नारायणी रंगशाला : जीर्ण खेलमैदान निर्माणमा खटिए खेलाडी

दशरथ रंगशालापछिको दोस्रो ठुलो नारायणी रंगशालामा अनुगमन तथा निरीक्षण भए पनि स्तरोन्नति गर्न बजेट विनियोजन गर्ने सरकारको आश्वासन मात्र

सोमबार, १६ भदौ, २०८२
डिजिटल संस्करण
नारायणी रंगशाला : जीर्ण खेलमैदान निर्माणमा खटिए खेलाडी

खेलाडी आफैँ अभ्यासका लागि खेलमैदान सरसफाइदेखि गर्दै

जीर्ण रहेको वीरगन्जको नारायणी रंगशालाको खेलमैदान सरसफाइदेखि मर्मतसम्भारमा स्थानीय खेलाडी खटिएका छन् । बजेट अभावका कारण जीर्ण बनेको रंगशाला निर्माण गर्न सरकार उदासीन भएको भन्दै अभ्यासका लागि खेलमैदान सरसफाइदेखि मर्मत गर्न खेलाडी आफैँ फ्रन्टलाइनमा देखिएका हुन् । स्थानीय खेलाडी खेलमैदानको सरसफाइदेखि मर्मतसम्भारमा जुटेको आरम्भ भेट्रान क्लबका सचिव सन्तोष खड्काले बताए । 

‘रंगशाला पूर्ण रूपमा जीर्ण भएकाले खेलकुद प्रतियोगिता पनि रोकिएको अवस्था छ । अब, मैदान सरसफाइ गरेर भए पनि अभ्यास गर्न सकिने भएकाले यसमा खटिएका हौँ,’ खड्काले भने । बिहानको समयमा खेलाडी र १३ नम्बर गणका सशस्त्र प्रहरी जवान खेलमैदानमा सरसफाइदेखि मर्मतमा खटिने गरेको उनले बताए । राजकिशोर सिंहले पनि यहाँको खेलमैदान जीर्ण हुँदा खेलाडीलाई समस्या भएको दुखेसो पोखे । ‘अभ्यास गर्ने वातावरण नै छैन । कुनै पनि खेलमा सहभागी हुन पनि समस्या छ,’ सिंहले भने । काठमाडौं त्रिपुरेश्वरको दशरथ रंगशालापछिको दोस्रो ठुलो नारायणी रंगशाला पटक–पटक विभिन्न मन्त्रीले अनुगमन र निरीक्षण गरिसकेका छन् । तर, स्तरोन्नति गर्न बजेट विनियोजना गर्ने आश्वासन दिएर पनि बेवास्ता गरिएपछि खेलाडी र खेलकर्मीले दुःख व्यक्त गरेका छन् । 

प्रतियोगिता नहुँदा खेलाडी निराश 
०४३ मा निर्माण भएको नारायणी रंगशाला अहिले स्थानीय तह, प्रदेश र संघीय सरकारको उदासीनताका कारण जीर्ण अवस्थामा पुगेको हो  । तत्कालीन अञ्चलाधीश लक्ष्यबहादुर गुरुङको पहलमा निर्माण गरिएको नेपालकैे दोस्रो ठुलो नारायणी रंगशालाको प्यारापिट संरक्षणको अभावमा जीर्ण बनेको छ । लेउ लागेपछि प्यारापिटको सुन्दरता नै हराएको छ । फोहोर पनि उस्तै छ । नारायणी रंगशाला र छेउमा रहेको क्रिकेट मैदान पनि ओझेलमा पर्दै गएको वीरगन्जका महेशप्रसाद यादवले बताएका छन् । ‘३५ वर्ष पुरानो फुटबल मैदान अहिले जीर्ण अवस्थामा पुगेको छ  । सरकारले समयमा उचित मर्मतसम्भार नगर्दा समस्या भएको हो ।’

१८ बिघा क्षेत्रमा फैलिएको क्रिकेट र फुटबल मैदान जीर्ण बन्दै जाँदा वीरगन्जमा खेलकुद गतिविधिमा कमी आउनु र खेलप्रेमी निराश बन्नुको साथै राष्ट्रिय खेलाडी उत्पादनमा पनि समस्या बन्दै गएको फुटबल खेलाडी सुनील राउतले बताए । उनका अनुसार रंगशाला पुनर्निर्माणका लागि डिपिआर पनि तयार गरिएको छ, तर डिपिआरअनुसार काम भने हुन सकेको छैन ।

‘प्यारापिट निर्माणको टेन्डर भइसक्यो’
सरकारले आव ०८२/८३ मा नारायणी रंगशालाको स्तरोन्नतिका लागि चार करोड बजेट विनियोजन गरेर टेन्डर भइसकेको राष्ट्रिय खेलकुद परिषद्का इन्जिनियर शिवचन्द्र यादवले जानकारी दिए । उनका अनुसार चालू आवमा नारायणी रंगशालामा बजेट परेकाले चार करोडको प्यारापिट निर्माण गर्न १० भदौमा टेन्डर भइसकेको अवस्था छ । 

जिल्लाका अन्य खैलमैदानको पनि निर्माणदेखि स्तरोन्नतिको टेन्डर प्रक्रिया अगाडि बढिरहेको इन्जिनियर यादवले बताए । यस्तै, पर्साका विभिन्न ठुला रंगशाला र खेलमैदानका लागि बजेट छुट्याएको छ । जिल्लाका विभिन्न खेलमैदानका लागि १७ करोड बजेट छुट्याएको बजेट पुस्तिकामा उल्लेख छ । वीरगन्ज महानगरपालिकाअन्तर्गतको नारायणी रंगशाला, निर्माणाधीन नारायणी बहुउद्देश्यीय कभर्ड हल, आदर्शनगर रंगशाला र बढनियार मैदानका लागि बजेट विनियोजन भएको छ । 

नारायणी रंगशाला स्तरोन्नतिका लागि चार करोड, नारायणी बहुउद्देश्यीय कभर्ड हललाई चार करोड छुट्याइएको छ । यस्तै, आदर्शनगर रंगशाला र बढनियार खेलकुद ग्राउन्ड निर्माण गर्न तीन करोड छुट्याइएको छ । जगरनाथपुर गाउँपालिकाको मधुवाहा मेघराज उपाध्याय क्रिकेट मैदान पनि समेटिएको छ । उक्त मैदानका लागि तीन करोड बजेट परेको छ । सोही वडामा रहेको क्रिकेट खेलमैदानमा तीन करोड बजेट परेको छ । 

सुझावित समाचार