जेन–जी आन्दोलनले देशमा एउटा राजनीतिक तरंग ल्याएको छ । नेपालको राजनीतिक इतिहासमा शासकीय स्वरूप बदल्ने आन्दोलन निकै भए, तर जेन–जी आन्दोलन अलिक फरक छ । यसमा संरचनागत सुधारप्रति नभई शासकप्रतिको असन्तुष्टि देखिन्छ । सन् १९९७ देखि २०१२ बिच जन्मिएको पुस्ता विश्वसँग अलिक नजिक छ । तिनको सोच्ने शैली तुलनात्मक रूपमा भिन्न छ । एउटै व्यक्ति बारम्बार एउटै पदमा दोहोरिइरहँदा ती युवा वाक्कदिक्क भएका थिए । त्यसमाथि तिनै अलोकप्रिय अनुहार भ्रष्टाचारमा पनि पटक–पटक मुछिएकाले युवा निराश थिए ।
राजनीतिमा खासै चासो नराख्ने तर विज्ञान, प्रविधिको उपयोगले संसारसँग निरन्तर समन्वयमा रहिरहेको पुस्तामा हजुरबा पुस्ताले आस जगाउन सकेन । हजुरबा पुस्ताले जेन–जी पुस्ताको समस्या बुझ्न र निकास दिन सकेन या चाहेन । जसले बेरोजगार युवाको परिवर्तनको चाहनालाई निरन्तर कुठराघात गरिरह्यो । परिणामतः भ्रष्टाचार र बेथितिको प्रत्यक्ष सिकार भइरहेको यो पुस्ता चुप लागेर बस्न सकेन र आन्दोलनमा होमियो । स्थापित दलका शीर्ष नेतृत्व विशेषतः ०४६ देखि अहिलेसम्म अपवादबाहेक उनै छन् । यिनीहरूबाट उपलब्धिमूलक काम केही भएन । यिनले भ्रष्टाचारलाई प्रोत्साहन गरेर सत्ताको दुरुपयोग गरिरहे । जसले आजका युवालाई आजित बनायो । अहिलेको जेन–जी आन्दोलनको लक्ष्य नै नेतातन्त्र र भ्रष्टतन्त्रको अन्त्य थियो ।
२३ भदौको आन्दोलनको लहरसँगै देशैभरका जेन–जी युवा एकसाथ एउटै स्वर बोलिरहेका थिए । तर विडम्बना, राज्यले कलिला विद्यार्थीको निर्मम र क्रूर हत्या ग¥यो, जसको जति निन्दा गरे पनि कमै हुन्छ । तैपनि, त्यो सत्ताले हत्यापश्चात् पनि आफ्नो गल्ती स्विकारेन ।
जेन–जी पुस्तालाई यसले झनै उत्तेजित बनायो । फलस्वरूप २४ गतेको आन्दोलन झनै अनियन्त्रित भयो । जसले गर्दा सरकारी तथा निजी सम्पत्तिमाथि अकल्पनीय क्षति भयो । सिंहदरबारदेखि सर्वोच्च अदालत राजनीतिक दलका पार्टी कार्यालयदेखि नेताका घरसम्म ध्वस्त भए । आन्दोलनमा घुसपैठ भयो भनिए पनि जेन–जीको भ्रष्टाचार र नेतातन्त्रप्रति आक्रोश थियो यो । परिणामतः दलका शीर्ष नेता सेनाको सुरक्षा घेराभित्र बस्न बाध्य भए ।
आन्दोलनको सफलतापछि जेन–जी पुस्ताको प्रतिनिधिमार्फत प्रधानमन्त्री चयन गरी प्रतिनिधिसभा विघटन गरियो । यसले प्रत्यक्ष देखाउँछ कि जेन–जीले शासकीय स्वरूप परिवर्तन नभई व्यक्ति र व्यवहार परिवर्तन गर्न खोजेका हुन् । जेन–जी आफू कुनै पनि पदमा बस्न नचाहनुले योभन्दा स्वच्छ आन्दोलनको भावना अरू हुनै सक्दैन ।
यतिखेर स्थापित दलले संसद् विघटनको प्रतिरोधदेखि आफू सुध्रिने आश्वासनसमेत दिइरहेका छन् । तर, जेन–जीले पत्याइरहेका छैनन् । दलका युवा नेताले आफ्नो दल सच्चिने र आन्दोलनको भावनाअनुरूप अघि बढ्ने आश्वासन त दिएका छन् । तर विडम्बना, स्थापित दलका शीर्ष नेतालाई विस्थापित गर्ने जेन–जीको चाहना भने अझै पूरा भएको छैन ।
