नेपालका लागि सांघाई सहयोग संगठनको उपादेयता

नेपालको जलस्रोत, पर्यटन, खनिज तथा प्राकृतिक संसाधनको पूर्ण उपयोग गर्न एससिओे सदस्य राष्ट्रको सहयोग अत्यन्त महत्वपूर्ण हुन सक्छ

सोमबार, १६ भदौ, २०८२
डिजिटल संस्करण

प्रधानमन्त्री केपी ओली यतिखेर सांघाई सहयोग संगठन (एससिओे)को बैठकमा भाग लिने सन्दर्भमा चिनियाँ सहर तियाचिनमा छन्  । सांघाई सहयोग संगठन (एससिओ) राजनीतिक, आर्थिक र सैनिक मामिलासम्बन्धी क्षेत्रीय संगठन सांघाई को–अपरेसन अर्गनाइजेसन एससिओेको क्षेत्रीय स्थिरतालाई प्रवद्र्धन गर्ने उद्देश्यले सन् २००१ मा स्थापना भएको थियो । यस संगठनमा चीन र भारतसहित १० देश सदस्य छन् ।

नेपाल यस संगठनको ‘डायलग पार्टनर’ अर्थात् संवाद साझेदार सदस्य राष्ट्र हो । सन् २०१६ मा एससिओको ‘डायलग पार्टनर’ बनेको नेपालले हालसम्म पूर्ण सदस्यता प्राप्त गर्न सकेको छैन । सांघाई सहयोग संगठनको सदस्य हुनका लागि ‘डायलग पार्टनर’बाट पर्यवेक्षकको हैसियतमा उक्लिएपछि मात्रै सदस्यताका लागि बाटो खुल्ने प्रावधान रहेको छ ।

स्थापनाकालमा ‘सांघाई फाइभ’ नामले चिनिने यो संगठनको प्रमुख उद्देश्य आतंकवाद नियन्त्रण थियो । तर, बदलिँदो अन्तर्राष्ट्रिय राजनीतिक परिस्थिति र आवश्यकताअनुसार एससिओेले आर्थिक, सुरक्षा, स्वास्थ्य, पर्यटनसहित धेरै विषयमा सहकार्य गर्दै आएको छ । चीनको राजधानी बेइजिङमा प्रधान कार्यालय रहेको एससिओ संसारकै सबैभन्दा ठुलो क्षेत्रीय संगठन मानिन्छ । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्का दुई स्थायी सदस्य तथा परमाणु शक्ति राष्ट्रहरू चीन, रुसका साथमा भारत र पाकिस्तानले पनि यसै संगठनमा रहेर कतिपय मतभेदबिच सहकार्य गर्दै आइरहेका छन् । यस संगठनमा आबद्ध सदस्य राष्ट्रहरूको बैठक हरेक वर्ष आयोजना गरिन्छ । यसको अध्यक्षता सदस्य राष्ट्रहरूले हरेक वर्ष पालैपालो गर्छन् । बैठकमा सदस्य राष्ट्रहरूले बहुपक्षीय मुद्दा तथा अन्तर्राष्ट्रिय स्थितिमाथि छलफल गर्छन् ।

एससिओको उद्देश्य :  एससिओ स्थापनाकालको मुख्य उद्देश्य आतंकवाद, पृथक्तावाद र अतिवादविरुद्ध लड्नु थियो । उल्लिखित उद्देश्यका अतिरिक्त अन्य अन्तर्राष्ट्रिय महत्वका विषयमा समेत एससिओमा आबद्ध राष्ट्रहरूले छलफल गर्ने गर्दछन् । जसका कारण यस संगठनले सदस्य राष्ट्रहरूबिच मित्रता विस्तार तथा व्यापार र सुरक्षाजस्ता क्षेत्रमा सहकार्यलाई प्रोत्साहन गर्ने लक्ष्य बनाएका छन् । विश्वको दोस्रो ठुलो अर्थतन्त्र चीन, रुस र पाचौँ ठुलो अर्थतन्त्र भारतलगायत पछिल्लो समय तीव्र रूपमा आर्थिक समृद्धि हासिल गरेका मध्य–एसियाली देश यस संगठनका सदस्य छन् । चीन र रुसजस्ता राष्ट्रको प्रभाव रहेका कारणले पनि पश्चिमा देशहरू एससिओेप्रति बढी सशंकित देखिन्छन् । 

