उत्तराखण्डको रुद्रप्रयागकाे बाढीपहिरोमा सल्यानका बाबुछोरासहित तीनजना बेपत्ता

आइतबार, १५ भदौ, २०८२
डिजिटल संस्करण

भारतको उत्तराखण्ड रुद्रप्रयाग जिल्लाको पुर्वी बागर छेनागाडमा गत शुक्रबार आएको बाढी पहिरोमा परी सल्यान बनगाड कुपिण्डे नगरपालिकाका बाबुछोरासहित तीनजना बेपत्ता भएका छन् । 

बेपत्ता हुनेमा बनगाड कुपिण्डे नगरपालिका–६ कालागाउँ निवासी वर्ष ४९ का सरद आग्री र उनका २४ वर्षका छोरा दिपक रहेका छन् । यस्तै साेही दिनदेखि वडा नम्बर ५ राउचका ६९ वर्षका भिमबहादुर बुढा पनि बेपत्ता भएका छन् । उनीहरु १६ साउनमा सल्यानबाट भारत गएका थिए । परिवारका अनुसार घरको सबै खेतिपाती लगाएर गएको र दशैँमा आउने गरी गएका थिए । चार दिनसम्म पनि कुनै सम्पर्कमा नआएपछि खोजीका लागि भारत लागेको सरदका भाइ दुर्गा आग्रीले बताए । 

त्यहाँ रहेका नेपालीहरूले उनीहरु बेपत्ता भएको खबर गरेपछि खोजीको लागि आफू पनि त्यहाँ जाँदै गरेको र भोलि दिउँसोसम्म पुग्ने बेपत्ता भिमबहादुर छोरा सुरेश बुढाले बताए ।

१२ भदौको राति भारतको उत्तराखण्ड रुद्रप्रयाग जिल्लाको पुर्वी बांगर छेनागाड अतिवृष्टि भएको थियो । वर्षाका कारण बाढी–पहिरो जाँदा त्यहाँको जनजीवन अस्तव्यस्त बनेको छ । खासगरी रुद्रप्रयाग जिल्लाको पूर्वी बांगर क्षेत्रमा पहिरोका कारण छेनागाडको एउटा गाउँमा ठुलो क्षति भएको छ ।

वर्षासँगै १३ भदौ बिहान पहाडबाट आएको लेदोसहितको बाढीले यहाँका १५ भन्दा धेरै पसल घर बगाएको थियो । यस क्रममा कम्तीमा आठजना बेपत्ता भएका थिए, जसमा चारजना नेपाली र एक वनकर्मी रहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

सुझावित समाचार