कुवेतमा विषाक्त मदिरा सेवनका कारण मृत्यु भएका नेपालीको शव ल्याउने प्रक्रिया थालिएको छ । २७ साउनमा मदिरा सेवनका कारण बिरामी परेकामध्ये अहिलेसम्म १२ नेपाली कामदारको मृत्यु भएको छ । मृतक तथा घाइतेको विवरण भने सार्वजनिक गरिएको छैन ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले अर्को सातासम्म मृतक सबैको शव ल्याउने गरी नेपाली राजदूतावास कुवेतले काम गरिरहेको बताए । ‘६ जनाको शव ल्याउने प्रक्रिया थालिएको जानकारी छ । अर्को सातासम्म १२ जनाको शव ल्याउने गरी नेपाली राजदूतावास कुवेतले काम गरिरहेको छ,’ प्रवक्ता पौडेल क्षेत्रीले नयाँ पत्रिकासँग भने ।
प्रवक्ता पौडेल क्षेत्रीका अनुसार मदिरा सेवनपछि जम्मा ५६ जना नेपाली विभिन्न अस्पताल भर्ना भएकोमा १२ जनाको मृत्यु भएको पुष्टि भएको छ । उनका अनुसार अस्पतालमा १० जना उपचाररत छन् । ‘तीनजनाको अवस्था गम्भीर छ भन्ने जानकारी आएको छ । बाँकीको डिस्चार्ज भइसकेको अवस्था छ,’ उनले भने ।
कुवेतको स्वास्थ्य मन्त्रालयले मदिरा सेवनबाट एसियाली मूलका कम्तीमा २३ जनाको मृत्यु भएको र १६० जना अस्पतालमा भर्ना भएको सार्वजनिक गरेको थियो । बाँकी अन्य मुलुकका छन् । अति प्रज्वलनशील मेथानोल मिसिएको मदिरा सेवनबाट नेपालीको मृत्यु भएको कुवेतका अधिकारीले नेपाली राजदूतावासलाई जानकारी दिएका थिए । कुवेतमा नेपालीको संख्या एक लाख ६० हजारभन्दा बढी छ । कुवेत सरकार र नेपाली दूतावासले मदिरा सेवन नगर्न आग्रह गर्दै आएका छन् ।