कस्तो हुनुपर्छ हामीले खोजेको नेतृत्व ?

हामीकहाँ मुलुक चलाउने नेतृत्व कस्तो हुनुपर्छ भन्नेमा बहस सुरु नै नभए पनि परिणामको अपेक्षा भने गरिँदै आएको छ

सोमबार, ६ असोज, २०८२
डिजिटल संस्करण

प्रत्येक आन्दोलनपछि समाजमा एउटा जबर्जस्त बहस सुरु हुन्छ– यस्तो नेतृत्व चाहिन्छ, नेतृत्वले यसो गरेको भए यो स्थिति आउँदैनथ्यो आदि । तर, आन्दोलनले छचल्किँदो मनिस्थिति सामान्यीकरण हुँदै जाँदा ती बहस विस्मृतिमा पर्दै जान्छन् र विगतकै अवस्थामा फर्किन्छन् । समाज र शासनलाई संस्थापन सोचले पूर्ववत् रूपमै ङ्याकिराख्छ । सर्वसाधारण आ–आफ्नै दैनिकीमा लाग्छन्, सबैका आ–आफ्नै ध्याउन्न हुन्छ र परिवर्तनका एजेन्डा थाहै नपाई विस्थापित हुन्छन् । 

समाजले चाहेको राजनीतिक नेतृत्वमा कस्ता गुण हुनुपर्छ भन्ने विषयमा आधुनिक राज्यव्यवस्था सुरु हुनुअघिदेखि नै बहस नभएका होइनन् । हिन्दूहरूको महान् ग्रन्थ गीताले निस्वार्थ, निष्ठामा काम गर्ने, साहस र लचिलोपन भएको र व्यक्तिगत चाहनाभन्दा कर्तव्यलाई माथि राखेर काम गर्ने मानसिकता भएको व्यक्तिले शासन गर्नुपर्ने आदर्श राखेको थियो । भगवान् कृष्ण शास्त्र (नीति), धर्म (सदाचार) र कर्म (कर्तव्यपरायणता)लाई शासनका गुण मान्थे । वेदले त ‘राजा ऋतेन विवाविर्धे’ अर्थात् न्याय, सत्य र सत्मार्गमा हिँड्ने राजा (नेता) मात्र सफल हुन्छ भनेको छ । जिससले शिष्यलाई भनेका थिए– ‘जो व्यक्ति ठुलो हुन चाहन्छ, त्यो तिमीहरूको सेवक हुनुपर्छ’ त्यस्तो व्यक्ति इमानी, आत्मनियन्त्रित, दयालु, धैर्यवान्, साहसी र दृढ कर्तव्यमा हुन्छ भनिएको थियो ।

धर्मशास्त्र, प्राचीन ग्रन्थ र श्रुति–स्मृतिहरू आदर्श समाज व्यवस्थाका आदिम विधिसिद्धान्त थिए र सार्वजनिक जीवनलाई मार्गदर्शन गर्थे । आधुनिक राज्यव्यवस्थामा विधि र व्यवस्था हुन्छ । आधुनिक राज्यव्यवस्थाका परिकल्पनाकार प्लेटोले ‘दस् रिपब्लिक’ मा नेता (शासक) बन्न तीन गुण निर्धारण गरेका थिए, पहिलो स्ट्रागाजेर (जहाजको क्याप्टेन)जस्तो राष्ट्र हाँक्ने क्षमता भएका, दोस्रो यथार्थपरक दृष्टिकोण भएको र तेस्रो गुरुजसरी शिक्षा, संस्कार र साहसको अभिभावकत्व लिने क्षमता । यी तीन गुण भएको शासकलाई प्लेटोले दार्शनिक राजा (फिलोसफर किङ) भनेका थिए । पूर्वीय चिन्तनले आदर्श नेतृत्वमा महत्व दियो, पश्चात्यले विधिले आदर्श नेतृत्व निर्माण गर्छ भन्ने मान्यता राख्यो । दुवैका केन्द्रमा नागरिक छन् । नागरिक विश्वासभन्दा पर नेता र नीति रहन सक्दैन । 

