएका छन् । बाँकी दुई हजार ४८ कैदीबन्दी अझै फरार छन् । तथ्यांकअनुसार फरारमध्ये भद्र जेलका ६ सय, महिला बन्दीगृहका २४८ र केन्द्रीय बन्दीगृहका एक हजार दुई छन् । यस्तै, ललितपुरको नक्खु कारागारबाट पनि फरारमध्ये सात सयजना कैदीबन्दी फर्किएका छैनन् ।
अन्य जिल्लाबाट फरार कैदीबन्दी लुक्ने ठाउँ पनि काठमाडौं उपत्यका नै हो । कारागार व्यवस्थापन विभागका अनुसार फरारमध्ये अधिकांश बलात्कार, लागुऔषध, कर्तव्य ज्यान, ठगी, चोरी र डकैत कसुरका छन् । जुन काठमाडौं उपत्यकाभित्र सुरक्षा चुनौतीको मुख्य कारण हो ।
प्रहरी हत्यामा संलग्न पक्राउ
२४ भदौको जेन–जी आन्दोलनका क्रममा प्रहरीलाई कुटीकुटी हत्या गर्ने घटनामा संलग्नमध्ये युवराज क्याप्छाकी मगरलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई प्रहरीले काभ्रेपलाञ्चोक जिल्लाबाट पक्राउ गरेको हो । कर्तव्य ज्यान कसुरअन्तर्गत उनीविरुद्ध अदालतबाट पाँच दिनको म्याद थप भएको छ । उनीसहितको टोलीले महाराजगन्जस्थित प्रहरी वृत्तमा कार्यरत असइ मिलन राय र जवान उत्तम थापाको हत्या गरेका थिए ।
जिल्ला प्रहरी परिसर काठमाडौंका डिएसपी पूर्णिमा चन्दले सुरक्षाकर्मी हत्यामा संलग्नमध्ये एक पक्राउ परेको बताइन् । उनले भनिन्, ‘गत २४ भदौका प्रदर्शनमा दुई सुरक्षाकर्मीको हत्या भयो । घटनामा संलग्नमध्ये एकजना पक्राउ परेका छन् । अन्यको खोजी भइरहेको छ ।’ सोही दिन प्रहरी प्रभाग कोटेश्वरका प्रहरी सहायक हवल्दार अमृत गुरुङको पनि कुटीकटी हत्या भएको थियो ।
आन्दोलनमा लुटिएका हतियार अझै फिर्ता भएनन्
२४ भदौको आन्दोलनका लुटिएका प्रहरीका कतिपय हतियार अझै फिर्ता भएका छैनन् । अपराधीले सोही हतियार प्रयोग गरी सम्भावित अर्को अपराध निम्त्याउन सक्छन् । अर्कोतर्फ प्रहरीका कार्यालय जलेका छन् । उनीहरू चढ्ने सवारीसाधन जलेका छन् । यस्तो वेला अपराध भए प्रहरी सम्बन्धित ठाउँमा तत्काल पुग्न सक्दैन ।
उपत्यकाभित्र अहिले देखिएको यो अर्को सुरक्षा चुनौती हो । उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी खनालले भने, ‘हो अहिले सुरक्षा चुनौती विगतको भन्दा धेरै छन् । हाम्रा कार्यालय जलेका छन् । सवारीसाधन ध्वस्त बनेका छन् । लुटिएका कतिपय हतियार अझै फिर्ता हुन सकेका छैनन् । त्यसमाथि जेलका कैदीबन्दी भागेका छन् । यिनै चुनौतीलाई विश्लेषण गरेर नै हामीले सुरक्षा योजना बनाएका हौँ । सीमित स्रोतसाधनका बाबजुद पनि अपराध न्यूनीकरण गर्न प्रहरीको अधिकतम प्रयास रहनेछ ।
एसएसपी शेखर खनाल, प्रवक्ता
काठमाडौं उपत्यका प्रहरी कार्यालय
काठमाडौं उपत्यकाभित्र पर्वलक्षित सुरक्षा योजना कार्यान्वयनमा आएको छ । यो योजना छठ पर्वसम्म कार्यान्वयनमा रहनेछ । यसका लागि ६ हजारभन्दा बढी सुरुक्षाकर्मी परिचालन गरिएको छ । उनीहरूको कमान्ड सेक्टरवाइज खटिएका एसपीहरूले गर्नेछन् ।