पूर्व–पश्चिम राजमार्ग विस्तार १८ महिनामा २५ प्रतिशत

बुधबार, ११ भदौ, २०८२
डिजिटल संस्करण

बंगलादेशको ढाका हुँदै नेपालको पूर्वी नाका काँकडभिट्टादेखि पूर्व–पश्चिम राजमार्ग जोड्ने एसियन राजमार्गअन्तर्गत काँकडभिट्टा–लौकही सडक विस्तार कार्य १८ महिनामा २५ प्रतिशत काम भएको छ । एसियाली विकास बैंकको तीन सय मिलियन डलर ऋण सहायता र नेपालको लगानीमा चार लेनमा विस्तार हुँदै गरेकोे काँकडभिट्टा–लौकही सडकलाई दुई खण्डमा विभाजन गरिएको छ ।

दुई लेनको पूर्व–पश्चिम राजमार्गलाई चार लेनमा विस्तार गर्ने गरी भइरहेको दुवै खण्डको काम २५ प्रतिशत पूरा भएको काँकडभिट्टा–लौकही सडकको पूर्वी र पश्चिम खण्डले जनाएको छ । काँकडभिट्टादेखि लौकहीसम्मको एक सय २० किलोमिटर सडक ठेक्कामा लगाउने योजना भए पनि सुनसरीको लबिपुरसम्मको ९५ किलोमिटर २ कात्तिक ०८० मा ठेक्का सम्झौता भएको थियो ।

सम्झौताअनुसार १९ माघ ०८३ निर्माण सम्पन्न गर्नुपर्नेछ । पूर्वी खण्डअन्तर्गत काँकडभिट्टादेखि झापाकै कमल गाउँपालिकास्थित केर्खासम्मको ४५ किलोमिटर रहेको छ । विगतमा रहेको दुई लेन सडकलाई चार लेनमा विस्तार गर्न दश अर्ब ६ करोडमा एभरासकोन–कालिका जेभीले ठेक्का लिएको छ । निर्माण सुरु भएको १८ महिनामा २५ प्रतिशत काम सकिएको काँकडभिट्टा–लौकही सडक योजना कार्यालय (पूर्वीखण्ड)का प्रमुख सुनीलबाबु पन्तले जानकारी दिए । 

यद्यपि, पूर्वी खण्डमा पर्ने कन्काई, निन्दा र बिरिङ नदीको पुल भने छुट्टै ठेक्का लागेर काम भइरहेको उनले बताए । यी तीन पुल निर्माणका लागि कोभेक–सिआरइजिसी–टुन्डी जेभीले पाँच अर्ब ९७ करोडमा ठेक्का लिएको छन् । पुल निर्माणको काम पनि २५ प्रतिशत नै भएको उनले बताए । यो खण्डमा जनावरलाई सडक पार गर्न अन्डर पास पनि निर्माण गरिने उनले बताए । झापाको चारालीस्थित हात्ती वारपार गर्ने जंगलमा १५ मिटर लम्बाइको ६ दशमलव ५ मिटर उचाइ भएको पुल निर्माण गरिँदै छ ।

यस्तै, केर्खादेखि पश्चिम सुनसरीको लबिपुरसम्मको ५० दशमलव ७६ प्रतिशत सडक विस्तारको काम पनि २५ प्रतिशत हाराहारी सम्पन्न भएको काँकडभिट्टा–लौकही सडक योजना (पश्चिम खण्ड)का प्रमुख जगत प्रजापतिले बताए ।

केर्खादेखि पश्चिम मोरङको गोठगाउँसम्मको ४० किलोमिटर सडक सिआरएफजी–टुन्डी जेभीले नौ अर्ब १३ करोडमा ठेक्का लिएको छ । गोठगाउँदेखि लबिपुरसम्मको १० दशमलव ७६ किलोमिटर कोभेक–सिआरइजिसी–टुन्डी जेभीले चार अर्ब सात करोडमा निर्माणका लागि ठेक्का लिएको उनले बताए । यस्तै, नेपाल विद्युत् प्राधिकरणले सडकमा पर्ने बिजुलीका पोलहरू समयमा नहटाउँदा काम अघि बढाउन केही समय समस्या भएको पश्चिम खण्ड प्रमुख प्रजापतिले बताए । यस्तै, पश्चिम खण्डमा पर्ने ठुलाका तीन पुल निर्माणको काम भने २९ प्रतिशत सकिएको उनले बताए । 

सुझावित समाचार