काभ्रेको बनेपा नगरपालिका–४, थापागाउँमा रहेको सगरमाथा ग्यास उद्योग प्रालिले उत्पादन गरिरहेको सगर ब्रान्डका मिति सकिएका तीन हजार ३० थान सिलिन्डर नष्ट गरिएको छ।
मिति गुज्रिएका र हाइड्रोलिक टेस्ट फेल भएका सिलिन्डर उपभोगका दृष्टिले जोखिमयुक्त हुने भएकाले उद्योगपरिसरमा सरोकारवाला पक्षको रोहबरमा नष्ट गरेको सञ्चालक सावरमल अग्रवालले जानकारी दिए।
‘आयल निगमको निर्देशन र गुणस्तर तथा नापतौल विभागको मापदण्डलाई पालना गर्दै हाइड्रोलिक परीक्षणमा फेल भएका सिलिन्डर नष्ट गरेका छौँ,’ अग्रवालले भने, ‘पुरानो सिलिन्डर नष्ट गर्नुको उद्देश्य ग्राहकलाई गुणस्तरीय सिलिन्डर उपलब्ध गराउनु हो।’
दैनिक सात हजार पाँच सय सिलिन्डर रिफिल गर्दै (भर्दै) आइरहेको सगरमाथा ग्यास उद्योगको बजारमा साढे ४ लाख सिलिन्डर प्रयोगमा छन्। प्रत्येक पटक सिलिन्डरमा ग्यास भर्दा हाइड्रोलिक टेस्ट गरेर जोखिमरहित पुष्टि भएको अवस्थामा मात्रै बजारमा पठाउने गरेको अग्रवालले जानकारी दिए।
उनले वार्षिक रूपमा ५ सय सिलिन्डर नष्ट गर्दै आएपछि यसपटक बाढी पहिरोले सिलिन्डरमा धेरै क्षति भएकाले तुलनात्मक रूपमा बढी सिलिन्डर नष्ट गर्नुपरेको जानकारी दिए।