लोकतन्त्रमा लोकको हित गर्न नसक्ने, जनताका आवश्यकता अपेक्षाबाट निरपेक्ष रहने व्यक्ति नेता हुन सक्दैन । जनताको विश्वास लिएर सार्वभौमसत्ता वरण गर्ने व्यक्ति उत्तरदायित्वको पुञ्ज हुनुपर्छ । 

हाम्रो मुलुक चलाउने नेतृत्व कस्तो हुनुपर्छ भन्नेमा बहस भएकै छैन, तर परिणामको अपेक्षा भने गरिँदै आएको छ । निर्वाचक जनताले आस्था र आग्रहमा विभाजित भई विकल्पहीन जसरी नेतृत्व गुण नभएकालाई मत दिने र परिणामचाहिँ अपेक्षित खोज्दै आएका कारण अहिलेको स्थिति आएको हो । लोकतन्त्रमा लोकको हित गर्न नसक्ने, जनताका आवश्यकता अपेक्षाबाट निरपेक्ष रहने व्यक्ति नेता हुन सक्दैन । जनताको विश्वास लिएर सार्वभौमसत्ता वरण गर्ने व्यक्ति उत्तरदायित्वको पुञ्ज हुनुपर्छ ।

नेतृत्व भनेको अवसरभन्दा जिम्मेवारी हो, लाभभन्दा त्याग हो, पेसा नभई सेवा हो, स्वार्थ नभई समर्पण हो । तर, त्यसो नुहँदा राष्ट्रका सपना, नागरिकका अपेक्षा र हामी सबैको भविष्य अनिश्चियतर्फ धेकेलिँदै आयो । सबै व्यक्ति नेतृत्व लिन योग्य हुँदैनन्, चाहनाले मात्र नेतृत्व विकास गर्दैन न कुनै परिवारमा जन्मनु वा कसैसँग नाता सम्बन्ध हुनु नै नेतृत्वको आधार हो । न सुख र आनन्दको आस्वादन गरेर नै नेता बनिने हो । यस युगका सर्वाधिक प्रिय राजनेता नेल्सन मन्डेलाको बाल्यकाल भुटेको मकै खाएर बित्यो, विद्यालय पढ्न जाँदा बुबाको पेन्ट काटेर सानो बनाएर लगाउँदैमा बित्यो ।

विश्वेश्वर कोइरालाको बाल्यकालका कैयन् दिन एक मुठी भिजाएको चना र पानी पियाइमा बित्यो, विद्यालय खद्दरको एकजोर कमिज सुरुवालमा बित्यो । दुवैको परिवार त्यो अवस्थाको खान नपुग्ने तहको थिएन । तर, परिस्थितिले त्यस अवस्थामा पु¥याएको थियो । दुःखमा खुसी हुन सक्ने र अरूको दुःखमा मन दुखाउने स्वभावले जनताको माया र विश्वास पाउन पुगे । त्यसैले दुवै राजनेता बने । मन्डेलाले अर्को कुरा पनि भनेका थिए– व्यक्तित्व निर्माणमा परिवारको ठुलो भूमिका रहन्छ । मेरा बुबा जिद्दी, विद्रोही तथा न्यायका निम्ति मरिमेट्ने खालका हुनुहुन्थ्यो ।’ त्यही स्वभाव मन्डेलामा पनि हुर्कियो । परिवारको नेतृत्व गर्नेमा गलत, अन्याय र भ्रष्टाचार गर्नुहुन्न भन्ने चेत भएमा सन्तान स्वतः असल बन्छन् । राष्ट्रको नेतृत्व गर्नेमा असल अन्तरचेत, असल बुझाइ र असल गराई भए उसका अनुयायी स्वतः असल हुन्छन् । 

