डा. गोविन्द केसीले अनशन तोडेका छन् । उनले कैलालीको गेटा अस्पतालमा तीन दिनअघि अनशन सुरु गरेका थिए । गेटा अस्पतालमा उपचार गर्न आएका कञ्चनपुरका ५२ वर्षीय पृतम चौधरीको हातबाट जुस पिएर मंगलबार दिउँसो केसीले अनशन तोडेका हुन् ।
अनशन तोडेलगत्तै उनी गेटा अस्पताल भर्ना भएका छन् । शरीरमा ग्लुकोजको मात्रा घटेपछि डा. केसीलाई अस्पताल भर्ना गरिएको उनका सहयोगी अमृत जैसीले बताए । जैसीका अनुसार अनशन तोड्नुअघि केसीको शरीरमा ग्लुकोजको मात्रा घटेर २७ मा झरेको थियो ।
‘शरीरमा सयभन्दा माथि हुनुपर्ने ग्लुकोजको मात्रा २७ मा झर्नु भनेको खतरा हो । ग्लुकोजको मात्रा कम हुँदा स्वास्थ्यमा समस्या देखिएको थियो,’ जैसीले भने, ‘अस्पताल भर्ना गरेर ग्लुकोज चढाइँदै छ । उहाँ आज अस्पतालमै बस्नुहुन्छ ।’
ग्लुकोजको मात्रा घटेकाले डा. केसीलाई रिँगटा लाग्ने, मांसपेशी बाउँडिने, मुटुको चालमा गडबडीजस्ता समस्या देखिएको जैसीले बताए । तर, अनशन तोड्नुअघि उनले ग्लुकोज चढाउन मानेका थिएनन् । चिकित्सा क्षेत्र सुधारसहितका चारबुँदे माग गर्दै उनले गेटा अस्पतालमा आइतबारदेखि अनशन सुरु गरेका थिए । डा. केसीले निजी मेडिकलमा विद्यार्थी सिटसंख्या बढाउने सरकारी निर्णय फिर्ता लिनुपर्ने, गेटामा चिकित्सा शिक्षा विश्वविद्यालय सञ्चालनमा ल्याउनुपर्ने तथा इलाम, उदयपुर र डडेल्धुरामा सरकारी मेडिकल कलेज खोल्नुपर्ने माग सरकारसँग गरेका छन् ।
स्वास्थ्य प्रतिष्ठान र विश्वविद्यालयका पदाधिकारी नियुक्ति मापदण्डसम्बन्धी ऐन पारित गर्नुपर्ने, मेडिकल शिक्षालाई गैरनाफामुखी बनाउनुपर्ने, सबै स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मीको दरबन्दी वृद्धि गर्नुपर्ने तथा आफूसँग विगतमा भएका सम्झौताहरू कार्यान्वयन गर्नुपर्ने उनको माग थियो ।
अनशनका क्रममा डा. केसीले भारत सरकारसँग कुरा गरेर अतिक्रमित नेपाली भूमि लिपुलेक फिर्ता ल्याउनुपर्ने माग पनि राखेका थिए । त्यस्तै, युक्रेन र गाजामा भइरहेको नरसंहारकारी युद्ध तुरुन्त बन्द गर्न रुस र इजरायलसँग डा. केसीले माग गरेका थिए ।