एससिओका माध्यमबाट नेपालले आफ्नो विकास र समृद्धिका लागि यस संगठनमा आबद्ध दुई निकट छिमेकी देश चीन र भारत तथा विशाल रुसलगायत मित्रराष्ट्रहरूसँगको मित्रता र विश्वासलाई थप बलियो बनाई उनीहरूलाई नेपालको विकासमा सरिक गराउन सक्छ 
 

नेपालका लागि एससिओको महत्व : विकास र समृद्धिको तीव्र चाहनाबिच अगाडि बढिरहेको नेपालजस्तो देशका लागि अन्तर्राष्ट्रिय सम्बन्ध भाइचारा र सहयोग अति महत्वपूर्ण रहँदै आएको छ । यसका लागि नेपालले अन्तर्राष्ट्रिय दातृ निकाय र मित्रराष्ट्रहरूको सहयोग लिँदै आएको छ । एससिओेका माध्यमबाट नेपालले आफ्नो विकास र समृद्धिका लागि यस संगठनमा आबद्ध दुई निकट छिमेकी देश चीन र भारत तथा विशाल रुसलगायत मित्रराष्ट्रहरूसँगको मित्रता र विश्वासलाई थप बलियो बनाई उनीहरूलाई नेपालको विकासमा सरिक गराउन सक्छ । नेपालको महत्वपूर्ण जलस्रोत, पर्यटन, खनिज तथा प्राकृतिक संसाधनको पूर्ण उपयोग गर्न एससिओेको सहयोग अत्यन्त महत्वपूर्ण हुन सक्दछ ।

२२ मार्च, २०१६ मा औपचारिक हस्ताक्षर गरी नेपाल एससिओको डायलग पार्टनर भएको हो । तत्कालीन परराष्ट्रसचिव शंकरदास वैरागीले एससिओे मुख्यालय बेइजिङमा हस्ताक्षर गरेका थिए । सो हस्ताक्षरमा एससिओेमा नेपालको सहभागिता व्यापार, पारवहन र लगानी, ऊर्जा, कृषि, साना तथा मझौला व्यवसाय, सुरक्षासम्बन्धी मुद्दा, कानुनी तथा भन्सार मामिला, यातायात तथा सञ्चार, विज्ञान तथा प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटन, संस्कृति तथा प्रकोपसम्बन्धी क्षेत्रमा रहने उल्लेख छ । जसका कारण नेपालका लागि एससिओ महत्वपूर्ण हुन सक्छ ।

एससिओ नेपालको राष्ट्रिय स्वाधीनता, सुरक्षा, रणनीतिक, आर्थिक तथा भूराजनीतिक हितका लागि समेत महत्वपूर्ण हुन सक्छ । भारत–चीन र भारत–पाकिस्तानबिचको प्रतिद्वन्द्विताका कारण वेलाबखत नेपाललाई असर पर्दै आएको छ । भारत–पाकिस्तानबिचको प्रतिद्वन्द्विताका कारण सार्क कोमामा पुगिसकेको छ । तर, भारत र पाकिस्तानको द्वन्द्वका बाबजुद पनि एससिओेको बैठक भने निरन्तर आयोजना भइरहेको छ । 

सार्कमा एकअर्काको मुखसमेत हेर्न नचाहने भारत र पाकिस्तान एससिओेमा भने सहकार्य गर्दै अघि बढिरहेका छन् । एससिओेको बैठकमा भारत र पाकिस्तान सँगै छलफलमा बस्छन्, तर तिनै राष्ट्रहरू सार्क बैठकमा सँगै बस्न चाहँदैनन् । सार्कमा आफ्नो हैकम देखाउने भारत एससिओमा रुस र चीनजस्ता शक्ति राष्ट्रसामु कमजोर देखिन्छ ।