दलहरूमा नेतृत्व परिवर्तनको मुद्दा उठान भए पनि ठोस कदम भने चालिएको छैन । वा भनौँ, नेतृत्वले आफैँ राजीनामा दिइसकेको अवस्था छैन । यसको स्पष्ट सन्देश हो कि स्थापित दलका शीर्ष नेता अझै पनि आन्दोलनप्रति गम्भीर छैनन् । सबैले आआफ्नै नेतृत्वमा दल सञ्चालन गर्ने स्पष्ट सन्देश दिएको पाइयो । जेन–जी आन्दोलनले दल र उसको विचारप्रति आक्रोश देखाएन । जति पनि पार्टी कार्यालय तोडफोड र नेताका घरमा आगजनी भए, ती सबै निन्दनीय घटना भए पनि त्यसका दलका शीर्ष नेताको शासकीय रबैया नै मुख्य रूपमा जिम्मेवार देखिन्छ । जेन–जी आफू सरकारमा सहभागी हुन चाहन्न । उसको कुनै स्वार्थ पनि छैन । उसको एउटै मात्र स्वार्थ छ, आफ्नो भावनाअनुरूप दल र तिनको सरकारले काम गरिदियोस् । र, विद्यमान समस्या समाधान गर्दै जाओस् ।
यतिखेर न दलका युवा पुस्तामा नेतृत्वलाई विस्थापन गर्ने सामथ्र्य देखिन्छ, न हजुरबा पुस्ताले आफू हट्ने सन्देश नै दिन्छन् । जेन–जीको स्पष्ट सन्देश छ, लोकतान्त्रिक व्यवस्थामा दलहरूकै भूमिका सक्रिय हुन्छ, जति नै दलप्रति आक्रोश व्यक्त गरे पनि शासन गर्ने दल र तिनका प्रतिनिधिले नै हो । अझ नेपालको सन्दर्भमा यिनै स्थापित दलले नै हो । स्थापित दलका शीर्ष नेता विस्थापित नभएसम्म देशको राजनीति निरन्तर अस्थिर हुने र युवाको आक्रोश बढ्दै जानेमा सन्देह छैन । युवा पुस्ताको स्पष्ट सन्देश छ– हजुरबा पुस्तालाई सक्रिय राजनीतिबाट विस्थापित गरियोस्, तिनले गरेको भ्रष्टाचारबारे छानबिन होस्, युवा भावनाअनुरूप सत्ता अघि बढोस् ।
दुःखका साथ भन्नुपर्छ यति धेरै क्षति हुँदा समेत कुनै स्थापित दलका शीर्ष नेताले स्वतःस्फूर्त युवालाई मार्गप्रशस्त गर्ने कुनै पनि सन्देश दिइरहेका छैनन्, आन्दोलनलाई घुसपैठ र बाह्य शक्तिको ढाडस दिइरहेका छन्, जेन–जी पुस्तालाई राजनीतिप्रति वितृष्णा हुनुको मुख्य कारण शीर्ष दलका शीर्ष नेताहरूको अनुहार नै हो । जेन–जी पुस्ताले खासै राजनीतिप्रति चासो पनि लिएको थिएन । तर, उसले दुई दिन राजनीति गरिदिँदा युवा पुस्ता राजनीतिबाट अलग छैन भन्ने स्पष्ट सन्देश दिएको छ र नेतृत्वलाई बेजोड खबरदारी गरेको छ । सच्चिने या सकिने दुई विकल्पमा सीमित गरिदिएको छ ।
हालको अवस्थामा जेन–जी पुस्तासँग दुइटा विकल्प शेष छन्, अहिलेको अन्तरिम सरकारद्वारा भ्रष्टाचारको व्यापक छानबिन गरी निर्मूल पार्ने र आउने चुनावमार्फत राजनीतिमा अक्षम ठहरिएका अनुहारलाई लोकतान्त्रिक विधिमार्फत विस्थापित गराउने । मलाई लाग्छ, युवाले दुई दिनको आन्दोलनबाट भ्रष्टाचारी र शीर्ष नेतृत्वको मानसिकता जरैदेखि खल्बलिएको छ । अब एक दिन मतदानमार्फत योग्य सक्षम व्यक्तिलाई निर्वाचित गराऊँ । योग्य व्यक्ति अघि बढौँ र नेतृत्व लिन तयार होऔँ ।
(सुवेदी गण्डकी विश्वविद्यालयका नेविसंघ सभापति हुन्)