ट्रम्पसँग पुटिन र जेलेन्स्कीको भेटका प्रभाव

आइतबार, ८ भदौ, २०८२
डिजिटल संस्करण
  • ट्रम्प र पुटिनबिचको अलास्का बैठक युक्रेन र यसका सहयोगीलाई भन्दा पुटिन र रुसका लागि उपयोगी साबित भयो

युक्रेन युद्ध चौथो वर्षमा पनि जारी छ । नागरिक पूर्वाधारविरुद्धका अपराध र हमला बढ्दो रूपमा सामान्य बन्दै छन् । युक्रेन सन् २०२२ देखि नै सबैभन्दा जोखिममा परेको देश हो । विभिन्न पक्षबाट विश्वनेतालाई द्वन्द्व अन्त्य गर्न बारम्बार आह्वान भएका छन् । द्वन्द्व समाप्त गर्ने पहलको एक अंशमा पछिल्लोपटक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धरत देशका नेतासँग भेटवार्ता गरेका छन् । सतही रूपमा युक्रेनी र रुसी दुवै नेतासँग ट्रम्पको भेटले सन्तुलित दृष्टिकोणलाई संकेत गर्छ । यद्यपि, ट्रम्पको सक्रियताले मुख्यतया रुसलाई फाइदा पुर्याएको छ ।

अलास्का भेटघाट : अलास्कामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटपछि ट्रम्पले घोषणा गरे– उनीहरूबिचको संवाद ‘धेरै उपयोगी’ सिद्ध भएको छ । एकदेखि १० को अंकमा बैठकलाई कसरी मूल्यांकन गर्नुहुन्छ भनेर सोधिएको प्रश्नको जवाफमा दुवैले बैठक सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको भन्दै ‘दशमा दश दिन सकिने’ दाबी गरे । तर, बैठक आधारभूत आवश्यकता सम्बोधनमा असफल भयो । सो बैठक युक्रेन र यसका सहयोगीलाई भन्दा पुटिन र रुसका लागि उपयोगी थियो । शिखर सम्मेलनमा युक्रेनलाई समावेश नगराएर पुटिन युक्रेनका प्रमुख समर्थकमाझ तनाव र सम्भावित विभाजन ल्याउन सफल भए । यसले युक्रेनमा ठुलो त्रास निम्त्यायो, जहाँ ट्रम्पले युक्रेनी सहमतिविना सम्झौता गर्नेछन् भन्ने चिन्ता थियो । ट्रम्पले दोस्रोपटक सत्ता सम्हाल्नुअघि युक्रेनले नेटो र युरोपेली संघबिचको ठुलो संयुक्त मोर्चाबाट लाभ उठाएको थियो । यसमा पछिल्ला महिनामा दरार आएको छ र अलास्का भेटघाटले रुसको फाइदाका लागि यो दरारलाई झनै गहिरो बनायो ।

ओइलायो युद्धविरामको माग : ट्रम्पले युद्धविरामका लागि हालै गरेको आह्वान त्यागेपछि पुटिन र उनका वार्ताकारले शिखर सम्मेलनमा ट्रम्पबाट ठुलो छुट प्राप्त गरे । युक्रेन र यसका सहयोगीका लागि २०२५ मा कुनै वार्ताका लागि युद्धविराम गर्नु आधारभूत आवश्यकता थियो । रुसले युक्रेनी सहर र नागरिकमाथि आक्रमण बढाएपछि यो पूर्वसर्त अझ महत्वपूर्ण भएको छ । अलास्का बैठकको प्रकृतिले नै अन्तर्राष्ट्रिय रायमा रुसलाई वैध बनाउन मद्दत गर्यो । सन् २०२२ मा युक्रेनमा आक्रमण भएदेखि रुसले अन्तर्राष्ट्रिय राय प्राप्त गरेको छ । युरोप र उत्तरी अमेरिकाका धेरैजसो मानिसले महसुस गरेभन्दा यो बढी सफल भएको छ, किनकि एसिया, अफ्रिका र ल्याटिन अमेरिकाका महत्वपूर्ण भाग युक्रेनविरुद्धको युद्धमा द्विविधामा छन्, कतिपयले रुसलाई समर्थन गर्छन् । जे होस्, धेरै अन्तर्राष्ट्रिय संस्था विशेषगरी संयुक्त राष्ट्र संघ र अन्तर्राष्ट्रिय न्यायालय (आइसिजे)को निन्दाले रुसलाई संयमित बनाएको थियो । तर, आइसिजेको यात्रा प्रतिबन्धबिच पुटिनलाई ट्रम्पले अमेरिकी भूमिमा स्वागत गर्नुले सो संस्थाको अवमूल्यन गर्यो ।