एक प्रसंग स्मरण गर्दै नेल्सन मन्डेलाले आफ्नो आत्मकथा ‘स्वतन्त्रताको लामो यात्रा’मा भनेक छन्– नेता एक प्रकारको गोठालोजस्तै हुन्छ, जो झुन्डको पछि रहन्छ । जो आफूलाई बुझ्नेलाई अगि बढ्न दिन्छ र अरूलाई अनुसरण गर्न दिन्छ । तर, अगि जानेलाई उनीहरूको पछि अरू कसैको निर्देशन गरिरहेको छ भनी थाहा दिँदैन ।’ त्यसैले, भन्ने गरिन्छ पहिलो कोटीको नेताले आफूभन्दा उम्दा अनुयायी बनाउन चाहन्छन् । दोस्रो कोटीका नेताले तेस्रो कोटीको अनुयायी चाहन्छन् ।

तर, तेस्रो कोटीका नेताले चाहिँ जे भन्यो त्यही मान्ने अन्ध समर्थक, निम्न कोटिका अनुयायी चाहन्छन् । यसले आलोचनात्मक चेत आउनै दिँदैन, हस प्रवृत्तिलाई बढावा दिई नेतृत्व विकासको प्रक्रियालाई अवरुद्ध पार्छ । सही नेतृत्व समाजको असल शिक्षक हो । शिक्षकले चेलाहरूलाई नीति र नैतिकता सिकाउँछ । आफ्ना अनुयायीलाई आफूभन्दा उम्दा बनाउँछ र प्रसन्न हुन्छ । नीति र नैतिकताबाट पर रहने व्यक्ति श्रेष्ठ बन्नै सक्तैन, श्रेष्ठताको द्योतन नगर्ने कसरी नेता बन्न सक्छ र ? रूपान्तरणकारी काम गर्न नसक्ने व्यक्ति कहाँ नेता बन्न सक्छ ? यो क्षमता घर, परिवार, समाज संस्था सबैमा चाहिन्छ, राष्ट्र हाँक्नका लागि त यो न्यूनतम सर्त हो । नेतृत्वले यही आत्मिक चेत दिन्छ । 

संघर्षले खारिएका व्यक्ति मात्र नेता बन्छन् । त्यत्तिकै पद पाएका व्यक्तिले दैनिकी मात्र धान्छन्, सामाजिक वास्तविकताबाट पृथक् रहन्छन् । अफ्रिकी स्वतन्त्रताका सेनानी मन्डेलाको संघर्ष र दुःखले नेतृत्व कस्तो र कति संयमी हुनुपर्छ भन्ने शिक्षा र प्रेरणा दिन्छ । गरिब र कालो हुनु अभिशाप मानिएको मन्डेलालाई विद्यालयमा आफ्नो नाम पनि सेती (एङ्लो) मिस डिंगनले राखिदिइन्, त्यसपछि उनी ‘रोलिलाहल्ला’बाट ‘नेल्सन’ बने । 

नाममाथिको अपनत्व नभए पनि मायाले दिएको नामले नै उनको पहिचान कायम गर्न पुग्यो । स्वतन्त्रता र स्वाभिमानको अविश्रान्त संघर्षमा जेल परे, २७ वर्ष त्यहाँ रहँदा जवानी, रहर व्यक्तिगत आकांक्षा सबै सकिए, स्वतन्त्रताको साहस रापिलो बन्दै गयो । एकान्त र आफैँबाहेक अरू साथी रहेनन् । जेलमै रहँदा राजनीति र घर परिवारमध्ये एक छान्न आफ्नै प्रेयसीले दिएको विकल्पमा उनले असाध्यै माया गरेको पहिली पत्नी एलविनलाई भन्दा स्वतन्त्रताको संघर्षलाई रोजे, एलविनले सम्बन्धविच्छेद रोजिन् । जीवनसंगिनी या प्रेयसीलाई भन्दा राष्ट्रिय स्वाभिमानलाई माया गर्ने थोरै राजनेतामा उनी पर्नपुगे ।

