भौतिक पूर्वाधार र सहरी विकास मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले सोमबार धुलिखेलदेखि तातोपानीसम्म पुगेर सडक निरीक्षण गरेका छन् । उनले भोटेकोशी गाउँपालिका इर्कु पुगेर करिब दुई महिनादेखि ठप्प रहेको कोदारी राजमार्ग सञ्चालनमा ल्याई तातोपानी भन्सारसमेत खुलाएका छन् ।
सोमबार बिहान ११ बजे निवासबाट निस्केका मन्त्री घिसिङ करिब १२ बजेतिर काभ्रेको धुलिखेल पुगेका थिए । त्यस क्रममा उनले सूर्यविनायक–धुलिखेल (धुलिखेल खावा) सडकको अनुगमन गर्दै निर्माण प्रगतिबारे जानकारी लिए । उनले चाडपर्वलाई लक्षित गर्दै सडकका खाल्डाखुल्डी तत्काल मर्मत गरी यातायात आवागमनलाई सहज बनाउन निर्देशनसमेत दिए । सूर्यविनायक–धुलिखेल १५.८ किलोमिटर सडकलाई ६ लेनमा विस्तार कार्य भइरहेको छ ।
मन्त्री घिसिङ दिउँसो दुई बजे एक सय दुई मेगावाटको मध्य भोटेकोशी आयोजनाको निरीक्षणका लागि पुगेका थिए । निर्माण सम्पन्न भई हाल व्यावसायिक रूपमा विद्युत् उत्पादनका लागि आवश्यक ७२ घण्टे परीक्षण उत्पादन भइरहेको आयोजनाले उनलाई जानकारी दिएको थियो । घिसिङ कोदारी राजमार्गका चारवटा पहिरो छिचोल्दै करिब चार बजे भोटेकोशी गाउँपालिकाको इर्कु पुगेका थिए । जहाँ पाँचौँ पहिरो खसेर राजमार्ग नै अवरुद्ध भएको थियो ।
चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानीसँग जोड्ने कोदारी राजमार्ग मर्मत गरी सञ्चालनका लागि घिसिङले यसअघि नै निर्देशन दिएका थिए । सोमबार दिउँसोदेखि पहिरो पन्छाएर सो राजमार्ग सञ्चालनमा आएको छ । साउन पहिलो साताको पहिरोले अवरुद्ध सडक करिब दुई महिनापछि घिसिङको पहलमा सञ्चालनमा आएको हो ।