कञ्चनपुरको भीमदत्त नगरका एक वडाध्यक्षले निरन्तर भत्ताको रकम ज्येष्ठ नागरिकलाई वितरण गर्दै आएका छन् । भीमदत्त नगरपालिका– १ का वडाध्यक्ष आसेफ कुँवर (भुन्टु)ले विगत नाै वर्षदेखि निरन्तर भत्ताको रकम ज्येष्ठ नागरिकलाई वितरण गर्दै आएका हुन् । यस वर्ष पनि वडाध्यक्ष कुँवरले राज्यबाट पाएको रकम ज्येष्ठ नागरिक, असहायलाई वितरण गरेका छन् ।
हरेक आर्थिक वर्षको पहिलो चौमासिक दसैँ–तिहारअघि वितरण गर्दै आएका वडाध्यक्ष कुँवरले चालू आर्थिक वर्ष ०८२/८३ को असोज पहिलो साता सोमबार भत्ता वितरण गरेका छन् । पहिलो र दोस्रो स्थानीय तह निर्वाचनमा वडाध्यक्षमा निर्वाचित भएका वडाध्यक्ष कुँवरले ०७४ देखि ०८२ सम्म निरन्तर भत्ता वितरण गरेका हुन् ।
‘मैले चुनावका वेला जनतासँग गरेको वाचाअनुरूप राज्यबाट पाउने रकम हरेक वर्ष ७० वर्षमाथिका ज्येष्ठ नागरिक र अति असक्तलाई दामासाही हिसाबले रकम वितरण गर्दै आएको छु,’ वडाध्यक्ष कुँवरले भने, ‘मैले हरेक महिना पाउने २२ हजार ४७० रुपैयाँ पूरै ज्येष्ठ, असक्त र असहाय नागरिकलाई दसैँअघि वितरण गर्दै आएको छुु ।’ आफ्नै भत्ताबापत रकम वडाध्यक्ष कुँवरले वितरण गरेपछि ज्येष्ठ नागरिकदेखि असहाय नागरिक खुसी भएका छन् ।
वडाध्यक्ष कुँवरले नाै वर्षमा झन्डै २५ लाखभन्दा बढी भत्ताबापत पाएको रकम हरेक वर्ष डेढ सयदेखि १७० वडावासीले पाउँदै आएका छन् ।
स्थानीय लक्ष्मीदेवी विश्वकर्माले राज्यले दिएको सेवासुविधा पनि जनतालाई वितरण गरेको कार्यबाट खुसी व्यक्त गरिन् । दलित महिला लक्ष्मीदेवीले दलितको अधिकारका लागि लड्नेहरूले केही नगरे पनि वडाध्यक्षले दसैँ मनाउन खर्च दिएको भन्दै खुसी व्यक्त गरिन् ।
अर्की महिला लीलादेवी दमाईंले वडाध्यक्ष कुँवरले निरन्तर आफ्नो दुःखमा साथ दिएको बताइन् । ज्येष्ठ नागरिक हरसिंह डगौराले आफ्नो निजी सुुविधाको रकम ज्येष्ठ नागरिकको खुसीका लागि वितरण गरेकाे भन्दै आभार प्रकट गरेका छन् ।