जेलमै रहँदा आमाको निधन भयो, शोकयात्रामा पनि सामेल हुन पाएनन् । उल्लेख नै गर्न नसकिने अपमान र यातना पाए, तर सम्झौता गरेनन् । सधैँ सेक्सपियरको भनाइ सम्झिरहे– ‘मृत्युका लागि निरपेक्ष बन, तब जीवन वा मरण निरपेक्ष बन्नेछ ।’ जेलबाट निक्लेको केही अवधिपछि दोस्रो पत्नी बिन्नीलाई पनि छोड्नुपर्यो । राष्ट्रपति बने, आफै“लाई यातना दिनेलाई क्षमा दिएर शान्त र स्वतन्त्रताको दृष्टान्त बने ।

स्वतन्त्रता र समृद्धिले बलिदान र समर्पण खोज्यो, त्यसमा अटल रहे । एकपटक राष्ट्रपति बनेपछि दोहोर्याएनन्, सम्मानित संरक्षक भएर स्वतन्त्रताको रक्षा गरिरहे । यस्ता कथा हाम्रै विश्वेश्वर, पुष्पलालहरूका पनि नभएका होइनन् । हाम्रा नेतालाई हामीलाई भन्दा बढी थाहा छ । उनीहरूको त्याग र बलिदानीप्रति अन्याय गरेर आमसर्वसाधारणको भविष्य थुन्ने काम भयो । कतिपय त आफैँ बलिदानको यात्रामा पनि रहे, तर त्यसलाई विस्मृतिमा पारेर रामरउस अनि सानसौकतमा भुले ।

नेतृत्व क्षमताविनाका बनाइएका नेताले दैनिकी धाने, परिवर्तनको द्योतन गर्न सकेनन्, अरूको विश्वास र सासहमा उभिन सकेनन्, शासनमा तल्लीन रहे । त्यही कारणले हो, आफ्नो विश्वास समर्पण गर्ने सर्वसाधारणको धैर्य टुटेको छ, छोरा नाति नै नेतृत्वप्रति आन्दोलित भए । आफ्नै छोरा नातिले प्रश्न उठाएपछि पनि नेताहरू आफैँमाथि विचरण नगरी रक्षात्मक बनिरहेका छन् । 

हो, हामीले मन्डेला, मोहनदास, चर्चिल, थ्याचर, ओवामा, लेनिन, लिंकनजस्ता नेता नपाउँला, हाम्रा नेता हाम्रै समाजमा खोज्ने हो । फेरि पनि नेताको एउटा विम्ब बनाउने अधिकार हामी सबैमा छ । त्यसैले यतिचाहिँ अपेक्षा राख्न सक्छौँ– अब हाम्रा नेताहरू अहंकारका सगरमाथा नबनून्, शालीनताका सागर बनून् । उनीहरूको बोली दुुर्वाच्यको विषाक्त वाण होइन, मुदुलताको मलम बनोस् । न्याय र विवेकमा विवेचित होऊन्, हाम्रा भावनात्मक बाध्यतामा नखेलून् । धैर्य बनून्, सत्कार्य गरून् ।

स्वार्थको समर्पणमा रहून् । अनुचरहरूको वलय तोडून्, दुराचारीबाट अलग रहून् । विषयको ज्ञानमा रहून्, समाज र पुस्तक पढेर बुझून् र सुध्रिऊन् । एकपटक प्रियतामा उराल्लिएका चाभेज, फुजिमोरी र राजापाक्षेहरू कसरी भविष्यमा लेखिटिए बुझून् । हामी सबैका अभिभावक बनून् । उनीहरूको समीप पुग्दा हामीलाई महानताको स्पर्श होस्, उनीहरूको व्यवहार अनुकरणीय बनोस् । प्रश्नकर्ताको मुख नथुनी कर्म र कर्तव्यबाट जवाफ दिऊन् । खराबका प्रशंसाबाट पर रहून्, इमानीका आलोचनाप्रति उदार बनून् । राज्यलाई इमानदारहरूको संस्था बनाउन असल मानिस खोजून् । यति अपेक्षा गर्ने हक लोकतन्त्रमा नागरिकसँग सुरक्षित छ, अब आन्दोलनको उभार र ध्वंशको पीडा दोहोरिन दिनेछैनौँ । 
 

सुझावित समाचार