काठमाडौं महानगरपालिकाको पहलमा पछिल्लो तीन वर्षमा ५२ हजारभन्दा धेरैले छात्रवृत्ति पाएका छन्। मेयर बालेन शाहको सार्वजनिक गरेको तथ्यांकअनुसार कानुन कार्यान्वायनको पहिलो वर्ष १३ हजार, दोस्रो वर्ष १९ हजार र यो वर्ष २० हजार २८२ जनाले छात्रवृत्ति पाएका छन् ।
नियमअनुसार छात्रवृत्ति नदिने शैक्षिक संस्थालाई कारबाही गरिने बालेनको चेतावनी छ ।
उनले फेसबुकमा लेखेका छन्–
एउटा कानुन कार्यान्वयनले यो वर्ष २० हजार भन्दा धेरै विद्यार्थीले Scholarship पाएका छन ।
कार्यान्वयनको पहिलो वर्ष १३,०००, दोस्राे वर्ष १९,००० र यो वर्ष एकदेखि १० सम्म १६,९८० र ११ मा ३,३०२ गरी जम्मा २०,२८२ ले करिब दुई अर्ब २५ करोडबराबरको छात्रवृति पाएका छन्।
यस शैक्षिक सत्र २०८२ मा हालसम्म विवरण बुझाउने विद्यालयको संख्या ४४० पुगेको छ जसअनुसार १६,९८० जनाले छात्रवृत्ति पाएका हुन्। केही विद्यालयले हालसम्म विवरण बुझाएका छैनन्, उहाँहरूलाई यथाशीघ्र विवरण बुझाउन अनुरोध गर्छौँ, विवरण पेस नगर्ने विद्यालयहरू बन्द विद्यालयको रूपमा बुझी काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ बमोजिम विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द गर्ने गरी कारबाही गरिनेछ । प्राप्त भएको विवरणको पनि हामी अनुगमन गर्नेछौँ , फरक पाइएमा कानुनबमोजिम कारबाही हुनेछ। कानुन निर्माणको महत्त्व कार्यान्वयनबाट मात्र पुष्टि हुन्छ । त्यसैले, हामी कानुन निर्माण र कार्यान्वयन दुवै पक्षमा उत्तिकै गम्भीर छौँ ।
कक्षा ११ को छात्रवृत्ति केन्द्रीकृत प्रणालीबाट र कक्षा १–१० का लागि ऐनको दफा ५० को उपदफा (३) अनुसार गठित छात्रवृत्ति छनोट समितिको निर्णयबाट विद्यालय व्यवस्थापन समितिले वितरण गरेअनुसार प्राप्त भएको विवरण हो। सबै विवरण कानुनअनुसार हामीले वेबसाइटमा सार्वजनिक गरेका छौँ । केही अस्वाभाविक देख्नुभएमा कृपया महानगर शिक्षा विभागमा सम्पर्क गर्नुहोला ।