कांग्रेसमा विशेष महाधिवेशनको बहस : शेखर–गगन पक्षले थाल्यो हस्ताक्षर अभियान, संस्थापन पक्ष नियमित महाधिवेशनको पक्षमा

बुधबार, ८ असोज, २०८२
डिजिटल संस्करण

कांग्रेस केन्द्रीय कार्यसमितिको चारवर्षे कार्यकाल आगामी मंसिरमा सकिँदै छ । पार्टी विधानअनुसार नियमित महाधिवेशन मंसिरमा गर्नुपर्छ । तर, जेन–जी आन्दोलनमा पार्टी कार्यालय ध्वस्त भएको, अभिलेख जलेर नष्ट भएको र सदस्यताको विषय नटुंगिएको कारण देखाउँदै संस्थापन म्याद थप्ने दाउमा रहँदा इतर समूहले तत्काल विशेष महाधिवेशनका लागि दबाब बढाएको छ ।

संस्थापनइतर पक्षले हस्ताक्षर अभियान चलाएर संस्थापनमाथि दबाब बढाएको छ । काठमाडौंमा उपलब्ध १०९ महाधिवेशन प्रतिनिधिको हस्ताक्षर भइसकेको छ । बाँकीलाई पनि हस्ताक्षर गराउन फम्र्याट तयार हुँदै गरेको युवानेता गुरुराज घिमिरेले बताए । दसैँभर आवश्यक संख्या पुर्याएर विशेष महाधिवेशनका लागि लिखित आग्रह गर्ने उनको भनाइ छ ।

कांग्रेसको विधानअनुसार सभापति शेरबहादुर देउवा अब तेस्रो कार्यकालका लागि सभापतिको उम्मेदवार बन्न पाउँदैनन् । तर, विधानअनुसार नै म्याद थपेर थप एक वर्ष नेतृत्वमा रहन सक्छन् । कांग्रेस विधानले नै केन्द्रीय कार्यसमितिको म्याद एक वर्ष थप्ने अधिकार दिएको छ । यही व्यवस्थामा टेकेर संस्थापन पक्ष एक वर्ष म्याद थप्ने रणनीतिमा देखिँदा इतर समूहले विशेष महाधिवेशनमा जोड दिँदै हस्ताक्षर अभियानसमेत सुरु गरेको हो । 

कांग्रेस विधानमा केन्द्रीय सदस्यले नै विशेष महाधिवेशन बोलाउनुपर्ने व्यवस्था छ । तर, अहिले केन्द्रीय सदस्यहरूको हस्ताक्षर गराइएको छैन । कांग्रेस विधानको धारा १७ को उपधारा २ मा विशेष महाधिवेशनसम्बन्धी व्यवस्था छ । केन्द्रीय समिति वा महाधिवेशन प्रतिनिधिको ४० प्रतिशतले कारण खुलाएर विशेष महाधिवेशन बोलाउन सक्ने वैधानिक व्यवस्था छ । ‘केन्द्रीय कार्यसमितिले आवश्यक ठानेमा वा केन्द्रीय महाधिवेशनका ४० प्रतिशत सदस्यले केन्द्रीय महाधिवेशनको बैठक बोलाउन विशेष कारण खुलाई केन्द्रसमक्ष लिखित अनुरोध गरेमा निवेदन परेको तीन महिनाभित्रमा विशेष केन्द्र्रीय महाधिवेशन बोलाउनुपर्नेछ,’ विधानमा छ ।

४० प्रतिशत प्रतिनिधिको हस्ताक्षरसहित लिखित अनुरोध गरे केन्द्रीय समितिले तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने हुन्छ । ०७८ मंसिरमा भएको १४औँ महाधिवेशनमा चार हजार ७४३ जना प्रतिनिधि थिए । त्यसको ४० प्रतिशत अर्थात् एक हजार ८९८ जनाले हस्ताक्षर गर्नुपर्छ । जेन–जी आन्दोलनपछि गत शुक्रबार बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकमा महामन्त्री गगन थापाले विकसित परिस्थितिमा विशेष महाधिवेशन गरेर जानुपर्ने प्रस्ताव राखेका थिए । 
संस्थापन पक्ष भने परिस्थिति सम्हालिएपछि नियमित महाधिवेशन गर्ने पक्षमा छ । कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महत कार्यसम्पादन समितिको निर्णयभन्दा बाहिरबाट थालिएको छलफलले राम्रो नगर्ने बताए । 

विश्लेषकका ६ सुझाव
गेजा शर्मा वाग्ले, राजनीतिक विश्लेषक

पहिलो, हालसम्मको असफलताको नैतिक जिम्मेवारी लिएर सभापतिले जनभावनाअनुसार अविलम्ब राजीनामा गरी राजनीतिबाट स्वेच्छिक अवकाश लिनुपर्छ र एकदेखि दुई महिनाभित्र कांग्रेसको विशेष महाधिवेशन गर्नुपर्छ । दोस्रो, समग्र जनता र विशेषगरी युवा पुस्ताले समेत विश्वास गरेको लोकप्रिय, भिजनरी र स्वच्छ छवि भएको नेतृत्व छनोट गर्नुपर्छ ।

