दसैँमा उपत्यकाबाट बाहिरिने सार्वजनिक सवारीसाधनले नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने भएका छन् । सार्वजनिक यातायातमा हुने यात्रुको चाप र सडक जामलाई व्यवस्थित गर्न उपत्यकाबाट बाहिरिने सवारीसाधनलाई सुरुङमार्ग प्रयोग गर्ने व्यवस्था मिलाउन भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले निर्देशन दिएका छन् । मन्त्रालयका अधिकारी तथा सुरक्षा अधिकारी सम्मिलित शनिबारको बैठकमा उनले तत्काल एउटा सुरुङमार्ग तयार गरेर सञ्चालनमा ल्याउन निर्देशन दिएका हुन् । उपत्यकामा भित्रिने र उपत्यकाबाट बाहिरिने दुईवटा सुरुङ भए पनि पूर्ण रूपले सञ्चालन भएका छैनन् ।
परियोजनाका प्रमुख सौजन्य नेपालले दसैँमा सीमित संख्यामा सुरुङमार्ग हुँदै गाडी सञ्चालन गर्न सकिने बताए । ‘शनिबार मन्त्रीज्यूले यस सम्बन्धमा छलफल गर्ने भनेर निर्णय गर्नुभएको छ । हामी आइतबार यसबारे छलफल गर्छाँै । सुरुङको भौतिक निर्माणकार्य सकिएकै अवस्था हो । तर, सुरक्षाको संयन्त्र तयार हुनुपर्छ । यात्रुको सुरक्षाको ग्यारेन्टी हुनुपर्छ । त्यसमा तयार गर्न सकियो भने सम्भव हुन्छ,’ उनले भने, ‘दसैँमा केही सीमित गाडीलाई प्रवेश गराउन सकिन्छ ।’
त्यस्तै, दसैँलगत्तै उपत्यका भित्रिने सवारीसाधनको चाप पनि बढ्ने भएकाले सुरुङमार्गबाटै आउने व्यवस्था मिलाउन पनि उनले निर्देशन दिएका हुन् । सुरुङ हुँदै यात्रुवाहक बस बाहिरिने व्यवस्था भए नागढुंगा हुँदै नौबिसेसम्म लाग्दै आएको सवारीसाधनको जाम हट्ने उनले बताए ।
सडक खुलाउन एक्स्काभेटर चलाउन थालियो
तातोपानी नाका सञ्चालनमा ल्याउन कोदारी राजमार्ग मर्मत थालिएको छ । मन्त्री घिसिङका अनुसार सडक मर्मतका लागि आवश्यक संख्यामा एक्स्काभेटर परिचालन गरिएको छ । शनिबार घिसिङले मन्त्रालयमा राखेको बैठकपश्चात् पनि तातोपानी नाकालाई जोड्ने मुख्य सडक दसैँअगाडि नै सञ्चालनमा ल्याउने गरी आवश्यक कार्य गर्न सडक विभागलाई निर्देशन दिएका छन् ।
गत बुधबार भोटेकोशी गाउँपालिकाका स्थानीयले मन्त्री घिसिङलाई कोदारी राजमार्ग मर्मत गरेर सञ्चालनमा ल्याउन ज्ञापनपत्र बुझाएका थिए । लगत्तै, सो बाटो मर्मत थालिएको हो । भोटेकोशी– ६ का वडाध्यक्ष कुमार श्रेष्ठ र स्थानीय सांगे लामा नेतृत्वको टोलीले घिसिङलाई भेटेर सो बाटो सञ्चालनका लागि पहल गर्न आग्रह गरेका थिए ।
मन्त्री घिसिङले गरेका निर्णय
- दसैँमा नागढुंगा–सिस्नेरी सुरुङमार्ग हुँदै सार्वजनिक सवारीसाधन काठमाडौंबाहिर जाने व्यवस्था मिलाउने र दसैँपछि सुरुङमार्ग हुँदै सवारीसाधन भित्रिन सक्ने व्यवस्था गर्ने
- नयाँ बसपार्क तथा मुलुकका विभिन्न राजमार्गमा सुरक्षा कडा पार्न प्रहरी गस्ती र प्रहरी संख्या बढाउने
- बुटवल–नारायणघाट सडकको दाउन्ने खण्डमा दसैँ अवधिभर लागू हुने गरी ठुला भारवाहन सवारीसाधन (१२ चक्के र सोभन्दा माथि) सञ्चालन गर्न रोक्ने, तर खाद्यान्नलगायतका अत्यावश्यक सामग्री ढुवानी गर्ने सवारीसाधनलाई भने अवरोध नगर्ने
- मुलुकभरिका मुख्य सडकलाई चुस्तदुरुस्त राख्न, सुधार गर्न र पहिरोजन्य विपत्को व्यवस्थापन गर्न आवश्यक सामग्री तथा यन्त्रहरूको व्यवस्थापन गर्ने
- बुटवल–नारायणगढ सडकको दाउने खण्डमा २४सै घण्टा दुईतर्फी यातायात सञ्चालन गर्ने र नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पहिरो गई भएको अवरोध तत्काल हटाई यातायात सञ्चालनमा ल्याउने
- मौसम र सडकको अवस्थाबारे २४सै घण्टा सर्वसाधारणलाई जानकारी प्रवाह गर्न फोकल पर्सनसमेतको व्यवस्थापन गरी कन्ट्रोल रुम सञ्चालन गर्ने
- सार्वजनिक सवारी–साधनलाई सुरक्षित तथा प्रविधिमैत्री बनाउने कार्यविधि तथा निर्देशिका यातायात व्यवस्था विभागले तत्कालै तयार गरी पेस गर्ने ।