‘जेन जी’ले भाेलि पोखरामा पनि प्रदर्शन गर्ने

आइतबार, २२ भदौ, २०८२
डिजिटल संस्करण

‘अहिले नगरे कहिले गर्ने, हाम्ले नगरे कस्ले गर्ने’ भन्ने नारासहित ‘जेन जी’ पुस्ताले  भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धका विरुद्ध सोमबार पोखरामा पनि प्रदर्शन गर्ने भएका छन् ।

पोरखेली युवाहरू नाम दिएर ‘जेन जी’का युवा पुस्ताले सोमबार पोखराको मुख्य बजार न्युरोडस्थित सभागृह चोकमा भ्रष्टाचारसँगै सामाजिक सञ्जाल प्रतिबन्धकाविरुद्ध प्रदर्शन गर्ने भएका हुन् । 

प्रदर्शनको जानकारी आयोजकले आइतबार कास्कीका प्रमुख जिल्ला अधिकारीलाई समेत दिएका छन् । उनीहरूले सोमबारको कार्यक्रममा आवश्यक शान्ति सुरक्षाको व्यवस्था मिलाइदिनु हुन भन्दै कास्कीका प्रजिअलाई पत्र बुझाएका छन् । प्रजिअलाई दिएको पत्रमा आयोजकले देशमा विद्यमान भ्रष्टाचार र हालै सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धको विरोध स्वरुप पोखरामा रहेका जेन जी, यूवा, विद्यार्थी, युवा उद्यम एंव आम नेपालीको समूहले गर्ने विरोध प्रर्दशनमा शान्ति सुरक्षाको व्यवस्था मिलाइदिनु हुन अनुरोध गरेको उल्लेख छ । 

पत्रमा पाँचजनाले हस्ताक्षर समेत गरेका छन् । हस्ताक्षर गरे पनि पत्रमा नाम भने उल्लेख गरेका छैनन् । पाँच मध्येका एक सरोज पराजुलीले विशेष गरी प्रदर्शन भ्रष्टाचारविरुद्ध रहेको सँगै सरकारले सामाजिक सञ्जालमा गरेको प्रतिबन्धका विरुद्ध समेत रहेको जानकारी दिए ।

सरोज पराजुली

प्रदर्शनमा दुई हजारभन्दा बढी युवा सहभागी हुने अपेक्षा रहेको उनले बताए । विरोध प्रदर्शन शान्तिपूर्ण हुने र विद्यार्थीहरू सबै आ–आफ्नो विद्यालय, क्लेजको पहिरनमा आउने उनले बताए । विरोध कार्यक्रममा आफूहरूले अपेक्षा गरेजति युवाहरु जम्मा भए सभागृह चोकबाट र्याली निकालेर सृजनाचोक, रत्नचोक हँुदै जिल्ला प्रशासन कार्यालय अघि गएर कोणसभा गर्ने नभए सभागृह चोकबाट र्याली निकालेर सृजनाचोकमा आएर कोण सभा गरि सम्पन्न गरिने उनले बताए ।

कार्यक्रममा युवा पुस्ताहरू मात्र सहभागी हुने उनले बताए । ‘हामीले नेताहरूको धेरै विश्वास गर्याै, धेरै कार्यक्रममा उनीहरूलाई सुन्याँै तर हाल आएर हामीलाई जो देखे पनि भ्रष्टाचारी जस्तो लाग्न थालेको छ,’ उनले भने । कार्यक्रममा कुनै नेतालाई नबोलाएको उनले बताए । सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएर सरकारले प्रत्येक नागरिकको अभिव्यक्ति स्वतन्त्रता र आवाजलाई दबाउन खोजेको भनाइ उनको छ ।
 

सुझावित समाचार