भारतको भूमिकाले एससिओेको बैठक प्रभावित हुन सक्दैन ऊ नभए पनि एससिओको बैठक हुन्छ । यो यथार्थ बुझेको नेपालले सार्कको अध्यक्ष राष्ट्रको हैसियतले एससिओमार्फत सार्कलाई गतिशील बनाउन भूमिका खेल्न सक्छ । यसैगरी चीनको अन्तर्राष्ट्रिय विकास परियोजना बिआरआईको सदस्य राष्ट्रका हैसियतले यसको नेपालमा प्रभावकारी कार्यान्ययनका लागि भारत र चीनबिच विश्वासको वातावरण बलियो बनाउन एससिओेमार्फत नेपालले प्रभावकारी भूमिका खेल्न सक्छ । यस बैठकमा सहभागी भएर प्रधानमन्त्री ओलीले एससिओे सदस्य राष्ट्रका सरकार प्रमुखसँग औपचारिक तथा अनौपचारिक भेटवार्ता गरी नेपालको अन्तर्राष्ट्रिय सम्बन्धलाई थप बलियो र मजबुत बनाउन महŒवपूर्ण भूमिका खेल्न सक्छन् । 

लिम्पियाधुरा विवाद र एससिओ :  नेपालको अभिन्न भूभाग ‘लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र पुनः एकपटक विवादमा आएको छ । चिनियाँ विदेशमन्त्रीको भारत भ्रमणको अवसरमा नेपाललाई जानकारी नै नदिई भारत र चीनबिच लिपुलेक हुँदै व्यापार गर्ने सम्झौता भएको छ । त्यसो त १४ मे, २०१५ मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले चीन भ्रमण गरेका वेला लिपुलेक नाकाबाट द्विदेशीय व्यापार गर्न चीन र भारतले नेपाललाई जानकारी नै नदिई सहमति गरेका थिए ।

यस सहमतिविरुद्ध तत्कालीन प्रधानमन्त्री सशील कोइराला नेतृत्वको सरकारले दुवै देशलाई कूटनीतिक नोटमार्फत विरोध जनाएको थियो । भारतले नोभेम्बर २०१९ मा नयाँ नक्सा प्रकाशित गरी नेपाली भूभागलाई लिम्पियाधुरासहित पूर्वका कालापानी र लिपुलेक क्षेत्रलाई भारतीय सीमाभित्र राखेपछि नेपालले त्यसको तीव्र विरोध जनायो, तर भारतले त्यसलाई बेवास्ता गरेपछि जेठ २०७७ मा केपी ओली नेतृत्वको सरकारले संसद्बाट सर्वसम्मत रूपमा ‘लिम्पियाधुरा, लिपुलेक र कालापानी भूभाग नेपालमा देखिने गरी नयाँ नक्सा जारी गरेको थियो  । नेपाल र भारतबिचको बिचको सीमा विवादबारे जानकार उत्तरी छिमेकी चीनले २०२३ मा नक्सा जारी गर्दा लिपुलेक, कालापानी र लिम्पियाधुरालाई उक्त नक्सामा भारतपट्टि देखाएको थियो । 

चीनको उक्त कार्यको नेपालले तीव्र विरोध जनायो । तर, नेपालको विरोधका बाबजुद चीन मूकदर्शक भएर बस्यो । नेपालले अभिन्न भूभागको दाबी गर्दै आएको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा विगत ६ दशकदेखि सीमा विवाद कायम छ । यस विषयलाई नेपालले कूटनीतिक माध्यमबाट समाधान गर्न प्रतिबद्धता जनाउँदै आएको छ । प्रधानमन्त्रीको अहिलेको चीन भ्रमणमा नेपालका तर्फबाट औपचारिक रूपमा प्रधानमन्त्री ओलीले यस विषयमा नेपालको अडान चीन–भारत सहमतिप्रति आपत्ति जनाइसकेका छन् । चीन भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपती सी जिनपिङलाई १४ भदौमा भेटी चीन र भारतले नेपाली भूमि लिपुलेक मार्ग हुँदै व्यापार गर्ने सहमति नेपाली राष्ट्रियता र सार्वभौमिकतामाथिको हस्तक्षेप भएको र १८१६ को सुगौली सन्धिअनुसार लिपुलेक कालापानी क्षेत्र नेपालको अखण्ड भूभाग भएकाले चीनले भारतसँग गरेको सहमति सच्याउनुपर्ने स्पष्ट अडान राखेका छन् । अब त्यही अडान आसन्न भारत भ्रमणमा पनि दोहोरिन जरुरी छ ।  