वासिंटनमा जेलेन्स्कीको भ्रमण : अलास्कामा ट्रम्पबाट पुटिनले प्राप्त गरेको फाइदाले युक्रेनलाई तुरुन्तै प्रतिक्रिया दिनुपर्ने अवस्थामा पुर्यायो । अलास्का सम्मेलनपछि राष्ट्रपति  भ्लोदिमिर जेलेन्स्कीले ट्रम्पसँग ह्वाइट हाउसमा भेटघाट गरे । तर, उनी त्यहाँ एक्लै पुगेनन् । बरु युक्रेनप्रति ऐक्यबद्धता जनाउने युरोपेली नेताहरू पनि उनका साथमा थिए । अमेरिकी विदेशमन्त्री मार्को रुबियोका अनुसार युरोपेली नेताहरू ट्रम्पले जेलेन्स्कीलाई दिन सक्ने धम्की रोक्न मात्र उपस्थित थिएनन् ।

युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनदेखि फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँसम्मका धेरै युरोपेली नेताले जेलेन्स्कीलाई साथ दिए । बैठकअघिको ट्रम्पको सामाजिक सञ्जाल पोस्टले नि:सन्देह उनीहरूको चिन्ता बढायो । पोस्टमा, ट्रम्पले जेलेन्स्कीसँग युक्रेनले क्रिमियाको क्षति स्वीकार गर्नुपर्ने र कहिल्यै पनि नाटोमा सामेल नहुने सर्त राखेका थिए ।

सावधानीपूर्ण ढंगले व्यवस्थापन : युक्रेनी अधिकारीले ट्रम्पसँग जेलेन्स्कीको ‘वान टु वान’ ओभल अफिस बैठकलाई सावधानीपूर्वक व्यवस्थित गर्न खोजे । औपचारिकता जनाउन जेलेन्स्की सुटमा सजिए र युक्रेनी प्रथम महिलाको तर्फबाट पठाइएको पत्र मेलानिया ट्रम्पलाई हस्तान्तरण गरे । यी र अन्य प्रयास ट्रम्पको अहंकारलाई प्रहार गर्ने उद्देश्यका लागि थिए । एक पत्रकारसँगको कुराकानीमा जेलेन्स्की सुटमा ‘सानदार देखिएको’ ट्रम्पले स्विकारेका थिए । तिनै पत्रकारले फेब्रुअरीमा सम्पन्न ‘दुर्भाग्यपूर्ण’ ह्वाइट हाउस भ्रमणमा जेलेन्स्कीले सुट नलगाएको भन्दै आलोचना गरेका थिए ।

विशेषगरी, ट्रम्पले बैठकमा युक्रेनमा शान्ति कायम राख्न मद्दत गर्ने अमेरिकी सेनाको भूमिकालाई अस्वीकार गरेनन् । अन्तिम शान्ति कायम राख्न युक्रेनमा अमेरिकी उपस्थिति यसको सफलताका लागि आवश्यक रहेको पर्यवेक्षकले विश्वास गर्छन् । आफू पुटिन र जेलेन्स्कीसँग त्रिपक्षीय बैठकको व्यवस्था गर्न काम गरिरहेको ट्रम्पले बताए । 

युक्रेन समर्थकमा आशा : युक्रेनमा प्रत्यक्ष अमेरिकी संलग्नताले उनको राजनीतिक समर्थनलाई कमजोर बनाउनेछ । निर्वाचनताका ट्रम्पको प्रमुख प्रतिबद्धतामध्ये एक अमेरिकालाई ‘अनन्त विदेशी युद्ध’मा संलग्न नगर्ने थियो । युक्रेनमा अमेरिकी सैनिक तैनाथ गर्ने ट्रम्पको कदम राजनीतिक रूपमा कमजोर हुनेछ । जेलेन्स्की र युरोपेली नेतासँग ट्रम्पको सौहार्दपूर्ण भेटघाटले आगामी दिनमा युक्रेनका समर्थकमा आशा जगाउन सक्छ । तर, पुटिनसँग ट्रम्पको भेटघाटले गरेको क्षतिले कुनै पनि आशावादलाई कम गर्नुपर्छ । ट्रम्पले पुटिनलाई फोन गर्न वासिंटनमा बैठक अवरुद्ध गरेको बताइएको छ । जेलेन्स्की र युरोपेली नेतासँगको बैठकमा दृढ प्रतिबद्धता जनाउन ट्रम्पको अनिच्छुकताको अर्थ यो हो कि यस बिन्दुमा रुसले युक्रेनको हानि र दिगो शान्तिको सम्भावनालाई असर पुर्याउन र आफ्नो हितलाई अगाडि बढाउन सफल भएको छ ।

(हर्नकासल क्यानडाको साइमन फ्रेजर विश्वविद्यालयका सहायक प्राध्यापक हुन्) 
द कन्भर्सेसनबाट

 

सुझावित समाचार