शव बुझ्न नपाउँदा परिवारलाई थप पीडा, सहयोगको याचना

शुक्रबार, २७ भदौ, २०८२
डिजिटल संस्करण

नेपालगन्ज उपमहानगरपालिका– १, धम्बोझीका नरेन्द्र श्रेष्ठको घरमा रुवाबासी छ । जेन–जी पुस्ताको प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर एक्लो सन्तान सुलभराज श्रेष्ठको मृत्यु भएदेखि श्रेष्ठ परिवार विक्षिप्त बनेको छ । २३ वर्षीय छोरा सुलभराजको मृत्यु भएको खबर पाउनेबित्तिकै नरेन्द्र काठमाडाैं गएका छन् ।

छोराको पार्थिव शरीरको प्रतीक्षामा घरमा रहेकी सुलभकी आमा बिना थापा श्रेष्ठ छिनछिनमा बेहोस हुन्छिन् । उनी २४ भदाैदेखि अर्धचेतमा छिन् । छोराको मृत्युको खबर पाएदेखि खाना नखाएकी उनको शरीर गलिसकेको छ । ‘सम्झाउने, बुझाउने पनि घरमा कोही छैन । होस आउनेबित्तिकै छोराको नाम लिनुहुन्छ र फेरि बेहोस हुनुहुन्छ,’ छिमेकीसमेत रहेका वडाध्यक्ष प्रमोद रिजालले भने, ‘घरको अवस्था देख्दा आँखाबाट आँसु खस्छ । घरमा पुग्नेमध्ये नरुने सायदै होलान् ।’ 

सुलभले केएमसीबाट इन्जिनियरिङमा स्नातक गरेका थिए । माथिल्लो शिक्षाको तयारीका लागि उनी दुई महिनाअघि काठमाडाैं गएका हुन् ।  तीक्ष्ण बुद्धि भएका उनी खेलकुदमा पनि उत्तिकै कुशल थिए । ‘सुलभ आँखामा राख्दासमेत नबिझाउने बाबु थिए,’ छिमेकी विनोद रिजालले भने, ‘हाम्रो टोलको खम्बा ढलेको महसुस भएको छ ।’ 

जेन–जी प्रदर्शनको क्रममा मारिएका आयुष थापाको परिवार पनि विक्षिप्त छ । आयुषका बाबु शीतल थापा छोराको शव लिन काठमाडाैं गएका छन् । 
भारतीय सेनाको परीक्षामा असफल भएपछि १९ वर्षीय आयुष फिनल्यान्ड जाने तयारीमा थिए । ‘भिसा आइसकेको थियो । फिनल्यान्ड जाने अन्तिम तयारीका लागि काठमाडाैं गएका थिए,’  छिमेकी उमा थापा मगरले भनिन् ।

शव बुझ्न नपाउँदा थप पीडामा परिवार 
सुलभ र आयुषको शव पाँच दिनदेखि शिक्षण अस्पताल  महाराजगन्जमा छ । छोराको शव ल्याउन नपाएकोमा श्रेष्ठ र थापा परिवारलाई थप पीडा थपिएको छ ।  आमा बिना छोराको मुख हेर्ने पर्खाइमा छिन् । ‘समयमा शव नपाउँदा झनै पीडा थपिएको छ,’ वडाध्यक्ष रिजालले भने, ‘समयमा शव पाएको भए परिवारलाई केही राहत हुने थियो ।’

उता काठमाडाैंमा रहेका नरेन्द्रले शव बुझ्ने र नेपालगन्जसम्म ल्याउने व्यवस्था मिलाइदिन याचना गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर पाँच दिनदेखि छोराको शव शिक्षण अस्पतालमा रहेको र बुझ्न चाहँदासमेत प्रक्रियाको नाममा बुझ्न नपाएको गुनासो गरेका छन् । ‘शव बुझ्ने र नेपाली सेनाको हेलिकोप्टरबाट शव नेपालगन्जसम्म लैजाने व्यवस्था मिलाइदिन जेन–जी पुस्तासँग आग्रह गर्दछु,’ उनले फेसबुकमा लेखेका छन्, ‘शव बुझ्न नपाउँदा मेरो परिवारलाई थप पीडा भएको छ ।’

आयुषका बाबु शीतल थापाले पनि छोराको शव बुझ्न नपाउँदा थप पीडा थपिएको बताए । उनले छोराकाे पार्थिव शरीरसमेत राम्रोसँग हेर्न नपाएको बताए । ‘कागजी प्रक्रिया नमिल्दा अस्पतालले शव दिन मानेको छैन,’ उनले भने, ‘हामीलाई पीडामाथि पीडा थपिएको छ ।’

सुझावित समाचार