ऐतिहासिक जाजरकोट दरबारमा विधिपूर्वक जमरा राखिएको छ। सोमबार नवरात्रीको पहिलो दिन घटस्थापनाको अवसर पारेर दरबारमा जमरा राखिएको हो। नेपाल पञ्चांग निर्णायक समितिले जुराएको साइतअनुसार बिहान ९ बजेर १३ मिनेट जाँदा जमरा राखिएको प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले बताए।
जिल्ला प्रशासन कार्यालय रहेको दरबार भूकम्पले जीर्ण भएको छ। जीर्ण भएको दरबारमा चलिआएको विधिअनुसार पञ्चेबाजासहित जमरा राखिएको प्रजिअ पौडेलले बताए। तत्कालीन जाजरकोटी राजाले दरबारमा जमरा राख्ने र विजया दशमीको दिन जाजरकोट दरबार पुगेर टीका लगाउने प्रचलनअनुसार जमरा राखिएको जाजरकोट सम्पदा संरक्षण मञ्चका अध्यक्ष जनक केसीले बताए।
जिल्लामा रहेका विशिष्ट व्यक्तिहरूलाई दसैँमा टीकासँगै जमरा लगाउनका लागि जाजरकोट दरबारमा बर्सेनि जमरा रोप्ने गरिन्छ। घरघरमा परिवारको संकल्प गरेर राखिने जमरा जाजरकोट दरबारमा भने जिल्लावासीका लागि संकल्प गरेर राख्ने चलन छ।
१९९० सालको भूकम्पले भत्किएको यो दरबार पुनर्निर्माण गरी सात तलाबाट चार तलामा झारिएको थियो। ०५० सालको भूकम्पले पुनः क्षति पुर्याएपछि पुरानै शैलीमा पुनर्निर्माण गरिएको थियो। तर, २०८० कार्तिक १७ गते जाजरकोटको बारेकोटको रामिडाड केन्द्रबिन्दु भएर गएको भूकम्पले पुनः दरबारलाई पूर्ण क्षति पुर्याएको छ।
यसलाई नेपाल सरकारले केही वर्षअघि मुलुकका सयवटा पर्यटकीय गन्तव्यको सूचीमा राखेको थियो। यसको निर्माण विसं १८५२ मा तत्कालीन जाजरकोटी राजा इन्द्रनारायण शाहका पालामा भएको बताइन्छ।