इतिहासको जिम्मेवारी केपी ओलीको काँधमा : पुराना शासकहरूले गरेका आत्मसमर्पण र राष्ट्रघातबाट देश र जनताले भोग्नुपरेको अपमान र पीडाबाट मुक्त गर्ने जिम्मेवारी इतिहासले देशभक्तहरूको काँधमा सुम्पेको हुन्छ । यतिवेला मुलुकलाई दूरदृष्टि, ‘एक्सन ओरियन्टेड’ देशभक्त नेतृत्वको खाँचो छ । संयोगले प्रधानमन्त्री ओलीलाई इतिहासले त्यो जिम्मेवारी सुम्पेको छ । प्रधानमन्त्री ओलीले सी जिनपिङ तथा नरेन्द्र मोदीसँग आँखा जुधाएर नेपालको राष्ट्रिय स्वाधीनताका लागि उनीहरूकै हैसियतमा रहेर कूटनीतिक सुझबुझ र चातुर्य प्रदर्शन गरेर तिनको मिचाहा प्रवृत्तिविरुद्ध आफ्नो कूटनीतिक क्षमता देखाउने अवसर पाएका छन् । 

विगतमा पहिलोपटक प्रधानमन्त्री हुँदा देशभित्र मधेशमा आन्दोलनको आगो बलिरहेको थियो भने अर्कातिर भारतीय नाकाबन्दीका प्रतिकूल समयमा विचलित नभई ओलीले एउटा देशभक्तिपूर्ण अडानसहित राष्ट्रवादी नेताको भूमिका निर्वाह गरेका थिए  । ओलीले कोरोनाले थलिएको र भूकम्पले क्षत्विक्षत बनाएको देशलाई साहसका साथ उठाउने काम गरे ।

भूराजनीतिक दबाबबिच उत्तरी छिमेकी चीनसँग पारवहन सम्झौता गरी, नेपाललाई भूपरिवेष्टित राष्ट्रबाट भूजडित राष्ट्र बनाए । चीनबाट पेट्रोलियम पदार्थ ढुवानीको सुरुवात गरे । चिनियाँ रेल नेपाल ल्याउन डिपिआर बनाउँदै उत्तर जोड्ने विभिन्न करिडोर र सडक निर्माणमा जोड दिए ।

उनले नेपालको नक्सामा कालापानी, लिपुलेक समेटेर ‘चुच्चे नक्सा’ संसद्बाटै सर्वसम्मत रूपमा अनुमोदन गराई संविधान संशोधन गरी त्यसको अंग बनाए । भूगोलको हिसाबले राष्ट्र ठुलो वा सानो हुन सक्छ, तर सार्वभौमिकताको हैसियतमा सबै राष्ट्र समान हुन्छन् भन्ने मानक स्थापित गराए । विगतमा केपी ओलीले राष्ट्रियताका लागि लिएका अडान र गरेका योगदानको नेपाली जनता र इतिहासले उच्च मूल्यांकन गरेको छ । 

नेपाली भूमिमा विदेशी बुट बज्रिरहेको अवस्थामा संयोगले ओली प्रधानमन्त्रीको जिम्मेवारीमा छन् । नेपालको भूगोल र सार्वभौमिकता रक्षा गर्ने जिम्मेवारी इतिहासले पुनः ओलीकै काँधमा सुम्पेको छ । चीनका राष्ट्रपतिसँग प्राधानमन्त्री ओलीले राखेको राष्ट्रिय अडानले यस तथ्यलाई पुष्टि गरेको छ । 
(डा. केसी एमाले केन्द्रीय सदस्य हुन्) 

सुझावित समाचार