कांग्रेस सांसदको प्रश्न– जिएसआईमा नेपाल सहमत भएको भन्ने चिनियाँ विज्ञप्तिमा कसरी आयो ?

बुधबार, १८ भदौ, २०८२
डिजिटल संस्करण
कांग्रेस सांसदको प्रश्न– जिएसआईमा नेपाल सहमत भएको भन्ने चिनियाँ विज्ञप्तिमा कसरी आयो ?

फाइल तस्बिर

नेपाली कांग्रेसका सांसद दिलेन्द्र बडूले चीनको  ग्लोबल सेक्युरिटी इनिसिएटिभ (जिएसआई)मा नेपाल सहमत भएको भन्ने विषयमा स्पष्ट पार्न सरकारलाई आग्रह गरेका छन्।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद बडूले छलफल नै नभएको भनिएको विषयमा नेपाल सहमत भएको भनी चिनियाँ पक्षले जारी गरेको विज्ञप्तिमा कसरी आयो भन्दै प्रश्न गरका हुन्।

‘छलफलको एजेन्डामा नै नआएको भनिएको ग्लोबल सेक्युरिटी इनिसिएटिभ (जिएसआई) प्रस्तावमा नेपाल सहमत भएको भन्ने विज्ञप्तिमा उल्लेख भएर आयो । किन र कसरी ? यस सन्दर्भमा सम्माननीय प्रधानमन्त्रीको सचिवालय र परराष्ट्र मन्त्रालयले समयमै स्पष्ट गर्नुपर्छ,’ उनले भने।

यसैगरी, लिपुलेकलाई व्यापारिक मार्ग बनाउन भारत र चीनबिच भएको सहमतिप्रति आपत्ति जनाएकोमा बडूले प्रधानमन्त्री केपी ओलीको प्रशंसा गरे। लिपुलेक, कालापानी क्षेत्रको विषय भारत–नेपालबिचको मुद्दा भन्दै चीन पन्छिएकोमा समेत उनले आपत्ति जनाए।

‘आफ्नो भौगोलिक अखण्डता र सार्वभौमिकताका सन्दर्भमा नेपालबाट एक चीन नीतिप्रति सदैव समर्थनको अपेक्षा गरिरहने मित्रराष्ट्र चीनले हाम्रो सीमा, भौगोलिक अखण्डता र सार्वभौमिकताप्रति पनि सोहीअनुरूपको सम्मानभाव नेपालले पनि राख्छ भन्ने हाम्रो अपेक्षा स्वाभाविक हुन्छ भन्ने हामीले बुझाउन नचाहेको हो वा चीनले बुझ्न नचाहेको हो, स्पष्ट हुनुपर्छ,’ बडूले भने। 
 

See More On

सुझावित समाचार