झमक घिमिरे धनकुटा रत्नबाट सम्मानित

मंगलबार, १७ भदौ, २०८२
डिजिटल संस्करण

चर्चित साहित्यकार झमक घिमिरेलाई धनकुटा रत्नबाट सम्मान गरिएको छ । बौद्धिक विकास समाज समिति धनकुटाले मदन पुरस्कार विजेता साहित्यकार झमक घिमिरेलाई पाँच हजार नगदसहित धनकुटा रत्नबाट सम्मान गरेको हो ।

लामो समयदेखि अस्वस्थ रहेकी घिमिरेलाई उनकै घरमा एक कार्यक्रमको आयोजना गरी धनकुटा रत्नबाट सम्मान गरिएको बौद्धिक विकास समाज समिति धनकुटाका अध्यक्ष सुवासचन्द्र जोशीले बताए । पारिजातपछि मदन पुरस्कार पाउने झमक घिमिरे दोस्रो महिला लेखक हुन् । उनले २०६८ सालमा ‘जीवन काँडा कि फूल’ पुस्तकका लागि मदन पुरस्कार प्राप्त गरेकी थिइन् । विलक्षण प्रतिभाकी धनी साहित्यकार घिमिरे खुट्टाका औँलाका सहाराले लेख्ने गर्दछिन् ।

घिमिरे बाल्यकालदेखि नै प्रतिमस्तिष्क रोगबाट पीडित छिन् । उनी पुस्तकको अलावा पत्रपत्रिकाहरूमा लेखसमेत लेख्ने गर्दछिन् । उनको जीवनीमा आधारित चलचित्र पनि बनिसकेको छ। साहित्यकार घिमिरेको संकल्प, आफ्नै चित्ता अग्नि शिखातिर, मान्छेभित्रका योद्धाहरूलगायतका कृति प्रकाशित छन्। उनको जन्म २०३७ साल असार २१ गते धनकुटा नगरपालिका– ३, कचिण्डेमा भएको थियो ।

पिता कृष्णबहादुर र माता आशादेवी घिमिरेका दुई छोरीमध्ये उनी जेठी छोरी हुन् । अघिल्लो वर्ष मूर्तिकार श्रीकृष्ण जोशीलाई धनकुटा रत्न प्रदान गरिएको थियो । बौद्धिक विकास समाज समिति धनकुटाले अघिल्लो वर्षदेखि धनकुटा रत्न प्रदान गर्न सुरु गरेको हाे ।
 

सुझावित समाचार