जेन–जीको जनविद्रोहपछि आत्मसमीक्षा, आत्मचिन्तन र आत्मालोचना गरी क्षमायाचनासहित महामन्त्री गगन थापाजीले प्रकाशित गरेका सार्वजनिक धारणा र विज्ञप्तिका आधारमा विश्लेषण गर्दा विगतका गल्ती तथा कमी–कमजोरीलाई अन्तरआत्मादेखि नै रियलाइज गर्दै नयाँ कांग्रेस बनाउने संकल्प गरेको देखिन्छ । यसैगरी, राजनीतिक जोखिम लिएर भए पनि गगनजीले पार्टीमा रियल टाइम इन्टरभेन्सन गर्न खोजेको देखिन्छ । उहाँको यस्तो प्रयास, पहल र संकल्पप्रति केवल कांग्रेसजन मात्रै होइन, जनता र जेन–जी पुस्तासमेत सकारात्मक भएको देखिन्छ र उहाँप्रति विश्वास र भरोसा बढ्दै गएको देखिन्छ । गगनजी र विश्वजीको यसबारेमा समान दृष्टिकोण छ । त्यसैले अब गगनजीको नेतृत्वमा कांग्रेस पुनर्गठन र रूपान्तरण गर्नु सबैभन्दा उत्तम विकल्प हुनेछ ।

तेस्रो, विशेष महाधिवेशनबाट केवल नयाँ नेतृत्व मात्रै होइन, परिवर्तित परिवेशमा पार्टीलाई मौलिक रूपमा पुनर्गठन गरी जनताको आकांक्षाअनुसार नयाँ सिद्धान्त, विचार र नयाँ नीति अंगीकार गर्नुपर्छ । किनभने कांग्रेसले हालसम्म अंगीकार गर्दै आएको सिद्धान्त र विचार पनि समयानुकूल परिमार्जन, व्याख्या र पुनव्र्याख्या गर्नु अपरिहार्य छ ।

चौथो, अत्यन्त भीमकाय, भद्दा र अनावश्यक अस्थिपञ्जरजस्ता संरचना छन् । तर, सिद्धान्त, नीति र आत्मा छैन ।नागरिकमुखी, कार्यमूलक र उत्तरदायी चुस्त संरचना र कार्यप्रणाली स्थापित गर्नु अपरिहार्य छ । अब कम्युनिस्टजस्तो क्याडर बेस्ड होइन, पूर्ण रूपमा मास बेस्ड पार्टी हुनुपर्छ र क्रियाशील र साधारण गरी हाल प्रचलित दुई सदस्यता प्रणाली होइन, एकल सदस्यता प्रणाली हुनुपर्छ ।

पाँचौँ, कर्मचारी, प्राध्यापक, शिक्षक, चिकित्सक, वकिल, पत्रकारिताजस्ता गैरराजनीतिक र व्यावसायिक क्षेत्रलाई समेत भ्रातृ तथा शुभेच्छुक संस्थाको नाममा पार्टीकरण गर्दै आइएको छ । यो तहको राजनीतिक हस्तक्षेप र पार्टीकरण लोकतान्त्रिक प्रणालीको मूल्य–मान्यता र अभ्यासविपरीत हो । त्यसैले यस्तो क्षेत्रका भ्रातृ तथा शुभेच्छुक संस्था खारेज गर्नुपर्छ । यसैगरी युवा, विद्यार्थी, महिला, मजदुर, आदिवासी–जनजाति, दलितबाहेकका भ्रातृ संस्थाहरूबारे समेत पुनर्विचार गरी खारेज गर्नुपर्छ ।

छैटौँ, पुस्तान्तरणसहितको भिजनरी र लोकप्रिय नेतृत्व तथा नयाँ भिजन नै कांग्रेस पुनर्गठनको मार्गचित्र एक मात्र हो । होइन भने यथास्थितिमा अब कांग्रेसको भविष्य मात्रै अन्धकार होइन, पार्टीको औचित्य नै समाप्त हुन सक्छ । तर, कांग्रेसलाई पुनर्गठन र रूपान्तरण गर्ने यो अन्तिम अवसर हो भने गगन–विश्व पुस्ताको अन्तिम परीक्षा हो । अब गगन–विश्वलाई विगतमा जस्तो असफल हुने छुट छैन । यदि उनीहरू यसपटक पनि असफल भए भने उनीहरूले अर्को परीक्षा दिने अवसरसमेत पाउनेछैनन् ।

विशेष महाधिवेशनका लागि कोजाग्रत पूर्णिमाआसपास लिखित प्रस्ताव दर्ता गर्छौँ
गुरुराज घिमिरे, इतर पक्षका नेता

मुलुकको विषम राजनीतिक परिस्थितिका कारण पार्टीमा पनि विशेष परिस्थिति उत्पन्न भयो । नियमित महाधिवेशनको कुनै छाँटकाँट छैन । पार्टीका अभिलेख खरानी भएका छन् । पार्टी केन्द्रीय कार्यालय ध्वस्त भएको छ । जिल्ला–जिल्लाको अवस्था पनि त्यस्तै छ । वडा कार्यालयसमेत जलेको अवस्था छ । यस्तो वेला आगामी मंसिरमा नियमित महाधिवेशन हुने सम्भावना छैन । त्यसैले विशेष महाधिवेशनका लागि आह्वान गरेका छौँ । साथीहरू उत्साहित हुनुहुन्छ । कोजाग्रत पूर्णिमाआसपास लिखित प्रस्ताव दर्ता गर्छौँ ।

 पार्टी विधानअनुसार नै चल्छ,कसैले सडकबाट भन्दैमा हुँदैन
डा. प्रकाशशरण महत, कांग्रेस प्रवक्ता

अभिभावकमाथि सांघातिक प्रहार हुँदा उपचार अवधिसम्म पनि पर्खन नसक्ने प्रवृत्तिले पार्टीलाई राम्रो गर्दैन । हामी नियमित महाधिवेशनमै जाँदै छौँ । महाधिवेशन आवश्यक काम सकिएपछि हुन्छ । विधि, विधानअनुसार कांग्रेस चल्छ । कसैलाई मन लाग्यो भनेर सडकबाट भन्दैमा हुँदैन ।

सुझावित समाचार